बर्दिबास- महोत्तरीको बर्दिबासस्थित शुभस्वस्तिक हस्पिटल भरपर्दो स्वास्थ्य संस्थाका रूपमा विकास हुँदै गएको छ। एउटा सुविधा सम्पन्न अस्पतालमा चाहिने उपकरणदेखि जनशक्तिसम्मको जोहो गरेर शुभस्वस्तिकले आफूलाई भरपर्दो स्वास्थ्य संस्थाका रूपमा उभ्याएको हो।
आजभन्दा १५ वर्षअघि २७ असोज २०६६ मा बर्दिबासको भोलबसन्त चोक नजिक पोलिक्लिनिकका रूपमा स्वास्थ्य सेवा दिन सुरु गरेको शुभस्वस्तिक अहिले १०० शैय्याको सुविधासम्पन्न हस्पिटलमा स्तरोन्नति भएको छ। धेरै वर्ष भाडाको घरबाट सञ्चालन भएको हस्पिटलको अहिले बर्दिबास बजारको पश्चिमी किनार राजमार्ग छेउमै आफ्नै पर्याप्त सेवा-सुविधा भएको भवन छ। हस्पिटलमा दैनिक १०० को हाराहारीमा बिरामी आउने गरेको हस्पिटलले जनाएको छ।
दुर्घटनामा परेर वा अन्य कारणले हाड, जोर्नी वा नशाको समस्या आएमा निदानका लागि बर्दिबास क्षेत्रका बासिन्दाले पहिले सम्झने नाम शुभस्वस्तिक भएको छ। हुन त हाड-जोर्नी मात्र होइन, यो हस्पिटलले स्वास्थ्यसँग सम्बन्धित सबै रोगको उपचार सेवा दिने गरेको छ। तर हातखुट्टा वा शरीरका अन्य अंगका हाड-जोर्नी भाँचिदा, मर्किँदा ‘शुभस्वस्तिक लैजाउँ’ भन्ने गरेको सुनिन्छ। यो हस्पिटल बर्दिबास क्षेत्रको एक मात्र सिटी–स्क्यान सेवा दिने हस्पिटल पनि हो।
हाल हस्पिटलले सातै दिन २४सैं घण्टा आकस्मिक सेवा, ट्रमा सेवा लगायत प्रसूति तथा स्त्री रोग सेवा, बाल रोग तथा नवजात शिशु रोग सेवासमेत दिँदै आएको छ। यसैगरी जनरल तथा इन्टरनल मेडिसिन सेवा, छाती तथा मुटु रोग सेवा, आईसीयू, एनआईसीयू, पीआईसीयू, सेवा, एक्स–रे, यूएसजी, सिटी स्क्यान सेवा, इसीजी, ईईजी, इको सेवा, फिजियोथेरापी सेवा मुख तथा दन्त रोग सेवा आँखा रोग सेवा, नशा तथा मानसिक रोग सेवा शुभस्वत्किका मुख्य सेवा हुन्।
गुणस्तरीय स्वास्थ्य सेवाकै कारण छोटा समयमै पोलिक्लिनिकबाट २६ शैय्या, ५० शैय्या हुँदै १०० शैय्यामा स्तरोन्नति भएको यसका सञ्चालक दीपक कार्की बताउँछन्। बर्दिबासमा विशेषज्ञ चिकित्सकको सेवा दिन शुभस्वस्तिकले नै सुरु गरेको दाबी गर्दै सञ्चालक कार्की भन्छन्, ‘पोलिक्लिनिक छँदै हामीले सातामा एक दिन भए पनि विशेषज्ञ डाक्टर बोलाएर जटिल रोगको पनि आफ्नै ठाउँमा उपचार सेवा दिन सुरु गरेका थियौं।’
बर्दिबासमा विशेषज्ञ डाक्टर बोलाएर शिविर चलाउने आफू नै पहिलो भएको उनको दाबी छ। ‘अहिले त २४सै घण्टा विशेषत्र सेवा दिन हामी सक्षम छौं,’ सञ्चालक कार्की थप्छन्, ‘सेवाको गुणस्तरीयतामा कहिले सम्झौता गरेनौं र गर्दैनौं पनि।’
निजी अस्पताल सञ्चालन गरेको भए पनि समाजप्रतिको उत्तरदायित्व नबिर्सेको बताउँदै सञ्चालक कार्की १०० शैय्याको अस्पताल भए पनि अहिले पनि गाउँ–गाउँ, वस्ती–वस्तीमा निःशुल्क स्वास्थ्य शिविर चलाउने शुभस्वस्तिक हस्पिटल नै भएको उनको दाबी छ। अब सबै चाडपर्व सकिएकाले चाँडै पालैपालो कमसेकम बर्दिबासका सबै वडामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना रहेको उनले बताए।