काठमाडौं- परोपरकार स्त्री रोग तथा प्रसुति अस्पतालले हालै जारी गरेको विज्ञापनमा नर्सहरुले विरोध जनाएका छन्। स्नातकोत्तर योग्यता तोकेर छैटौं तहका लागि विज्ञापन गरिएको भन्दै उनीहरुले आपत्ति जनाएका हुन्।
परोपरकार नर्सिङ क्याम्पस कुपोन्डोलमा अध्यापन गराउन ३ जना स्नातकोत्तर गरेका नर्स मागिएको छ। चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) नर्सिङ क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनकी सचिव सजीना पन्थीले उक्त भ्याकेन्सीमाथि टिप्पणी गरेकी छिन्, 'कस्तो ठट्टा, नर्सिङमा स्नातकोत्तर, अनि छैटौं तह ! यो देशमा योग्यताको महत्व नै छैन। यो नेतृत्वमाथिको ठूलो प्रश्न हो।'
यसैगरी अर्की नर्स रश्मिला थपलियाले नर्सिङ पेशाकै अपमानका रुपमा यसलाई बुझ्नुपर्ने उल्लेख गरेकी छिन्। उनी भन्छिन्, 'योग्यता चाहिँ मास्टर गरेको चाहिने ,पद चाहिँ छैठौं? हेप्ने पनि सिमा हुन्छ नि?'
विद्यावारिधि गरेका नर्सहरुलाई पनि छेटौंबाट सुरु गराउने र कार्यलय सहयोगबाट स्तरवृद्धि गरेर पनि त्यहीँ पुर्यागउने प्रणाली भन्दै सामाजिक सञ्जालमा धेरै नर्सले त्यसमाथि टिप्पणी गरेका छन्।
यही प्रवृत्तिले नेपाली नर्सहरु विदेशिन बाध्य भएको धारणा समेत आइरहेका छन् । नेपाल नर्सिङ संघकी पूर्वउपाध्यक्ष अप्सरा पाण्डेले नेतृत्व संकटका रुपमा यसलाई अर्थ्याएकी छिन्।
स्वास्थ्य सेवामा स्नातक गरेका चिकित्सकहरुको नियुक्ति आठौं तहबाट सुरु हुन्छ। तर, नर्सहरुले स्नातकोत्तर गर्दा पनि छेटौंबाट सुरु हुने प्रवृत्ति रहेकोमा आपत्ति जनाइएको हो।
