काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले बजेट अभावमा स्वास्थ्य सेवा प्रभावित हुन नहुने बताएका छन्। राष्ट्रिय ट्रमा सेन्टरको अनुगमनमा पुगेका उनले त्यहाँ आयोजित कार्यक्रममा बजेटको चिन्ता नगरी योजना ल्याउन निर्देशन दिएका छन्।
उनले भने, 'बजेट कहाँबाट आउँछ, मलाई थाहा छ। त्यो मेरो जिम्मा भयो, तपाईंहरु आवश्यकता अनुसार योजना ल्याउनुहोस्।' सेन्टरका मेडिकल सुपरीटेन्डेन्ट डा रुद्र मरासिनीले बजेट अभावमा आइसियु विस्तार गर्न नसकिएको र एमआरआई नभएका कारण ठूलो संख्यामा सेवाग्राहीलाई बाहिर पठाउनुपरेको बताएका थिए। यसैगरी जनशक्ति अभावले अस्पतालले क्षमताअनुसार सेवा दिन नसकिरहेको गुनासो उनले सुनाएका थिए।
ट्रमा सेन्टरले दिइरहेको सेवाको प्रशंसा गर्दै मन्त्री यादवले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग बजेट नभएपनि आफू अर्थ मन्त्रालय पुगेर त्यसका लागि व्यवस्था गर्ने बताए। 'तपाईँहरू निर्धक्क भएर काम गर्नुहोस्, बजेट व्यवस्थापनको जिम्मा मेरो हो। कहाँबाट मागेर ल्याउनु पर्छ म गर्छु तर तपाईँहरूलाई अप्ठ्यारो हुन् दिन्न,' उनले भने। उनले चाँडै नै ट्रमा सेन्टरले एमआरआई पाउने प्रतिबद्धता समेत जनाएका छन्।
बजेट वितरण गर्ने अर्थ मन्त्रालयका कर्मचारीको स्वभावमाथि उनले टिप्पणी गरे। उनको भनाई थियो, 'अर्थ मन्त्रालयका साथीहरु आफ्नो बचत खाताबाट दिन खोजेको जस्तो गर्छन् । उपसचिवले सचिव ठान्छन्, सचिवले झन् अर्थमन्त्री होइन प्रधानमन्त्री नै ठान्छन्।'
उनले सेन्टरले दिइरहेको सेवाको प्रशंसा गरे। आफूले अस्पतालमा उल्लेख्य सुधार भएको पाएको बताए। ओपिडी व्यवस्थापनमा सुधार आएको, भिडभाड कम भएको र रगत सङ्कलन गर्ने ठाउँलाई विस्तार गरिएको पाएको उनले उल्लेख गरे।
राष्ट्रिय ट्रमा सेन्टरलाई देशकै एक महत्त्वपूर्ण अस्पताल रहेको बताउँदै यसका शाखाहरू देशका अन्य स्थानमा पनि स्थापना गर्नुपर्ने बताए। 'देशभरका बिरामीहरूको चाप एक्लै ट्रमा सेन्टरले थेग्न सक्दैन, तपाईँहरूलाई धेरै भार परिरहेको छ। देशका अन्य स्थानमा पनि ट्रमा सेन्टरका शाखाहरू खोल्न जरुरी छ। यसका लागि म पहल गर्नेछु,' उनले भने।
जनशक्ति अभावका कारण अस्पतालमा सेवा प्रवाहमा चुनौतीहरू रहेको आफूले महशुस गरेको उनले उल्लेख गरेका थिए। डा मरासिनीले अस्पतालले आन्तरिक स्रोतबाट धेरै जनशक्ति व्यवस्थापन गर्नुपरेको आफ्नो प्रस्तुतिमा उल्लेख गरेका थिए।