काठमाडौं- ललितपुस्थित स्टार अस्पतालले रक्त संचार सेवा केन्द्र संचालनमा ल्याएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप यादवले ललितपुस्थित स्टार अस्पतालको रक्त संचार सेवा केन्द्र उद्घाटन गरे। अस्पतालले केही समय अगाडि देखि नै रक्त संचार सेवा दिएपनि औपचारिक उद्घाटन भने आज एक समारोहका बीच गरिएको अस्पतालले जनाएको छ।
अस्पतालले केही समय अगाडिदेखि नै रगत संकलन तथा रगत र रगत जन्य तत्वहरु बिरामीहरुको लागि उपलब्ध गराउँदै आएको भएतापनि औपचारिक रुपमा आज उद्घाटन गरिएको हो। दैनिक करिब ३०० युनिट रगत संकलन तथा भन्डारण गर्न सक्ने क्षमताको रक्त संचार केन्द्रमा फ्रेस ब्लड , होल ब्लड , प्याकेट रेड सेल लगायतका रगत र रगतजन्य तत्वहरु उपलब्ध छन्।
२४सै घण्टा खुल्ला रहने केन्द्रले स्वयमसेवी रक्तदाता र विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्था संग सहकार्य गरी रक्त संकलन कार्य गर्दै आईरहेको छ। हाल यस केन्द्रले उपत्यकाका ३४ भन्दा बढी अस्पतालहरुलाई रगत तथा रगतजन्य तत्वहरुको आपुर्ति गर्दै आइरहेको छ।
रक्त संचार सेवा केन्द्रको उद्घाटन कार्यक्रममा स्टार हस्पिटलका कार्यकारी अध्यक्ष श्री किशोर कुमार महर्जन, अस्पतालका संचालक समिति सदस्य, स्थानिय जनप्रतिनिधि, रक्तदान सम्बन्धि कार्य गर्ने विभिन्न संघ संस्थाका प्रतिनिधि, चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको सहभागिता रहेको थियो।