काठमाडौं – चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), वीर अस्पतालले एकसय जना स्टाफ नर्सका लागि रोजगारीको अवसर खुलाएको छ।
मान्यता प्रापत शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रमाणपत्र तह उत्तिर्ण भई नेपाल नर्सिङ काउन्सिलमा दर्ता भएका स्टाफ नर्सका लागि पाँचौ तहमा आवेदन खुलाएको हो।
१८ वर्ष पुरा भई ४५ वर्ष ननाघेको, कुनै पनि फौजदारी अभियोगमा सजाय नपाएको र अन्य प्रचलित कानुन बमोजिम अयोग्य नभएको नेपाली नागरिकले आवेदन दिन सक्ने जनाइएको छ।
आवेदन दिइएकाहरुलाई जेठ २६ गते लिखित परीक्षा दिनुपर्ने सूचनामा भनिएको छ।
करारमा काम गर्न इच्छुक स्टार्फ नर्सले जेठ १७ गते सम्ममा अस्पतालमा गई आवेदन दिन सक्ने जनाइएको छ। अस्पतालले यसअघि गत मंसिरमा पनि विज्ञापन खुलाएको थियो। तर विविध कारणले उक्त प्रक्रिया रोकिएको थियो। यसपटकको विज्ञापनमा यसअघिको प्रक्रियामा संकलन भएका आवेदनलाई समेत स्वत कायम हुने गरी नयाँलाई पनि आवेदन दिन भनेको हो।
उनीहरुको करार अवधि स्वास्थ्य मन्त्रालयको पुल दरवन्दी अन्तर्गत लोक सेवा आयोगबाट स्थायी पदपूर्ती भई आएमा वा अस्पताललाई आवश्यक नभएमा स्वत हट्ने जनाइएको छ।
अस्पतालले लिखित परीक्षामा सबैभन्दा अगाडि नम्बर ल्याउन सफल हुने एक सय जनालाई नै रोलक्रम (मेरिट) का आधारमा नियुक्त गर्ने छ। 'लिखित परीक्षाको नतिजामा मेरिटमा अगाडि आउने सय जनाले रोजगारी पाउने छन्,' न्याम्सका उपकुलपति प्राडा भुपेन्द्र बस्नेतले भने, 'अस्पतालले पारदर्शी रुपमा नियुक्ति प्रक्रिया अगाडि बढाउने छ। उनले एक देखि सयसम्म मेरिटमा रहेका र त्यसपछिका ५० जनालाई वैकल्पिकका रुपमा राख्ने छौं।'
डा बस्नेतका अनुसार नवनियुक्त स्वास्थ्य मन्त्री प्रदीप यादवले अस्पतालको सेवा सुधार प्रक्रिया अगाडि बढाउन निर्देशन दिए लगत्तै अस्पतालमा नर्सिङ जनशक्तिको समस्याका बारेमा जानकारी दिइएको थियो। उक्त जानकारी पछि मन्त्री यादवले वीर अस्पताल सुधारका लागि जनशक्ति थप्नेदेखि अन्य सहयोग गर्न मन्त्रालय तयार रहेको भन्दै अगाडि बढ्न निर्देशन दिएपछि नर्सिङ जनशक्ति नियुक्तिका लागि प्रक्रिया अगाडि बढेको हो।
हेरौं सूचना