काठमाडौं– अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८०÷८१ को प्रतिवेदनमा स्वास्थ्य तर्फको जनशक्तिका विवरणमा त्रुटि नै त्रुटि फेला परेको छ।
आर्थिक सर्वेक्षणमा स्वास्थ्य संस्था, शय्या र सरकारी सेवामा रहेका जनशक्तिको विवरणबारे उल्लेख गरिएको तालिकामा त्रुटि फेला परेको हो। उक्त तालिकामा जनशक्तिका विषयमा धेरै त्रुटिहरु रहेका छन्।
सार्वजनिक तथ्यांक अनुसार नेपालमा स्वास्थ्य क्षेत्रका जनशक्ति २०७७ सालमा जम्मा ९०९ जनामा मात्र रहेको गलत विवरण उल्लेख गरिएको छ। त्यसको दुई वर्षसम्म जनशक्ति ह्वात्तै बढेर ९० हजारभन्दा माथि रहेको देखाइएको छ।
२०७९ मा ९७ हजार ४ सय ४९ जना जनशक्ति रहेको विवरण उल्लेख छ। तर त्यसको एक वर्षपछि फेरि नेपालमा स्वास्थ्य जनशक्ति घटेर १० हजार २५० रहेको विवरण राखिएको छ। चालु आर्थिक वर्षको फागुनसम्म पनि नेपालको स्वास्थ्य क्षेत्रका जनशक्ति १० हजार २६८ मात्र रहेको विवरण राखिएको छ। प्रतिवेदनमा उल्लेख भएका यी विवरण गलत हुन्।
‘स्वास्थ्यका विवरण राख्ने क्रममा निकै भद्रगोल बनाइएको रहेछ। एक वर्षमै ८७ हजार जनशक्ति गायब पारिएको छ। अर्को वर्षमा फेरि अर्को उल्लेख छ,’ स्वास्थ्य मन्त्रालयका एक कर्मचारीले तथ्यांकमा रहेको त्रुटिका विषयमा जानकारी दिँदै भने।
प्रतिवेदनकै अर्को स्थानमा डाक्टर ६ हजार २०१, नर्स तथा अनमी २७ हजार ६९८, कविराज ६८४, वैद्य ६९३, स्वास्थ्य सहायक १५ हजार ९८७ र महिला स्वास्थ्य स्वयंसेवि ५१ हजार ४२३ गरी कुले १ लाख २ हजार ६८६ जना जनशक्ति रहेको विवरण उल्लेख छ।
प्रतिवेदन अनुसार जनशक्तिको यो विवरणमा स्वास्थ्य मन्त्रालयसहित अन्य मन्त्रालय र आधारभूत स्वास्थ्य केन्द्रका साथै नगर स्वास्थ्य केन्द्र र सामुदायिक स्वास्थ्य इकाइमा कार्यरत जनशक्ति पनि समावेश गरिएको छ।
यसैगरी, नेपालमा मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकको संख्या उल्लेख गर्नपर्नेमा नेपाल चिकित्सक संघमा दर्ता भएका भनेर अनुसूचीमा गलत विवरण उल्लेख गरिएको छ।
यस्तै, नेपालमा हाल २१५ अस्पताल, २०१ प्राथमिक स्वास्थ्य केन्द्र, ३ हजार ८२० स्वास्थ्य चौकी, ४२६ आयुर्वेदिक औषधालय, ३ हजार १९६ उप–स्वास्थ्यचौकी गरी स्वास्थ्य संस्थाको संख्या ७ हजार ८५८ रहेको विवरण उल्लेख छ।
सर्वेक्षण अनुसार नेपालमा प्रति हजार जनसंख्यामा १ दशमलव २० चिकित्सक र २ दशमलव ८३ नर्स दर्ता रहेको पाइएको छ।
अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८०÷८१ मा जनसंख्याको आधारमा नेपालमा उत्पादित चिकित्सक र नर्सकोप्रति हजार जनसंख्यामा १ दशमलब २० चिकित्सक र २ दशमलब ८३ नर्स रहेको जनाएको हो। यो संख्या विश्व स्वास्थ्य संगठनले तोकेको न्युनतम मापदण्ड भन्दा माथि रहेको सर्वेक्षणमा उल्लेख गरिएको छ।
तर उत्पादित स्वास्थ्य जनशक्ति देशभित्र खपत हुने वातावरण सिर्जना गर्नु, उत्पादिन जनशक्तिको देशभित्र समान वितरण गर्नु र सीप मिश्रित दक्ष जनशिक्तको उत्पादन बढाउनु प्रमुख चुनौतीको रुपमा रहेको भनिएको छ।
उक्त सर्वेक्षणका अनुसार एक वर्षमा सरकारी स्वास्थ्य संस्थामा १७९ जना चिकित्सक, नर्स लगायत स्वास्थ्य क्षेत्रका सरकारी कर्मचारी स्वास्थ्य सेवामा थपिएका छन्।
सो सर्वेक्षणका अनुसार २०७९ फागुन सम्ममा डाक्टर नर्स, अनमी, कविराज, वैद्य, स्वास्थ्य सहायक र महिला स्वास्थ्य स्वयंसेविका समेत गरी नेपालमा एक लाख २ हजार ५०७ स्वास्थ्यकर्मी रहको थियो। २०८० फागुनसम्ममा १ लाख २ हजार ६८६ जना जनशक्ति सरकारी सेवामा छन्।