काठमाडौं- त्रिभूवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)की डिन प्राडा दिव्या सिंह शाहको कार्यकाल सकिन लागेको छ। डिनको कार्यकाल सकिन लागेसँगै नयाँ डिनका लागि आकांक्षीहरु पनि एक पछि अर्को थपिँदै गएको देखिन्छ।
स्वास्थ्यखबरलाई प्राप्त जानकारी अनुसार हालसम्म डिनका लागि इच्छा व्यक्त गर्नेमा ९ जनाको नाम आएको छ। तर ९ जनामध्ये केहीको सेवा अवधि सकिन लागेका कारण छोटो समय भएका कारण उनीहरुलाई डिन बनाउने सम्भावना कम रहेको बताइन्छ।
हालकी डिन डा शाहको चार वर्षे कार्यकाल असार ३ गतेबाट सकिँदै छ। डा शाहको कार्यकाल सकिने दिन नजिकिँदै गए पनि त्रिविले भने हालसम्म पनि नयाँ डिन नियुक्तिका लागि नाम सिफारिस गर्ने समिति (सर्च कमिटी) गठन गर्न सकेको छैन। सर्च कमिटी गठन नभएका कारण डा शाहलाई नै केही समय अर्को व्यवस्था नभएसम्मका लागि भनेर डिनमा नै निरन्तरता दिन लागिएको चर्चा पनि आईओएममा चल्न थालेको छ।
डा शाह आफैं पनि अर्को कार्यकालका लागि डिन दोहोर्यामउन चाहिरहेको उनी निकट एक चिकित्सकले जानकारी दिए। 'उहाँ फेरि पनि डिन हुन चाहिरहनु भएको छ। यसका लागि उहाँले केही प्रयास पनि गर्नु भएको छ,' ती चिकित्सकले स्वास्थ्यखबरसँग भने, 'पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मार्फत उहाँ फेरि पनि डिनमा दोहोरिने बलियो सम्भावना देखेका छौं।' उनका अनुसार अहिले तत्कालै सर्च कमिटी नबनेर उहाँलाई अर्को व्यवस्था नभएसम्मका लागि डिनमा निरन्तरता दिने सम्भावना पनि बलियो देखेका छौं।
डिनको इच्छा व्यक्त गर्ने अर्का चिकित्सक हुन् डा अभिमन्यु झा। डा झा हाल आईओएमका सहायक डिन हुन्। सहायक डिन डा झालाई योजनाको जिम्मेवारी दिइएको छ। डा झालाई डिनको बलियो प्रतिस्पर्धीका रुपमा लिएको एक चिकित्सकले जानकारी दिए। 'उहाँ बोलेपछि काम गरेर नतिजा निकाल्न सक्ने क्षमताका व्यक्ति हुन्,' ती चिकित्सकले भने, 'उहाँ डिनका लागि बलियो प्रतिस्पर्धी हो। तर अहिलेको राजनीतिक अवस्थाका कारण उहाँलाई केही समस्या पर्ने भने देखिन्छ।'
आईओएमकै डिनको प्रतिस्पर्धामा हालका क्याम्पस चिफ डा अर्जु लामिछाने पनि छन्। नेपाली कांग्रेस निकट भनेर चिनिएका उनी राजनीतिक रुपमा भने प्रष्ट खुलेका भने छैनन्। वर्तमान सत्ता समिकरणका कारण उनलाई पनि डिनका लागि प्रतिस्पर्धामा धेरै मिहेनत गर्नुपर्ने चिकित्सकहरु बताउँछन्।
त्रिवि शिक्षण अस्पतालका निर्देशक डा दिनेश काफ्ले पनि डिनको आकांक्षी हुन्। उनी एमाले निकट मानिन्छन्। निर्देशकका रुपमा उल्लेख्य काम गर्न नसकेको भन्दै आईओएमभित्र नै उनको आलोचना हुने गरेको छ।
न्यूरो सर्जन डा मोहनराज शर्मा पनि डिनको आकांक्षी हुन्। रिसर्च यूनिट प्रमुखका रुपमा समेत काम गरेका डा शर्मालाई पनि डिनका रुपमा बलियो प्रतिस्पर्धीका रुपमा हेरिएको आईएमका चिकित्सकहरु बताउँछन्।
डिनका लागि अर्का बलियो आकांक्षी हुन् डा रमेशसिंह भण्डारी। 'कलेजो प्रत्यारोपण सर्जन डा भण्डारीलाई वर्तमान सत्ता साझेदार दलहरु र प्रतिपक्षी दलहरुले समेत राम्रो मानेका कारण उहाँको सम्भावना पनि बलियो देखिन्छ,' आकांक्षीमध्येकै एक चिकित्सकले स्वास्थ्यखबरसँग भने।
हाल सहायक क्याम्पस चिफ रहेका डा सुरेश उप्रेती पनि डिनको आकांक्षी हुन्। यस्तै डा प्रदिपमान वैद्य र डा सरोज ओझा पनि डिनका आकांक्षी रहेका छन्। डा वैद्य र डा ओझाको सेवा अवधि थोरै रहेका कारण उनीहरुलाई डिनमा नियुक्त गर्ने सम्भावना कम रहेको अन्य आकांक्षीहरु बताउँछन्।
कार्यदल गठन, कार्यविधि बनेन्
त्रिविले त्रिवि अन्तर्गतका निकायहरुमा पदाधिकारी नियुक्तिको कार्यविधि बनाउन प्राडा पुष्कर बज्राचार्यको संयोजकत्वमा एउटा कार्यदल बनाएको छ। उक्त कार्यदलले चिकित्सा शास्त्र अध्ययन संस्थान सहित अन्य सबै निकाय, विभाग तथा संस्थाहरुको पदाधिकारी नियुक्तिको कार्यविधि बनाउने छ। एक महिनाको समय दिएर कार्यदल बनाइए पनि उक्त कार्यदलको समय सकिसकेको छ। तर कार्यदलले कार्यविधि भने बनाउन सकेको छैन।
कार्यदलले केही समयभित्र नै कार्यविधि बनाएर बुझाउने बताएको भन्दै त्रिवि कार्यकारी परिषदले चिकित्सा शास्त्र अध्ययन संस्थानको डिनका लागि सर्च कमिटी बनाउन समय लगाएको बताइन्छ। 'कार्यविधि बनेर आएपछि त्यही अनुसार अगाडि बढ्का लागि अहिल सर्च कमिटी नबनाएको भन्ने बुझिएको छ,' आईओएमका एक कर्मचारीले भने, 'अब कार्यविधि बनेर त्यही अनुसार अगाडि बढ्ने हो भने आईओएममा तत्कालै नयाँ डिन आउने सम्भावना कम देखिन्छ।'