काठमाडौं- नेपालले दुई भारतीय ब्रान्डका मसला आयातमा रोक लगाएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण महाशाखाले सूचना जारी गर्दै आयातमा रोक लगाएको हो।
भारतमा उत्पादन हुने एमडीएच र एभरेस्ट ब्राण्डका केही मसला पदार्थहरुमा इथायलिन अक्साइडको अवशेषको मात्रा तोकिएको अधिकतम सिमाभन्दा बढी देखिएको बताइएको छ। जसलाई क्यान्सरको कारक मानिन्छ। हङकङको सेन्टर फर फुड सेफ्टी एन्ड इन्भाइरोमेन्ट हाइजिन डिपार्टमेन्ट तथा सिंगापुरको सिंगापुर फुड एजेन्सीले यसअघि नै रोक लगाइसकेका छन्।
यी दुई देशको जाँचलाई मध्यनजर राख्दै नेपालले पनि प्रतिबन्ध लगाएको हो। भनिएको छ, 'खाद्य नियमावली, २०२७ को नियम १९ को व्यवस्था बमोजिम तपसिलका मसला पदार्थहरुको आयात तथा बिक्री वितरण नगर्न/नगराउन हुन सम्बन्धीत आयातकर्ता तथा विक्रेताहरुलाई सूचित गरिन्छ । साथै उक्त ब्राण्डका तपसिल बमोजिमका मसला पदार्थ बजारबाट अविलम्ब फिर्ता गरी विभागलाई जानकारी गराउन समेत सूचित गरिन्छ।'