हजुरबाले वृद्धभत्ता बुझेको साँझ नातीलाई एक पाकेट चुरोट किन्न पठाए र १० रुपैयाँको मिठाई खान भने। नातीले मिठाइ नखाएर हजुरबाले जस्तै एउटा चुरोट सल्कायो। बिस्तारै उसमा बानी बस्यो, साथीभाईलाई खान अनुरोध गर्न थाल्यो। उ अहिले चुरोट नखाइ दिन कटाउन सक्दैन। यो प्रतिनिधि घटना हो। यस्ता थुप्रै घटनाले नेपाली बालबालिकाहरु; विशेषगरी किशोर किशोरीहरु सुर्तीजन्य पदार्थको सेवनमा फसेका छन्।
सुर्तीजन्य पदार्थ र त्यसमा पनि चुरोटको सेवन नेपाली समाजमा अत्याधिक वृद्धि भएको पाइन्छ। चुरोट सेवन गर्ने युवा युवती र किशोर किशोरी उल्लेखनीय मात्रामा छन्। राष्ट्रिय जनसाङ्खिक स्वास्थ्य सर्वेक्षणका अनुसार २८ प्रतिशत मानिसले सुर्तीजन्य पदार्थ सेवन गर्छन जसमा युवायुवती र किशोरकिशोरी सबभन्दा बढी छन्।
सुर्तीजन्य पदार्थ सेवनले स्वास्थ्यमा प्रतिकुल असर पार्छ। मुटुसम्बन्धी रोग, फोक्सो तथा मुखको क्यान्सर आदि विभिन्न प्राणघातक रोगको प्रमुख कारण नै चुरोट तथा सुर्तीजन्य पदार्थको सेवन हो। विश्व स्वास्थ्य सङ्गठनका अनुसार मुटुसम्बन्धी रोगबाट नै बर्सेनी सबैभन्दा बढी मृत्यु हुने गरेको छ जसमा सुर्तीजन्य पदार्थको सेवन प्रमुख कारण हो।
युवाहरुले सुर्तीजन्य पदार्थको सेवन गर्नाले उत्पादनशिल समय खर्च हुनुका साथै समाज र देश विकासमा नकारात्मक असर पर्छ। खेत खन्ने हातहरुमा चुरोटका ठुटा भएपछि खेत बाँझै रहनु खासै नौलो कुरा होइन।परिवारको आर्थीक भार थाम्ने बेलामा नसामा रम्न थालेपछि घरको स्थिती बिगर्दै जानु र आत्महत्या जस्ता घटनाहरु बाहिरिनु हाम्रा समाजकै घटनाहरु हुन।
युवाहरुले सुर्तीजन्य पदार्थको सेवन बढाउँदै लानु भनेको देशको सामाजीक र आर्थीक विकासमा सोझै बाधा पुग्नु हो। यसलाई जतिसक्दो चाँडो कम गर्ने उपाय खोज्नु जरुरी छ। विद्यालयबाट फर्केका बालबालिकाले चौतारीमा बसेर काकाहरुले चुरोट सेवन गरेको देखेभने त्यही सिको गर्छन। सार्वजनिक ठाउँमा सुर्तीजन्य पदार्थको सेवन पुर्ण रुपमा रोक लगाउनुपर्छ, देशैभरि।
काठमाडौ महनगकपालिकाले एकपटक यसको प्रयास गरेको थियो। किशोर किशोरीलाई विद्यालय शिक्षाबाट चेतना फैलाउनु आवाश्यक छ। बालबालिकालाई यस्ता पदार्थ बेच्नु हुदैन र किन्न पठाउनु पनि हुदैन। तीनै तहका सरकारले समन्वय गरेर कर बढाउने, किनमेलमा कडाई गर्ने आदि विशेष कानुन निर्माण गर्ने र त्यसको प्रभावकारी कार्यन्वयन अतिआवश्यक छ। विशेषगरी स्थानीय तहले यसमा विशेष भुमिका खेल्न सक्छ। सुर्तीजन्य पदार्थ सेवन कम गरेमा मात्रै देशको बहुआयामिक विकासमा युवायुवतीलाई संलग्न गराउन सकिन्छ र मात्रै समृद्ध नेपालको कल्पना गर्न सकिन्छ।