काठमाडौं- फार्मासिस्टहरुको नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा प्रकाशित भएको छ। नेपाल फार्मेसी काउन्सिलद्वारा प्रकाशित नतिजा अनुसार बी फार्मासिस्टको परीक्षामा जम्मा ११ दशमलब ७५ प्रतिशत मात्र उत्तीर्ण भएका छन्।
फार्मेसी विषयमा ब्याचलर तह उत्तीर्ण रहेका परीक्षार्थी सहभागी परीक्षामा ८८ दशमलव २५ प्रतिशत अनुत्तीर्ण भएका हुन्। काउन्सिलका अनुसार परीक्षामा ८८५ जना सहभागी थिए । जसमध्ये १०४ जना मात्रै उत्तीर्ण भएका छन्।
लाइसेन्स परीक्षामा आवेदन दिनेमध्ये ५८.४३ प्रतिशत भारतीय विश्वविद्यालय अन्तर्गतका कलेजहरुमा अध्ययन गरेर नेपाल फर्केका विद्यार्थीहरु थिए। पाकिस्तानका विश्वविद्यालयमा अध्ययन गरेका ०.३३ प्रतिशत, बंगलादेशका विश्वविद्यालयबाट ०.३३ प्रतिशत, काठमाडौँ विश्वविद्यालयको १.५२ प्रतिशत, पोखरा विश्वविद्यालयका १०.९९ प्रतिशत, पूर्वाञ्चल विश्वविद्यालयको २४.१७ प्रतिशत र त्रिभुवन विश्वविद्यालयको ४.२४ प्रतिशत सहभागी थिए।