काठमाडौं- प्रतिनिधि सभा सदस्य डा चन्दा कार्कीले नर्सका सेवासुविधा बढाउने भनेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेको वाचा बजेटमा नदेखिएको बताएकी छिन्। संसद्को विशेष समयमै बोल्दै उनले भनिन्, 'नर्सको सेवासुविधामा सुधार्ने भनेर सार्वजनिक रुपमा वाचा त गर्नुभयो प्रधानमन्त्रीले तर बजेटमा भेटिएन।'
उनले नर्सिङको चुनौती समग्र देशकै रहेकोतर्फ ध्यानाकर्षण गराइन् । नर्सिङ क्षेत्र समस्याग्रस्त हुँदा देशको स्वास्थ्य प्रणाली नै समस्यामा पर्नेतर्फ जोड दिइन् । उनले भनिन्, 'स्वास्थ्य सेवाको मेरुदण्ड नर्सिङ हो। नर्सहरुको मुस्कानभित्र दु:ख देखिन्छ। उनीहरुको कार्यस्थल असुरक्षित छ। नर्सिङको चुनौती नर्सको मात्रै होइन, देशको पनि हो।'
नेपालमा अहिले ४० प्रतिशत नर्स बेरोजगार रहेको बताउँदै भएकोहरुको पनि चित्तबुझ्दो पारिश्रमिक नरहेको बताइन्। नेपालमा हाल १५०७ विशेषज्ञ नर्स सहित १ लाख २३ हजार भन्दा बढी रहेको बताइएको छ। तीमध्ये ४० हजार भन्दा बढी विदेशिएका छन्।