दाङ- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पछिल्लो पटक रेडियोलोजिष्ट थप भएपछि सिटी स्क्यानको रिपोर्ट समयमा नै आउन थालेको छ। हाल दैनिक २० जना बिरामीको सिटी स्क्यान हुँदै आएको छ।
यसअघि जनशक्तिको अभावमा सिटी स्क्यान भएपनि रिपोर्ट आउन ढिला हुने गरेको जन गुनासो आएपछि प्रतिष्ठानले त्यसलाई सुधार गर्दै लगेको छ। प्रतिष्ठानका रजिष्ट्रार प्राध्यापक श्याम लम्सालले सिटी स्क्यान, एमआरआइको रिपोर्ट समयमै आउने गरी जनशक्ती ब्यवस्थापनलाई थप जोड दिइएको बताए।
प्रतिष्ठानमा भिडियो एक्सरे गर्न भिडभाड भएपछि एउटै जनशक्तिले एमआरआई र सिटी स्क्यानको रिपोर्ट दिन ढिलाई हुने गरेकोमा पछिल्लो पटक रेडियोलोजि विभागमा नयाँ रेडियोलोजिष्ट थपिएपछि सेवा अझै ब्यवस्थित बन्दै गएको छ।
प्रतिष्ठानमा औषधि लिन भिड हुँदै आएपछि थप काउन्टर थप्ने तयारी भइरहेको छ भने नाम लेखाउन र विलिङ काउन्टर पनि अतिरीक्त थप्ने कार्यलाई तिव्रता दिइएको छ। प्रतिष्ठानमा सबैभन्दा ठुलो क्षमताको १ सय २८ स्लाइसको सिटी स्क्यान मेसिन रहेको छ।
प्रतिष्ठानका मेडिकल इमेजिङ टेक्नोलोजिष्ट सन्दीप गौतमले हालसम्म ८ हजार जना बढी बिरामीको सिटी स्क्यान गरीएको जानकारी दिए। उनले टाउकोको सिटी स्क्यान गरीएका बिरामीलाई अहिले सम्भव भएसम्म सोही दिन र नभए अर्को दिनसम्म रिपोर्ट दिने ब्यवस्था मिलाईएको जानकारी दिदै अन्य विरामिको हकमा सिटि स्क्यान गरेको चार दिनसम्म रिपोर्ट दिन सकीने बताए।
अझै प्रतिष्ठानमा नयाँ रेडियोलोजिष्ट थपिए सिटी स्क्यान र एमआरआई मेसिनको रिपोर्ट छिटोछरीतोरुपमा निकालेर बिरामिलाई दिन सकीने उनले बताए। प्रतिष्ठानका सूचना अधिकारी निशानदाजु भट्टराइले २०७७ साल पौषदेखि २०८१ बैशाख मसान्तसम्म ८ हजार ४ सय ७६ जना बिरामीले सिटी स्क्यानको सेवा प्राप्त गरेको जानकारी दिए।
त्यस्तै सूचना अधिकारी भट्टराइले दिएका जानकारी अनुसार २०७९ कार्तिक देखि २०८१ बैशाख मसान्तसम्म २ सय ८६ जना बिरामीले एमआरआई सेवा प्राप्त गरेका छन्। प्रतिष्ठानमा एमआरआई र सिटि स्क्यानको सेवाले उपचारमा आउने बिरामीको रोगको डाइग्नोसिस गर्न सहयोग पुर्याएको र साना देखि ठुला अप्रेसन गर्न सहजता थपिएको प्रतिष्ठानका कामु निर्देशक डा रमेश कडेलले बताए।