काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको पुरानो भवनमा रहेको आकस्मिक कक्षलाई नयाँ भवनमा सार्न निर्देशन दिएका छन्।
वीर अस्पतालको निरीक्षणका क्रममा आकस्मिक कक्ष निकै साँघुरो भएको र बिरामीले सहज रुपमा सेवा पाउन नसकेको देखेपछि मन्त्री यादवले सबै प्रक्रिया पूरा गरेर तीस दिन भित्र नयाँ भवनमा आकस्मिक कक्ष सार्न निर्देशन दिएका हुन्।
'पुरानो भवनमा रहेको आकस्मिक कक्ष निकै साँघुरो छ। त्यहाँ बिरामीले सहज रुपमा सेवा पाउन सकेको देखिँन। त्यसकारण बिरामीको सहजताका लागि नयाँ भवनमा आकस्मिक कक्ष सार्न निर्देशन दिएको हुँ,' मन्त्री यादवले स्वास्थ्यखबरसँग भने, 'आकस्मिक कक्षमा निकै हतार र छिटो उपचार सेवा दिनुपर्ने हुन्छ। तर त्यही कक्ष साँघुरो हुँदा स्वास्थ्यकर्मीलाई समेत समस्या परिरहेको रहेछ। नयाँ भवनमा सरेपछि बिरामीले सहज रुपमा छिटो सेवा पाउँछन् भन्ने विश्वास लिएको छु।'
मन्त्री यादवले वीर अस्पतालको आकस्मिक कक्ष सार्नका लागि आवश्यक पर्ने आर्थिक लगायतका अन्य सहयोग गर्न मन्त्रालय तयार रहेको जानकारी पनि दिए।
वीर अस्पतालको पुरानो भवनमा हाल ४२ शय्या क्षमताको आकस्मिक कक्ष सञ्चालनमा रहेको छ। नयाँ भवनमा आकस्मिक कक्ष सरेपछि शय्या संख्या समेत थप हुने बताइएको छ।
न्याम्सका उपकुलपति प्राडा भुपेन्द्र बस्नेतले मन्त्री यादवले बिरामीको सेवालाई केन्द्रमा राखेर दिएको उक्त निर्देशन निकै सकारात्मक रहेको जानकारी दिए। 'उहाँले आज नयाँ भवनको भुई तलामा आकस्मिक कक्ष राख्न सकिने विषयमा अस्पतालमा आएर नै छलफल र निरीक्षण गर्नु भएको छ,' उपकुलपति डा बस्नेतले भने, 'भवन विभागका इन्जिनियरहरुलाई नै साथमा लिएर कसरी आकस्मिक कक्षलाई सार्न सकिन्छ भन्ने विषयमा छलफल गर्नु भएको छ। यो निकै सकारात्मक कुरा हो।'
डा बस्नेतले नयाँ सर्जिकल भवनको भुई तल्लाको सिटी स्क्यानहरु रहेको स्थानभन्दा अर्को तर्फको भागमा आकस्मिक कक्ष बनाउन सकिने विषयमा छलफल भएको जानकारी दिए। उनले भवन विभागका इन्जिनियरहरुले भवनको अवस्था, आकस्मिक कक्षका लागि बनाउन सकिने क्षेत्र लगायतका सबै विषयमा अध्ययन गरेर दिएको सुझाबका आधारमा आकस्मिक कक्ष सारिने बताए।