काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादव र पतञ्जली आयुर्वेदका आचार्य बालकृष्णबीच छलफल भएको छ।
शनिवार स्वास्थ्य मन्त्रालय पुगेका आचार्य बालकृष्णले नेपालमा आयुर्वेद चिकित्सा र जडीबुटी क्षेत्रमा अनुसन्धान गर्न थप लगानी गर्नुपर्नेमा जोड दिए।
छलफलका क्रममा पतञ्जली ट्रस्टले धुलिखेलमा सञ्चालन गरेको पतञ्जली आयुर्वेद मेडिकल कलेज शिक्षण अस्पतालमा गरेको लगानी र दक्ष चिकित्सक उत्पादनमा गरेको भूमिकाबारेमा समेत चर्चा भयो सो क्रममा आचार्य बालकृष्णले १०० शय्याको आयुर्वेद शिक्षण अस्पताल सञ्चालन अनुमतिको लागि नेपालको प्रचलित कानुनअनुसार अनुगमन गरी छिटो छरितो अनुमति दिन आग्रह गरेका छन्।
साथै, आचार्य बालकृष्णले धुलिखेलमा १५० बेडको आयुर्वेदिक अस्पताल स्थापना गर्ने र नेपाललाई आयुर्वेदिक उपचार पद्धतिको हब बनाउनका निमित्त जडीबुटी तथा वनस्पतिको पहिचान, खोज, अभिलेखीकरण, दस्तावेजीकरण र प्रवर्द्धनका लागि तालिम तथा अनुसन्धान केन्द्र स्थापना गर्ने प्रस्ताव राखे।
मन्त्री यादवले नेपालमा आयुर्वेदिक चिकित्सा र अनुसन्धानको क्षेत्रमा पतञ्जली आयुर्वेदको योगदानलाई उच्च मूल्याङ्कन गर्दै भने, 'नेपालमा प्राचीन चिकित्सा पद्धतिहरूको विकास र प्रवर्द्धन गर्नु हाम्रो प्राथमिकता हो । पतञ्जलि आयुर्वेदले यस क्षेत्रमा गरेको काम प्रेरणादायी छ । हामीले पतञ्जली आयुर्वेदसँग सहकार्य गरेर नेपाललाई आयुर्वेदिक चिकित्सा र अनुसन्धानको केन्द्र बनाउन आवश्यक सम्पूर्ण सहयोग गर्नेछौँ।'
यस पहललाई सफल बनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आवश्यक सम्पूर्ण सहयोग उपलब्ध गराउने मन्त्री यादवले प्रतिबद्धता समेत व्यक्त गरेका छन्।