काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले नेपालले नसर्ने रोग र मानसिक स्वास्थ्यको जोखिम कम गर्न नेपालले काम गरिरहेको बताएका छन्।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र विश्व बैंक ग्रुपको सहकार्यमा अमेरिकाको वासिङ्टनमा भएको ‘इन्टरनेशनल डाइलग अन सस्टेनेवल फाइनान्सिङ्ग फर एनसीडी एण्ड मेन्टल हेल्थ’ कार्यक्रममा मन्त्री यादवले नागरिकमा आर्थिक भार कम हुने गरी नीतिगत रुपमा सुधार गर्दै नसर्ने रोग र मानसिक स्वास्थ्यका क्षेत्रमा काम गरिरहेको जानकारी दिए।
नेपाल स्वास्थ्य सेवाको पहुँच विस्तार, गुणस्तर र वित्तीय संरक्षणमा सुधार गर्न प्रतिबद्ध रहेको बताउँदै उनले नागरिकको स्वास्थ्यलाई केन्द्रमा राखेर काम भइरहेको जानकारी दिए।
'स्वास्थ्यमा पर्याप्त वित्त व्यवस्था र व्यवस्थापनमा व्यापक सुधार गर्दै नसर्ने रोग तथा मानसिक स्वास्थ्यमा भइरहेको आर्थिक भार कम गर्न लागिरहेको छौं,' मन्त्री यादवले भने, 'वित्त र व्यवस्थापन सुधार मार्फत नागरिकको स्वास्थ्यका लागि न्यासंगत रुपमा गुणस्तरीय स्वास्थ्यमा सर्वव्यापी पहुँचका लागि काम भइरहेको छ।'
कार्यक्रममा मन्त्री यादवले नेपाल सरकार संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यहरूलाई प्राथमिकता दिँदै काम गरिरहेको जानकारी दिए। उनले विशेष गरी विश्वव्यापी स्वास्थ्य कभरेज र रोगहरूमा उच्च वित्तीय भार कम गर्न विशेष स्वास्थ्य वित्तिय रणनीतिहरू र पहलहरू लागू गरेर वित्तीय जोखिम सुरक्षाको लागि प्रतिबद्ध रहेको बताए।
उनले नागरिकको वित्त भार कम गर्न सरकारले विपन्न नागरिक औषधि उपचार कोष, स्वास्थ्य बीमा कार्यक्रम, सामाजिक सुरक्षा, राष्ट्रिय स्वास्थ्य वित्त रणनीति लगायतका कानुनी र नीतिगत सुधारका काम गर्दै गइरहेको पनि जानकारी दिए।
नेपालमा नसर्ने रोगको भार बढ्दै गइरहेको भन्दै मन्त्री यादवले त्यसतर्फ बढी सचेत रहेको जानकारी दिए।
उनले स्वास्थ्य सेवा प्रणालीको सुधार गर्दै नागरिकको स्वास्थ्यलाई समतामूलक र प्रभावकारी रूपमा सुधार गर्दै गइरहेको जानकारी दिए। 'स्वास्थ्य सेवा प्रणालीको आधारभूत लक्ष्य भनेको जनताको स्वास्थ्यलाई समतामूलक र प्रभावकारी रूपमा सुधार गर्नु हो,' उनले भने, 'जनतामा आर्थिक कठिनाइ नआउने गरी आवश्यक परेको बेला नसर्ने रोग र मानसिक स्वास्थ्य सेवालगायत गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र प्रयोग गर्न सक्ने गरी नीतिहरू बनाइनुपर्छ। यसले स्वास्थ्य प्रणाली वित्तिय सुधारको माग गर्दछ। यस तर्फ हामी लागिरहेका छौं।'
कार्यक्रममा मन्त्री यादवले नेपालमा अहिले ७० प्रतिशत भन्दा बढी रोगको भार नसर्ने रोग रहेको र उपचार तथा स्वास्थ्य सेवाका लागि सरकारको भन्दा नागरिकको खल्तीबाट बढी रकम खर्च भइरहेको जानकारी दिए। यस्तो अवस्थामा सुधार गर्नका लागि नै सरकारले स्वास्थ्य वित्त रणनीति र स्वास्थ्य बीमा कार्यक्रम ल्याएको बताए।