काठमाडौं- समाज कल्याण परिषदले नेपाल रेडक्रस सोसाइटीमा भएको भ्रष्टाचारको छानबिन गरिरहेको छ। छानबिन समितिले काम अगाडि बढाइरहेको समयमा रेडक्रसमा फेरि अर्को अनियमितताको खेल सुरु भएको छ।
रेडक्रस तथा रेड्क्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)ले नेपाल रेडक्रसलाई उपलब्ध गराएको दुई वटा किलिया मेसिनलाई थन्काउँदै रेडक्रसले व्यापारिसँगको सेटिङमा त्यस्तै खालको अर्को मेसिन ल्याउने खेल सुरु गरेका हुन्।
आइएफआरसीले रेडक्रसलाई दुई करोड २० लाख रुपैयाँमा खरिद गरेका रगत जाँच गर्ने दुई वटा किलिया मेसिन उपलब्ध गराएको थियो। उक्त मेसिनबाट केही समय रेडक्रसले रगत जाँच गरेको पनि थियो। तर हाल आएर ती दुवै मेसिन रेडक्रसले थन्काएर राखेको छ। रेडक्रसका केही पदाधिकारीले निश्चित व्यापारीसँगको सेटिङमा ती दुई मेसिन थन्काएर फेरि त्यस्तै अर्को मेसिन ल्याउने खेल सुरु गरेका छन्।
रेडक्रसले अर्कै किलिया मेसिन ल्याएर त्यसमा प्रयोग हुने केमिकल तथा रिएजेन्टमा आर्थिक चलखेल गर्ने नियतका साथ हाल भइरहेका दुई वटा मेसिन थन्काएको रेडक्रसको ब्लड बैंकमा कार्यरत कर्मचारी नै बताउँछन्। 'अहिलेको भइरहेको मेसिनलाई थन्काएर अर्को कम्पनीको किलिया मेसिन व्यापारीले नि:शुल्क उपलब्ध गराउने र त्यसको रिएजेन्टबाट रकम कुम्ल्याउने खेल खेलिएको छ,' ती कर्मचारीले स्वास्थ्यखबरसँग भने।
रेडक्रसले दुई वटा मेसिन थन्काएर त्यस्तै खालको अर्को मेसिन र त्यसमा प्रयोग हुने रिएजेन्ट ल्याउने आशयको बोलपत्रको सूचना गत चैत २५ गते निकालेको थियो। उक्त सूचनापछि रेडक्रसभित्रै भएका मेसिन थन्काएर नयाँ ल्याउने खेल सुरु भएको भन्दै विरोध भएको ती कर्मचारीले जानकारी दिए।
किलिया मेसिनको चलखेलका विषयमा जिज्ञासा राख्दा रेडक्रस ब्लड बैंकका टेक्निकल हेड सञ्जिब यादवले उक्त विषयमा निर्देशकसँग जानकारी लिनु पर्ने भन्दै केही बताउन चाहेनन्। 'हामी त काम गर्ने कर्मचारी हौं। यहाँको सबै विषय निर्देशकसँग बुझ्नुहोला।' ब्लड बैंकका निर्देशक पवन कुमार गुप्ता भने सम्पर्कमा नै आउन चाहेनन्।
किलिया मेसिनले रगत जाँच गर्दा प्रभावकारी नितजा आएको भन्दै रेडक्रस ब्लड बैंकलाई त्यही अनुसार गुणस्तरीय काम गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पनि सुझाब दिएको थियो। किलिया प्रविधि अघि किट मार्फत एचआइभी लगायतको जाँच गर्दा नतिजामा समेत फरक परेको पाइएको थियो। ब्लड बैंकमा भएको रगत जाँचको एक प्रतिवेदन अनुसार एक हजार चार सय नमुना जाँच गर्दा किलिया प्रविधिले ३० वटामा एचआइभी संक्रमण भएको नतिजा दिएको थियो। तर किट मार्फत गर्दा ७ वटा मा मात्र संक्रमण देखाएको थियो।
'किटको भन्दा किलिया प्रविधि मार्फत जाँच गर्नु गुणस्तरीय र प्रभावकारी हुने भन्दै सुझाव दिएका थियौं। तर रेडक्रसले किट बिक्री गर्नेहरुसँग समेत कमिसन लिने गरेका कारण किलिया मेसिन थन्काएर किट मार्फत नै जाँच गरिरहेको पाएका छौं,' प्रयोगशाला स्रोतले भन्यो, 'पछिल्लो समय किलिया प्रविधिमा पनि चाइनिज कम्पनीको मेसिन ल्याएर रिएजेन्टमा कमिसन खाने खेल गरिरहेको देखिएको छ।'
छानबिन समितिले काम गर्दै
रेडक्रसमा भएको भ्रष्टाचार छानबिन गर्न गठित समितिले काम गरिरहेको छ। समाज कल्याण परिषद्का बोर्ड सदस्य सञ्जय शाहको नेतृत्वमा गठित पाँच सदस्यीय छानबिन समितिले रेडक्रसमा भइरहेका अनिमितिताका विषयमा छानबिन अगाडि बढाएको हो। गत वैशाख १६ गते गठित समितिलाई ४५ दिनभित्र रेडक्रसमा भएको भ्रष्टाचार सम्बन्धमा छानबिन गरी प्रदिवेदन पेस गर्न समय दिइएको छ। समितिले काम अगाडि बढाइरहेको बताइएको छ।