काठमाडौं- नेपालका बालबालिकामा रहेको कुपोषण र भोकमरी उन्मूलन गर्ने लक्ष्यका साथ इनफ अभियानको औपचारिक रुपमा घोषणा भएको छ।
बालबालिकाको क्षेत्रमा कार्यरत वर्ल्डभिजन इन्टरनेश्नल तथा एकर्ड नेपालको संयुक्त आयोजनामा काठमाडौँमा एक औपचारिक कार्यक्रमकाबीच इनफ अभियानको घोषणा गरिएको हो।
कार्यक्रममा बोल्दै वर्ल्डभिजन इन्टरनेश्नल नेपालका राष्ट्रिय निर्देशक रोज्लिन गाब्रियलले नेपालमा सन् २००१ देखि वल्र्ड भिजनले सन् २००१ देखि नेपालमा पोषणको क्षेत्रमा बालबालिकाको पहुँच बढाउनका लागि काम गरिरहेको बताइन्।
औपचारिक कार्यक्रमको घोषणाका क्रममा नेपालमा बाल भोकमरी र कुपोषणको क्षेत्रमा काम गर्नका लागि नेपाललाई वल्र्ड भिजनले २२ करोड ६५ लाख रुपैयाँ (१.७ मिलियन अमेरिकी डलर) सहयोग दिने घोषणा समेत गरेको छ। उक्त संस्थाले नेपाल लगायत विभिन्न विकासोन्मुख मुलुकका बालबालिकाहरुमा पोषणयुक्त खानाको पहुँच बढाउनका लागि सहयोग गर्दै आएको छ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले बाल कुपोषणको अन्त्य गर्नका लागि गर्भवती अवस्थादेखी नै महिलाहरुलाई विशेष ख्याल गर्नुपर्ने धारणा व्यक्त गरिन्। उनले स्थानीय स्तरमा नै उत्पादन भएमा खानेकुरालाई मिलाएर खान सकेमा केही हदसम्म बाल कुपोषणको दर घटाउन सकिने बताइन्।
सरकारले सामुदायिक बिद्यालयहरुमा लागू गर्दै आएको दिवा खाजा कार्यक्रममा समेत स्थानीय रैथाने खानेकुराको उपयोग गरिने बताउँदै यस्ता कार्यक्रमले बाल पोषण क्षेत्रमा सकारात्मक सन्देश दिएको उनको धारणा थियो।
गैरसरकारी संस्था महासंघका अध्यक्ष रामप्रसाद सुवेदीले बालबालिकाको क्षेत्रमा वल्र्ड भिजनले गरेको कार्य ज्यादै सराहनीय भएको बताए। अझै पनि नेपालमा धेरै बालबालिकाहरु न्यून तौलका जन्मिने बताउँदै उनले कर्णाली प्रदेशमा धेरै बालबालिकाहरु कम तौलका जन्मिने गरेको उनले जानकारी दिए।