धनगढी– सुदूरपश्चिम प्रदेशमा मन्त्रालय थप गरिएका छन्। सत्तागठबन्धन दलमा रहेका मन्त्रीहरुलाई जिम्मेवारी दिन प्रदेशका चार वटा मन्त्रालयलाई विभाजन गरिएको हो। यो संगै अब सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयसहित दश वटा मन्त्रालय बनेका छन्।
मुख्यमन्त्री दिर्घबहादुर सोडारीले आइतबार भौतिक पूर्वाधार, सामाजिक विकास र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई फुटाएर मन्त्रालय थप गरेका हुन्।
जेठ २८ गते नियूक्त भएका विना विभागिय मन्त्रीहरुलाई आइतबार विहान मन्त्रालय फुटाएर जिम्मेवारी दिइएको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जनाएको छ। मुख्यमन्त्री दीर्घबहादुर सोडारीले मन्त्रालयको विभाजन गरेर विना विभागीय पाँच जना मन्त्रीलाई जिम्मेवारी दिइएको बताए।
उनका अनुसार भौतिक फुटाएर बनाइएको मन्त्रालयमा नेकपा (माओवादी केन्द्र) का अक्कल रावललाई जनस्रोत तथा सहरी, नागरिक उन्मुक्तिका कैलाश चौधरीलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ।
यस्तै गरेर सामाजिक फुटाएर माओवादीका ओमविक्रम भाट सरललाई स्वास्थ्य महिला तथा बालबालिका र माओवादीकै लक्ष्मी विकलाई शिक्षा, युवा तथा खेलकुद मन्त्री बनाइएको छ।
यस्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय फुटाएर नेकपा (एमाले) का वीरबहादुर थापा पातललाई वन तथा सहकारी र नेकपा (एकीकृत समाजवादी) का माया पन्तलाई उद्योग, वाणिज्य, पर्यटन र संस्कृति मन्त्री बनाइएको छ। एमालेकै हीरा सार्कीलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ।
सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले जेठ २८ गते सात जनालाई मन्त्रीमा नियुक्त गरेका थिए। ती मध्ये यी ५ जनाले जिम्मेवारी पाएका थिएनन्। यसअघि एमालेका सुरेन्द्रबहादुर पाल आर्थिक मामिला र जेठ ६ मा उन्मुक्तिका कैलाश चौधरीलाई भौतिक पूर्वाधार र जेठ १८ टीका थापालाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरिएको थियो।