मेक्सिको सिटी- एचसीपी क्योरब्लाइन्डनेसका नेपाल र भूटानका देश निर्देशक पुनम भण्डारीलाई अन्तर्राष्ट्रिय अन्धोपन रोकथाम एजेन्सी (आईएपीबी) द्वारा प्रतिष्ठित आईएपीबी युवा प्रणाली नेतृत्व पुरस्कारले सम्मानित गरिएको छ। यो पुरस्कार मेक्सिको सिटीमा आयोजित आईएपीबी २०३० इनसाइट लाइभ सम्मेलनमा प्रदान गरिएको हो । यसले विभिन्न पृष्ठभूमिका त्यस्ता युवा नेतृत्वलाई सम्मानित गर्दछ, जसले आँखा स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका छन् र आँखा सुरक्षाका लागि दिगो प्रणाली बनाउन उद्दत छन्।
आईएपीबीले यस पुरस्कारको लागि ९ जनाई चयन गरेको थियो, जसले परम्परागत तरिकाहरू भन्दा माथि उक्लेर स्थायी र प्रभावकारी आँखा हेरचाह प्रणालीहरू निर्माण गर्ने प्रयासमा सक्रिय छन्। भण्डारीको नेतृत्व र समर्पण एचसीपी क्योरब्लाइन्डनेसको दृष्टि रोकथाम गर्ने लक्ष्उमा महत्वपूर्ण रहेको छ, जसले आईएपीबीले प्रवर्द्धन गर्ने नवीन र प्रणालीगत दृष्टिकोणलाई उदाहरणीय बनाएको छ।
आईएपीबीका अध्यक्ष क्यारोलाइन केसिले पुरस्कार प्राप्तकर्ताहरूको प्रशंसा गर्दै भनिन्, 'आँखा स्वास्थ्यको भविष्य यस नयाँ पुस्ताको काँधमा छ। आईएपीबी युवा प्रणाली नेतृत्व पुरस्कारहरूले आँखा स्वास्थ्यको भविष्यलाई परिभाषित गर्ने र धेरैको जीवनलाई राम्रो बनाउने उज्ज्वलता, उत्साह र सहकार्यको भावनाको उत्सव मनाउँछन्।'
आफ्नो वक्तव्यमा भण्डारीले २०३० सम्म अन्धोपनको निवारण गर्ने लक्ष्य हासिल गर्न साझेदारी महत्वपूर्ण रहेकोमा जोड दिइन्। उनले भनिन्, 'साझेदारीहरू मुख्य हुन्, मात्र एकअर्कासँग होइन, सरकार र गैर-स्वास्थ्य क्षेत्रसँग पनि जरुरी छ। आँखा स्वास्थ्य मात्र स्वास्थ्यको मुद्दा होइन, यो शैक्षिक, रोजगारी र जीवनस्तरलाई प्रभाव पार्ने विकासको मुद्दा हो।'