काठमाडौं– स्वास्थ्य सेवा विभागले विभिन्न अस्पतालमा उपलब्ध गराएको भेन्टिलेटर, डायलाइसिस मेसिन लगायतका विभिन्न स्वास्थ्य उपकरणहरु प्रयोगमा नरहेको पाइएको छ।
महालेखा परीक्षकको ६१ औं वार्षिक प्रतिवेदनमा उल्लेख गरिएअनुसार विभागले खरिद गरी विभिन्न अस्पतालमा उपलब्ध गराएको उपकरण प्रयोग विहिन अवस्थामा रहेको छ।
उक्त प्रतिवेदन अनुसार विभागले कोशी अस्पतालमा उपलब्ध गराएको २१ लाख १० हजार रुपैयाँका १० थान बाइपाप मेसिन र २ थान भेन्टिलेटर मेसिन प्रयोग विहिन अवस्थामा छ।
यस्तै, सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ८६ वटा डायलाइसिस मेसिन रहेकोमा ६१ मात्र प्रयोगमा छ। केन्द्रमा २५ वटा मेसिन प्रयोग विहिन अवस्थामा छ। केन्द्रमा डायलाइसिस सेवाका लागि भने ७०० भन्दा प्रतीक्षारत छन्। बिरामीले सेवा लि न ६ महिना देखि एकवर्षसम्म पालो पर्खिनुपर्ने अवस्था रहेको सो प्रतिवेदनमा उल्लेख छ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा हस्तान्तरण भएको ४५ थान भेन्टिलेटर सहितका उपकरण तथा खरिद गरेको अर्थोस्कोपी मेसिन र ओटी टेबुललगायतका उपकरण प्रयोगमा ल्याइएको छैन। वीर अस्पतालमा पनि बिरामीले शल्यक्रियाका लागि भने एक हप्तादेखि रोगको प्रकृतिअनुसार एक वर्षसम्म उपचारको लागि कुर्नुपर्ने अवसा छ।
स्वास्थ्य सेवा विभागले माग नै नभइ उपकरण खरिद गरी अस्पतालहरुलाई हस्तान्तरण गर्ने, मूल्य नखुलाउने, वारेन्टी ग्यारेन्टीका कागजातहरु उपलब्ध नगराउने लगायतका समस्या समेत देखिएको प्रतिवेदनमा उल्लेख छ।
महालेखाले स्वास्थ्य मन्त्रालयले अस्पतालमा रहेका उपकरणको सञ्चालन सम्बन्धमा अनुगमन गरी लगत तयार गर्नुपर्ने र प्रभावकारी उपायोगको व्यवस्था मिलाउनुपर्ने सुझाव दिएको छ।