डा साप नमस्कार ! भन्दै बिरामी म बसिरहेको कोठा भित्र प्रवेश गर्नुहुन्छ।
म पनि नमस्कार बुवा/ आमा, के समस्या लिएर आउनुभो भन्दै प्रश्न गर्छु?
अनि सुरु गर्नुहुन्छ उहाँहरू बेलिबिस्तार लगाउन:
- बाबु ढाड पुरै दुख्छ, घुँडा दुखेर हिँड्न हुँदैन, शरिर पुरै कर्कर खान्छ !
- सुगर ,प्रेसर, थाइरोइड सबै छ बाबु, के समस्या भनम् अब !
- होलबडी चेकअप ( शरिरको पूरै जाँच गर्ने हो बाबु)!
- लौ न बाबु भिडियो एक्स रे गराइदेउ मेरो !
- पिसाबको जाँच, रगतको जाँच, थाइरोड र युरिक एसिड हेर्देउ त बाबु !
- समस्या केही छैन बाबु, औषधी मात्र लिन आको म त !
माथि उल्लेखित त बेलिबिस्तारका उदाहरण मात्र हुन्। केही उदाहरण प्राय दैनिक उपचारका क्रममा पनि हामीले सुन्दै आएका छौँ। तैपनि प्रायजसो त हामी सुन्छौं स्वास्थ्य शिविरमा : जहाँ जनरल चेकजाँच , ल्याब टेस्ट, भिडियो एक्सरे साथै विशेषज्ञ सेवाका लागि विभिन्न क्षेत्रबाट स्वास्थ्यकर्मीको जम्बो टोली ग्रामिण छेत्रमा सेवा गर्न लागिपर्छ।
त्यस्तै सेवा गर्ने हेतुका साथ रिजनल हस्पिटल जिरो किमि (पोखरा)बाट २०८१ जेठ ४ गते शुक्रबार दिउँसो १:३० बजेतिर हामी पनि एउटा जम्बो टोली भएर बागलुङतिर लाग्यौं। इन्टर्नसिपमा धेरै स्वास्थ्य शिविर गएता पनि मेडिकल अफिसर भएपछिको यो पहिलो थियो। त्यसैले पनि होला मन फुरुङ्ग थियो। बाग्लुङ भनेपछि ढुक्क भएको मलाई बोलेरो चढिसकेपछि बल्ल पो, साँच्चै बाग्लुङ कता रे? मालढुङ्गाबाट कति टाढा? कहाँ बस्ने? जस्ता यावत प्रश्न मनमा आए।
बिस्तारै बुझ्दा पो थाहा भयो, बेरङ गाउँपालिकाको आयोजना र रिजनल हस्पिटल प्रालि पोखराको प्राविधिक सहयोगमा बाग्लुङ बरेङको बाटाकाचोर स्वास्थ्य चौकीमा शिविर सञ्चालन हुने रहेछ। यस्तो सेवाको अवसर आफूले पाएकोमा हामी सबै खुसी थिएँ। १९ जनाको टोली दुईटा बोलेरोमा भएतापनि उद्देश्य भने एउटै थियो, बेलुका छिट्टै पुगेर धुवाँखोला होमस्टे (जुन गुल्मीमा अवस्थित छ)मा बास बस्ने र बिहान सबेरै उठेर शिविर सुरू गर्ने।
पहाडी भु-भागको बाटो त पऱ्यो, गाडीभित्र नै भएपनि मच्चिँदै र रमाइलो गर्दै बाग्लुङ मात्र होइन। गुल्मी पनि गइने भइयो सोच्दै लगभग ८:३० बजेतिर पुग्यौं, हामी धुवाँखोला होमस्टे, जुन मालढुङ्गाबाट करिब ४७ किमीको दूरीमा अवस्थित रहेछ। होमस्टेको आतिथ्य सँगसँगै मिठो अर्ग्यानिक खानेकुरा खाँदै दोहोरीको पनि रमाइलो लिइयो। जे होस् दोहोरीले भने एक आपसमा अझ बढी आत्मीयता थप्ने काम गऱ्यो। छिट्टै सुत्ने भनेतापनि दोहोरी र गफगाफले बिस्तारासम्म भने हामीलाई १ बजेतिर मात्र पुऱ्यायो।
बिहान सबेरै उठ्ने भनेतापनि शिविर जानको लागि तयार भने ७ बजेतिर मात्र भइयो। होमस्टेको स्वागत, आतिथ्य साथै बिदाइले फेरि बोलाइरहेको थियो। लगभग ३०/३५ मिनेटको बोलेरोको यात्रा पछि पुग्यौं, हामी बाटाकाचौर स्वास्थ्य चौकी। जहाँ बरेङ गाउँपालिकाका मात्र नभएर गुल्मीको चन्द्रकोट गाउँपालिकाका मानिसहरु समेत आज सेवा लिन आउने कुरामा विश्वस्त रहेको त्यहाँका स्थानीय बासीहरु बताउँदै हुनुहुन्थ्यो। परिचयात्मक कार्यक्रम साथै त्यहीँ स्थानीयहरुले बनाएको गलबन्दी ओढाएर हामीलाई स्वागत गरेपश्चात् सुरु गर्यौं आजको स्वास्थ्य शिविर।
सबै आ-आफ्नो विभागमा खट्टिनुभएको नै थियो। यता म भने आज जनरल फिजिसियनको काम गरिरहेको थिएँ। प्रायजसो सुगर, प्रेसर, थाइरोइड र उमेर बढेसँगै शरीरमा देखिने परिवर्तन साथै जोर्नी तथा ज्यान दुख्ने समस्या बढी लिएर आउनुहुन्थ्यो। बिरामीको भीड धानिनसक्नु थियो। त्यहाँको स्थानीय बासिन्दा (स्वास्थ्य चौकीका कर्मचारी, रेडक्रस, गाउँपालिका/वडाका प्रतिनिधि)हरुको सहयोग र हाम्रो हस्पिटलका नर्सिङ स्टाफहरु (सुदिप्ता, रोबिना, स्माइलिका र सन्ध्या) र सहयोगी लिला दिदिको सहकार्यमा दर्ता कार्य साथै भीडलाई नियन्त्रण गर्ने काम भइरहेको थियो।
१ बजे टिकट रोक्ने भनेतापनि बिरामीको अवस्थालाई मध्यनजर गर्दै दर्ता नगरेका बिरामीलाई पनि जोडेर करिब ५५० जना बिरामीले सेवा लिएको कुरा कार्यक्रमको अन्त्यमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा मनोज कोइरालाले बताउँदै हुनुहुन्थ्यो। साथै उहाँले आफूले ३० जनाको मुटुको भिडियो एक्सरे (इको) गरेको र एमडी जीपी डा नवराज बास्ताकोटी सरले १५० जनाको भिडियो एक्सरे गरेको कुराले पनि त्यहाँका स्थानीयहरु खुसी देख्नुहुन्थ्यो। समीक्षाकै क्रममा तत्काल सर्जरी गर्नुपर्ने बिरामी पनि ७/८ जना देखिएको र त्यहाँका स्थानियलाई पोखरा उपचार गर्न आएमा सक्दो सहयोग गर्ने कुरा पनि सर्जन डा सार्जन कुँवरले बताउँदै हुनुहुन्थ्यो।
त्यस्तै हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा विजय परियार सर भने सबैका ज्यान दुःखेका कुरा सुनेर उहाँहरुलाई उचित सल्लाह र औषधि दिँदा आफूलाई खुशी लागेको बताउँदै हुनुहुन्थ्यो। साथै प्रत्यक जोर्नीको दुःखाइको कारण युरिक एसिड नभएको प्रस्ट पार्दै हुनुहुन्थ्यो। यता स्त्री तथा यौन रोगका बिरामी हेरिरहेकी मेडिकल अधिकृत डा सुजना पौडेल पनि सामान्य महिनावारीमा गडबडी साथै आङ खस्ने समस्या भएका बिरामी हेर्नुका साथै उहाँहरुलाई उचित सल्लाह र सुझाव दिन सकेकामा थकाई लागेतापनि सन्तुष्ट अनुभव भएको बताउँदै थिइन्।
यता रिजनल हस्पिटलका अध्यक्ष सबिन अधिकारी दाइले सम्पूर्ण हस्पिटल स्टाफ साथै बेरङ गाउँपालिका लगायत प्रत्यक्ष/अप्रत्यक्ष रूपमा यस स्वास्थ्य शिविरलाई सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिनुभयो। रिजनल हस्पिटलमा उपचार गर्न आउने बिरामीलाई आफूले सकेको छुट दिलाउने प्रतिबद्धता समेत जाहेर गर्नुभयो। गाउँपालिका अध्यक्ष साथै स्वास्थ्य संयोजकले पनि सबैलाई धन्यवाद दिँदै आउने दिनमा पनि सहकार्य गर्न हामी तयार रहेको बताउँदै हामी सबैलाई बिदा गर्नुभो।
लगभग ३:३० सम्मको शिविर साथै बिदाइ कार्यक्रमको रमाइलो पललाई सकाएर हामी ४ बजेतिर फर्किने तर्खरमा थियौं। शिविरमा इसिजी सेवा दिएका नर्सिङ स्टाफ साथै सामान्य ल्याब टेस्ट गर्नुभएका दाइहहरू ( सूर्य र अशोक) खुसी देखिनुहुन्थ्यो। फिजियोथेरापीका बारे पनि जानकारी दिन पाएकोमा डा सुरेश पहारी दाइ पनि हर्षित हुनुहुन्थ्यो। फार्मेसीका दाइहरु पनि सबैलाई औषधि वितरण गरेको र अलिकति बाँकी रहेका औषधि त्यहीँ छाड्न पाउँदा झनै खुसी लागेको बताउँदै हुनुहुन्थ्यो।
समग्रमा स्वास्थ्य शिविर सभ्य र भव्य हुनुका साथै बिरामीहरुलाई उपचार गर्ने, औषधी मात्र लेख्नु भन्दापनि सकेसम्म रोग लाग्न नदिने उपायहरु बताउनुका साथै रोग लागिहालेमा पनि समयमा नै पहिचान गर्नुका साथै उचित उपचार गर्नुपर्ने कुराको चेतना फैलाउन सकियो।