काठमाडौं- नेपाल फार्मेसी काउन्सिलले फार्मेसी शिक्षा प्रदान गर्ने शिक्षण संस्थाहरुले विगतका निर्णय कार्यान्वयन नगरेपछि एक्सनमा जाने निर्णय गरेको छ। काउन्सिलले सार्वजनिक सूचना जारी गर्दै विगतका सूचना कार्यान्वयन नगर्ने शिक्षण संस्थाका विद्यार्थीलाई नाम दर्ता परीक्षामा सहभागी नगराउने निर्णय गरेको छ।
काउन्सिलले विगतमा काउन्सिल ऐन अनुसार वार्षिक रुपमा शिक्षण संस्थाबाट उत्तीर्ण भएका विद्यार्थीको विवरण काउन्सिलमा पेश गर्ने सार्वजनिक सूचना जारी गरेको थियो। काउन्सिलले २०७९ जेठ ३० गते सूचना जारी गर्दै सम्बन्धित शिक्षण संस्थाबाट उत्तीर्ण भएका विद्यार्थीको विवरण काउन्सिलमा पेश गर्न सूचना निकालेको थियो। तर उक्त सूचनाको केही कलेजहरुले अटेर गर्दै आइरहेका छन्।
यस्तै काउन्सिलले २०८० असार २० गते अर्को सूचना पनि जारी गरेको थियो। उक्त सूचना अनुसार काउन्सिलको साउन २४ गतेको निर्णय अनुसार फार्मेसी कलेजहरुले प्रति विद्यार्थी डी फार्मेसीको एक हजार र बि फार्मेसीको हकमा प्रति विद्यार्थी तीन हजार पंजीकरण शुल्क बुझाउन भनिको थियो। तर कलेज उक्त निर्णय पनि कार्यान्वयनमा नल्याएपछि काउन्सिल एक्सनमा आएको हो।
काउन्सिलका रजिष्ट्रार सञ्जिब पाण्डेयद्वारा आइतबार जारी सरुचना अनुसार विगतमा माग जारी गरिएको दुई सूचना पालना नभएका शिक्षण संस्थाका विद्यार्थीलाई परिषद्को नाम दर्ता परीक्षामा सहभागी एवं नाम दर्ता गर्न परिषद् बाध्य नहुने विषय उल्लेख छ।