काठमाडौं–प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ ।
बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची तय गरिएको छ । यस्तै, सभामुखले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्नेछन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबल गर्ने र सभामुखले धन्यवाद प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
शिक्षामन्त्री सुमना श्रेष्ठले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। राष्ट्रिय सभाबाट पास भइसकेको उक्त विधेयक प्रतिनिधि सभाबाट पास भएपछि ऐनमा रुपान्तरण हुनेछ।
यसैगरी, उद्योगमन्त्री दामोदर भण्डारीले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ पेश गर्नेछन् ।