काठमाडौं- नेपालका स्वास्थ्यकर्मीहरुमा फर्माकोभिजिलेन्स सम्बन्धी तालिमले उनीहरुको ज्ञान, अवधारणा र व्यवहारमा उल्लेख्य सुधार आएको एक अध्ययनले देखाएको छ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषदले नेपालका स्वास्थ्यकर्मीहरुबीच फर्माकोभिजिलेन्स अर्थात औषधि सतर्कता र औषधिहरुको प्रतिकुल असर (एडिआर)का विषयमा उनीहरुको ज्ञान, अवधारणा र व्यवहार तथा अभ्यासमा शैक्षिक तालिमको प्रभावकारिताका विषयमा अध्ययन गरेको थियो। सोही अध्ययनले उक्त नतिजा देखाएको हो।
सन् २०२१ मा गरिएको राष्ट्रिय अध्ययनले स्वास्थ्यकर्मीलाई औषधिको प्रतिअसरबारे कम जानकारी भएको र तालिम तथा मुल्यांकनको आवश्यकता रहेको देखाएको थियो। त्यसपछि परिषदले स्वास्थ्यकर्मीहरुमा फर्माकोभिजिलेन्स सम्बन्धी शैक्षिक तालिम दिएको थियो। उक्त तालिम सकिएपछि परिषदले शैक्षिक तालिमको प्रभावकारिताका विषयमा अध्ययन गरेको हो।
परिषद्ले 'फर्माकोभिजिलेन्स' कार्यक्रम लागु भएका र नभएका २३ वटा स्वास्थ्य संस्थाका १६ सय २५ जना स्वास्थ्यकर्मीहरुमा गरेको अध्ययनले तालिमपछि ज्ञान, अवधारणा र व्यवहार तथा अभ्यासमा सुधार आएको देखाएको हो। तालिम र अध्ययनमा अनुसन्धानमा नर्स, डाक्टर, फर्मासिस्ट र स्वास्थ्य सहायकहरु सहभागि थिए। अध्ययनका लागि परिषदले २०८८ नमुनाहरु चयन गरेको थियो। तीमध्ये १६२५ जनाबाट अध्ययनका क्रममा प्रतिक्रियाहरू आएका थिए।
'शैक्षिक तालिमपछि सहभागीहरूको ज्ञानमा सुधार आयो। शैक्षिक तालिम अघि स्वास्थ्यकर्मीहरुको औसत ज्ञान स्कोर ६.५३ थियो। तालिमपछि उक्त स्कोर बढेर ७.४३ मा पुगेको थियो,' अध्ययन प्रतिवेदनमा भनिएको छ, 'त्यसैगरी, शैक्षिक तालिमपछि फर्माकोभिजिलेन्स सम्बन्धी अवधारणामा पनि उल्लेख्य सुधार आएको छ। यो दर ६६.६५ प्रतिशतबाट बढेर ९९.२४ पुगेको थियो।'
अध्ययनका लागि लिइएको छनोटमा परेका अधिकांश सहभागीहरू अर्थात ८२.३ प्रतिशत २१ देखि ४० वर्षको बीचका थिए। जसमध्ये ७२.४ प्रतिशत महिला थिए। लगभग ३८ प्रतिशत सहभागीहरूले आफ्नो स्नातक तहको शिक्षा पूरा गरेका थिए भने १.२ प्रतिशतले मात्रले स्नाकोत्तर भन्दा माथि आफ्नो शिक्षा पूरा गरेका थिए। शैक्षिक सत्रमा भाग लिने सहभागीहरूमध्ये ५० प्रतिशत भन्दा बढी नर्सहरू थिए भने २०.२ प्रतिशत डाक्टरहरू, १३.३ प्रतिशत फार्मासिस्टहरू तथा ३.३ प्रतिशत स्वास्थ्य सहायकहरू थिए। काम गर्ने संस्थाहरूको सन्दर्भमा, अधिकांश सहभागीहरू ७९.५ प्रतिशत क्षेत्रीय फर्माकोभिजिलेन्स केन्द्रहरूमा काम गरिरहेका र २०.५ प्रतिशत मात्र गैर फर्माकोभिजिलेन्स केन्द्रहरूमा काम गरेका थिए।
फार्माको सतर्कता सम्बन्धी तालिमपछि ८९ प्रतिशत स्वास्थ्यकर्मीहरुमा फर्माकोभिजिलेन्स तथा 'एडभर्स ड्रग रियाक्सन' औषधीको प्रतिकुल असरबारेको रिपोर्टिङको प्राथमिक उद्देश्य बारे ज्ञान भएको पाइएको थियो। त्यसैगरी लगभग ८० प्रतिशत सहभागीहरूले 'डाक्टर, नर्स र फार्मासिस्टको रूपमा क्षेत्रीय पिभी केन्द्रमा 'एडभर्स ड्रग रियाक्सन'को रिपोर्ट गर्न जिम्मेवार स्वास्थ्यकर्मीले प्रश्नको सही जवाफ दिएका थिए। त्यस्तै भन्दा बढी सहभागीहरूलाई रिपोर्ट गरिनु पर्ने एडभर्स ड्रग रियाक्सनको प्रकारहरू थाहा थियो। त्यसैगरी ९० प्रतिशत भन्दा बढी उत्तरदाताहरूले नेपालमा एडीआर अनुगमनका लागि जिम्मेवार नियामक निकायबारे जानकार थिए।
अधिकांश स्वास्थयकर्मीहरु अर्थात ९४.२७ प्रतिशतले ५० प्रतिशत ज्ञानगत प्रश्नहरूको सही जवाफ दिएको पाइयो। त्यसैगरी लगभग सबै ९९.२४ प्रतिशत ज्ञानगत प्रशनहरुमा अंक ल्याइका थिए। २० भन्दा बढि सहभागीहरुको पिभिप्रतिको अवधारणा पनि राम्रो देखिएको थियो।
'यस अध्ययनले तालिम पश्चात ज्ञान, अवधारणा र व्यवहारको स्कोरमा सुधार भएको देखाएको छ। तालिम पश्चात प्रभावकारी रूपमा स्वास्थ्यकर्मीहरुको ज्ञान र दृष्टिकोण बढाउन सक्छ तथा सम्भावित रूपमा एडभान्स ड्रग रियाक्सनबारे रिपोर्टिङका अभ्यासहरू सुधार गर्न सक्छ भन्ने देखाएको छ,' प्रतिवेदनमा भनिएको छ, 'नेपालको फर्माकोभिजिलेन्स प्रणालीमा सुधार गर्न व्यापक प्रशिक्षण कार्यक्रमहरू, स्नातक पाठ्यक्रममा पिभिबारे कोर्ष आवश्यक रहेको स्वास्थ्यकर्मी तथा औषधि कम्पनीहरूका लागि औषधीको प्रतिकुल असरबारे रिपोर्टिङ गर्नु अनिवार्य आवश्यकता रहेको छ।'
यी हुन छनोटमा परेका केन्द्रहरु
यस अनुसन्धानमा फर्माकोभिजिलेन्स प्रणाली लागु नभएका ६ वटा मेडिकल कलेजहरू र ७ वटा केन्द्रीयस्तरका अस्पतालहरु परेका थिए। यस्तै फर्माकोभिजिलेन्स प्रणाली लागु गरिएका १५ अस्पताल मध्ये १२ केन्द्रहरु समावेश गरिएका थिए।
फर्माकोभिजिलेन्स प्रणाली लागु नभएकामा जानकी मेडिकल कलेज, नेपालगन्ज मेडिकल कलेज, नोबेल मेडिकल कलेज, लुम्बिनी मेडिकल कलेज, युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस र गण्डकी मेडिकल कलेज रहेका थिए। त्यसैगरी कोशी अस्पताल, नारायणी अस्पताल, वीर अस्पताल, शहिद धर्मभक्त अंग प्रत्यारोपण केन्द्र, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, भेरी अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेका थिए।
त्यसैगरी नेपालमा रिजनल फर्माकोभिजिलेन्स प्रणाली लागु गरिएका १५ अस्पताल मध्ये त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, निजामती सेवा अस्पताल, मणिपाल शिक्षण अस्पताल, किष्ट मेडिकल कलेज, नेपाल मेडिकल कलेज शिक्षण अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धुलिखेल अस्पताल, नर्भिक अन्तर्राष्ट्रिय अस्पताल, नेपाल क्यान्सर अस्पताल र अनुसन्धान केन्द्र, कलेज अफ मेडिकल साइन्सेज-शिक्षण अस्पताल, चितवन मेडिकल कलेज तथा राष्ट्रिय क्षयरोग केन्द्र रहेका थिए।
फर्माकोभिजिलेन्स कार्यक्रमको तालिम प्रदान गरेपछि अनुसन्धानमा प्रयोग गरिएको विधिमा नेपालमा तालिम दिइएको फार्माकोभिजिलन्स केन्द्रहरूका स्वास्थ्यकर्मीहरु र तालिम नलिएका स्वास्थ्यकर्मीबिच अन्तर्क्रियात्मक अध्ययन समेत गरिएको थियो।
तालिम तथा प्रशिक्षणमा नेपालमा फार्माकोभिजिलन्स र औषधि प्रतिकूल असरबारेको रिपोर्टिङ प्रक्रिया सम्बन्धी तालिम दिएको थियो भने अस्पतालमा काम गर्ने ती स्वास्थ्यकर्मीहरुलाई ६ हप्ता पछि अर्ध-संरचित प्रश्नावली मार्फत गुणात्मक र संख्यात्मक तथ्यांकहरु संकलन गरिएको थियो। उपलब्ध तथ्यांकहरुलाई तथ्याङ्क विश्लेषण गर्ने सफ्टवेयर 'एसपीएसएसको २६ संस्करण'बाट गुणात्मक र संख्यात्मक तथ्यांकहरुलाई वर्णनात्मक र सांख्यिकीय रूपमा विश्लेषण गरिएको थियो।
नेपाल स्वास्थ्य अनुसन्धन परिषद्का सदस्य सचिव डा प्रमोद जोशीले नेपालमा फर्माकोभिजिलेन्सको अभ्यासहरू बढाउन र रणनीतिहरू निर्माण गर्न योगदान पुर्यायउनु, तालिम पूर्व र तालिम पश्चात नेपालमा औषधिको प्रयोगबारे ज्ञान, अवधारणा र व्यवहारमा समेत मूल्यांकन गर्न उक्त अध्ययन गरिएको जानकारी दिए।
'अनुसन्धानका लागि छनौट गरिएका फर्माकोभिजिलेन्स कर्याक्रम लागु भएका र गैर-फार्माकोभिजिलन्स केन्द्रहरूका स्वास्थ्यकर्मीहरूलाई फार्माकोभिजिलन्स सम्बन्धी शैक्षिक तालिम प्रदान गर्ने पनि यस अनुसन्धानको लक्ष्य रहेको थियो,' उनले भने, 'तालिमपछिको अध्ययनले स्वास्थ्यकर्मीहरुमा शैक्षिक तालिम प्रदान गर्नाले फर्माकोभिजिलेन्स तर्फ उनीहरूको ज्ञान र मनोवृत्ति सुधार गर्न मद्दत गर्नुका साथै एडीआर रिपोर्ट गर्ने अभ्यासलाई समेत सुधार गर्न सकिन्छ भन्ने देखिएको छ।'
परिषद्का अनुसन्धान शाखा प्रमुख मेघनाथ धिमालले अध्ययनबाट नेपालमा स्वास्थ्यकर्मीहरूबीच औषधिको असर सम्बन्धी ज्ञान, अवधारणा र व्यवहारमा शिक्षाको प्रभाव, फर्माकोभिजिलेन्सबारेको तालिम तथा केन्द्रको स्थापना शुरु गर्नु अघि र पछिको प्रभावकारिताको मूल्याङ्कन गरेको जागकारी दिए।
फर्माकोभिजिलेन्स के हो?
फर्माकोभिजिलेन्स भन्नाले औषधि सम्बन्धी सतर्कतालाई जनाउँछ। विश्व स्वास्थ्य संगठन अनुसार फर्माकोभिजिलेन्स भन्नाले औषधिहरुको दुष्प्रभाव वा एडभर्ज इफेक्ट, औषधिबाट हुने कुनै पनि किसिमको समस्याहरुको खोज, आँकलन, त्यसबारे जानकारी लिने र असरहरुको रोकथामको बारेमा वर्णन गरिएको विज्ञान र क्रियाकलाप हो। फर्माकोभिजिलेन्सको क्षेत्रमा प्रोडक्ट क्वालिटि अर्थात् औषधिको गुणस्तरीयता, एडभर्ज ड्रग रिएक्सन वा दुष्प्रभाव र औषधि प्रयोग गर्दा हुने त्रटिहरु पर्दछन्।
नेपालमा सन् २००२ मा औषधि व्यवस्था विभागले फर्माकोभिजिलेन्सको लागि पहल गरेको थियो। सन् २००४ को अक्टोबरमा सरकारले औषधि व्यवस्था विभागलाई उपशाला मोनिटरिङ्ग सेन्टरको सम्पर्क अफिसको रुपमा कार्य गर्ने गरी तोके पश्चात नेपालमा फर्माकोभिजिलेन्सको आधिकारिक शुरुवात भएको हो। सन् २००६ को जुलाईमा नेपालले विश्व स्वास्थ्य संगठको उपशाला मोनिटरिङ्ग सेन्टरको पूर्णकालीन सदस्यता प्राप्त गरेको हो।