काठमाडौं– महालेखा परीक्षकको कार्यलयले सार्वजनिक गरेको ६१ औं वार्षिक प्रतिवेदनले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा खरिद प्रक्रियादेखि सेवा सञ्चालन र खर्चको अवस्थाबारे प्रश्न उठाएको छ।
प्रतिष्ठानमा स्वास्थ्य उपचारमा प्रयोग हुने उपकरण तथा मेसिन खरिदका लागि बजेट विनियोजन भएपनि खरिद नभएको, जसले गर्दा सेवा लिने बिरामीलाई अयन्त्र पठाउनुपरेको र कार्यकारिणी समितिको बैठक नबस्दा उक्त समितिको निर्णय बिना नै खर्चहरु भइरहेको भन्दै महालेखाले प्रश्न उठाएको हो।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विगतमा खरिद भएका एमआरआई मेसिन–३ तथा विभागले उपलब्ध गराएको ७ थान हेमोडायलाइसिस मेसिन हाल सञ्चालनमा रहेको छैन। स्वास्थ्य मन्त्रालयले अर्को मेसिन खरिद गर्न अघिल्लो वर्ष नै ३१ करोड निकासा गरे पनि खरिद नगर्दा एमआरआई सेवाका लागि बिरामी रेफर गर्नुपर्ने अवस्था रहेको पाइएको छ।
प्रतिष्ठानमा अंकोलोजी भवन निर्माणका लागि आर्थिक वर्ष २०७४/७५ मा रु २१ करोड ६७ लाख निकासा भएपनि भवन निर्माण नभएको समेत प्रतिवेदनमा उल्लेख छ। यस्तै अक्सिजन प्लाण्ड सञ्चालनमा हुन नसकेको र प्रतिष्ठानको संगठन तथा व्यवस्थापन सर्वेक्षण पनि हुन सकेको छैन। जसको कारण सेवा प्रवाहमा समस्या रहेको महालेखाले औल्याएको छ। प्रतिष्ठानमा २०७७ साल साउन ३० गते पछि सञ्चालक परिषद्को बैठक बसेको छैन।
कार्यकारिणी समितिले प्रतिष्ठानको वार्षिक कार्यक्रम र बजेट स्वीकृत गर्ने अधिकार बेगर यो वर्ष प्रशासनिक खर्च २ अर्थ ७५ करोड ४६ लाख र पुँजीगत खर्च १७ करोड ७ लाख सहित २ अर्ब ९२ करोड ५३ लाख कार्यक्रम स्वीकृत गरी खर्च गरेको नियम सम्मत नदेखिएको महालेखाले जनाएको छ।