काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निसन्तान दम्पत्तीको उपचार गर्ने भन्दै सञ्चालनमा आएको वात्सल्य नेचुरल आईभीएफले गैरकानुनी रुपमा सञ्चालनमा ल्याएका शाखा क्लिनिकहरु बन्द गर्न पत्र काटेको छ।
मन्त्रालयले जेठ ८ गते पत्र पठाउँदै कानुन अनुसार प्रक्रिया पूरा गर्न नभए कारबाही गर्ने भनेको छ। मन्त्रालयले एक स्थानका लागि इजाजतपत्र लिएर अन्य स्थानमा शाखा विस्तार गरेको भन्दै सञ्चारमाध्यममा समाचारहरु आइरहेको विषयमा ध्यानाकर्षण गराउँदै पत्र काटेको हो।
स्वास्थ्यखबरले वैशाख ३० गते आइतबार 'गैरकानुनी रुपमा शाखा विस्तार गर्दै वात्सल्य आईभीएफ, कारबाहीको तयारीमा मन्त्रालय' शिर्षकमा समाचार प्रकाशित गरेको थियो। मन्त्रालयले उक्त समाचार प्रकाशित भएको एक सातापछि सचिवस्तरीय निर्णय गर्दै वात्सल्यलाई पत्र काट्दै कानुन अनुसार कारबाही हुने जानकारी दिएको हो।
'एक स्थानका लागि सञ्चालन इजाजतपत्र प्राप्त गरेका आईभीएफ सेन्टरहरुले अन्य स्थानमा शाखा स्थापना गरी सेवा सञ्चालन गरेको भनी समाचारहरु आइरहेकोमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जानकारी गराउदै स्वास्थ्य संस्थाले थप सेवा विस्तार गर्न वा शाखा स्थापना गर्न चाहेमा मापदण्ड बमोजिम प्रक्रिया पुर्या्ई अनुमति लिएर मात्र सेवा सञ्चालन गर्नुपर्ने व्यवस्था स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७ को दफा ७७ मा रहेकाले सोही बमोजिम गर्नु गराउनु हुन अन्यथा कानुन बमोजिम कारबाही हुने व्यहोरा यस मन्त्रालयको निर्णयअनुसार अनुरोध छ,' पत्रमा भनिएको छ।
वात्सल्यले काठमाडौंको नक्सालका लागि मात्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट स्वीकृति पाएको छ। तर जनस्वास्थ्य सेवा नियमावली र स्वास्थ्य संस्था सञ्चालन मापदण्ड विपरित वात्सल्यले धमाधम शाखा विस्तार गरिरहेको छ।
वात्सल्यले कानुनलाई चुनौती दिँदै भक्तपुर, चितवन, नेपागन्ज, बुटवल र ललितपुरमा शाखा विस्तार गरेको छ।
आईभीएफ सेवा सञ्चालनको स्वीकृति दिने र नियमन गर्ने मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा मदन उपाध्याय वात्सल्यले यसरी शाखा विस्तार गर्न नमिल्ने बताउँछन्। उनले कानुन अनुसार काम गर्न भन्दै वात्सल्यलाई पत्र पठाइएको बताए।
हेरौं पत्र
यो पनि :
आईभीएफ सेन्टरमाथि निगरानी श्रृंखला-३ : अल्का अस्पतालको आईभीएफ सेन्टर पनि अवैध, मन्त्रालयले दिएको छैन स्वीकृति
आईभीएफ सेन्टरमाथि निगरानी श्रृंखला-२ : स्वास्थ्य मन्त्रालयको स्वीकृति नै नलिई अवैध रुपमा आईभीएफ सेवा चलाउँदै भेनस अस्पताल
आईभीएफ सेन्टरमाथि निगरानी श्रृंखला-१ : गैरकानुनी रुपमा शाखा विस्तार गर्दै वात्सल्य आईभीएफ, कारबाहीको तयारीमा मन्त्रालय