काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबारको प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिने कार्यसूची छ। तर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपाल (जसपा) भने प्रधानमन्त्रीलाई विश्वासको मत लिनबाट रोक्ने रणनीतिमा छन्।
सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै लगातार संसद् बैठक अवरुद्ध गरिरहेको कांग्रेसले आजको बैठक पनि चल्न नदिने बताएको छ।
आइतबारको संसद् बैठकमा गृहमन्त्री रवि लामिछानेले सम्बोधन गरेलगत्तै पत्रकार सम्मेलन गरेका कांग्रेस महामन्त्री गगन थापाले आफूहरुको माग अनुसारकै संसदीय छानबिन समिति नबनाए संसद्का कुनै पनि काम-कारबाही अगाडि बढ्न नदिने बताएका छन्।
कांग्रेसले आजको बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा रणनीति बनाउन संसदीय दलको बैठक समेत बोलाएको छ।
यता जनता समाजवादी पार्टी नेपालले पनि सर्वोच्च अदालतको आदेश नआउन्जेल पार्टीबाट अलग भएका सांसदहरुलाई विश्वासको मत लिने प्रक्रियामा सामेल नगराउन सभामुख देवराज घिमिरेलाई पत्र पठाएको छ।
जसपाले ३१ वैशाखमा सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन्। सत्ता साझेदार दलले समर्थन फिर्ता लिए ३० दिन भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।
प्रधानमन्त्री प्रचण्डले संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेलाई पत्र पठाएर प्रतिनिधि सभाको ७ जेठको बैठकमा विश्वासको मत लिने कार्यसूची राखिदिन भनेका थिए।
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत हासिल गर्न १३८ सांसदको समर्थन चाहिन्छ