काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीफ यादवले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को दक्षिण पूर्व एसिया क्षेत्र (सेरो)की निर्देशक साइमा वाजेदबीच छलफल भएको छ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)को ७७ औं विश्व स्वास्थ्य सम्मेलनमा सहभागी हुन स्वीजरल्यान्डको जेनेभामा रहेका मन्त्री यादव र वाजेदबीच विशेष छलफल भएको हो।
छलफल नेपालसहित एसीयाको दक्षिण पूर्वीको स्वास्थ्य क्षेत्रमा देखिएका समस्या र त्यसको समाधानका लागि संयुक्त रूपमा गर्न सकिने पहल र हातेमालोको विषयमा केन्द्रित रहेको मन्त्री यादवले जानकारी दिए।
'हामीले समग्रमा दक्षिण पूर्वी क्षेत्रमा महिलाहरूको समग्र स्वास्थ्यसहित स्तन र पाठेघरको मुखको क्यान्सर सम्बन्धी जनचेतना, त्यसको पहिचान, न्यूनीकरण र उपचार गर्ने विषयमा कुराकानी गर्यौँ ,' मन्त्री यादवले भने, 'त्यस्तै नसर्ने रोग, मानसिक स्वास्थ्य, आत्महत्या निराकरण, युवाहरूमा बढ्दो मद्यपान तथा लागूपदार्थ सेवनले उनीहरूको स्वास्थ्यमा पारेको असरलगायतका विषयहरूमा पनि हामीले कुराकानी गर्यौँर।'
छलफलमा मन्त्री यादवले नेपालमा बढ्दै गएको वायु प्रदूषणको प्रभावका कारण हिमाली क्षेत्रमा घटेको हिउँ, हिमालहरू कालो हुँदै गएको र मधेस क्षेत्रमा पानीको सतह तल झरेर त्यहाँका बासिन्दाले भोग्नु भइरहेको समस्यालाई पनि उठान गरेका थिए।
मन्त्री यादवले उठाएका विषयलाई प्रति चिन्ता व्यक्त गर्दै साइमा वाजेदले अगामी वर्ष हुने कोप सम्मेलनमा यसलाई प्राथमिकता दिनेमा जोड दिइन्।
छलफलका क्रममा मन्त्री यादवले वाजेदलाई नेपाल भ्रमणको निमन्त्रणा पनि दिएका छन्।