काठमाडौं- स्वास्थ्य क्षेत्र सुधारका अभियान्ता डा गोविन्द केसीले अनसन तोडेका छन्। स्वास्थ्य अवस्था बिग्रिएपछि निकटस्थको आग्रहमा उनले अनसन तोडेका हुन्। अनसन तोडेपनि आन्दोलन जारी रहेको उनले बताएका छन्। उनी २९ वैशाखदेखि पशुपतिको मृगस्थलीमा अनसनरत थिए। स्वास्थ्य बिग्रिएपछि बुधबार उनलाई शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएका थिए।
'आज अनशनको छैटौं दिन मेरो स्वास्थ्य अवस्था कृटिकल हुँदै गएको डाक्टरहरूले औंल्याएका छन् । साथै वर्तमान शासकहरूको नियतलाई दृष्टिगत गर्दै अनशन तोडनु पर्ने हुन्छ,' उनले भने, 'हत्या हिंसाको माध्यमबाट सत्तामा आएका दल र त्यस्तो पृष्ठभुमिमा रमेका रमाएकाहरूले शान्तिपूर्ण अहिंसात्मक सत्याग्रहको माग सुनुवाइ गर्छन् र शासकहरू संवेदनशील बन्छन् भन्ने कुरा सोच्नु मूर्खता हो।'
सामान्य शासकीय शिष्टाचार समेत नभएका शासकहरू भएको देशमा जनताको समस्याप्रति गम्भीरता नदेखिनु सामान्य कुरा रहेको उनको बुझाइ छ। 'अनैतिक शासकहरूको अगाडि नागरिकको नैतिक याचना फगत याचनाको रूपमा रहेको देखिएको छ । तसर्थ हाम्रो आन्दोलन जारी रहने प्रतिबद्धता गर्दै हाललाई सत्याग्रह स्थगन गरेको जानकारी गराउँछु,' उनले विज्ञप्तििमा भनेका छन्।
डा केसीले निम्न चार माग राखेका थिए।
१. सशस्त्र द्वन्द्वकालमा मानवता विरोधी घोर अपराध र युद्ध अपराधमा संलग्न प्रमुख नेताको हैसियतका कारण प्रचण्डको प्रधानमन्त्री पदबाट तुरुन्त राजिनामा, निष्पक्ष रूपमा र पीडितहरुले न्याय अनुभूत गर्ने गरी संक्रमणकालीन न्यायको प्रक्रिया टुंगोमा पुग्ने सुनिस्चित गरियोस् ।
२. सवै नेपालीलाई गुणस्तरीय साथै निशुल्क औषधि उपचारको व्यवस्था गरियोस् ।
३. जनताको नाममा हामीसँग भएका शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार र सवैको समान पहुँच सम्बन्धी - गेटामा तुरुन्त प्रतिष्ठान संचालन गर्ने, गण्डकी र मधेश प्रदेश साथै इलाम, उदयपुर र डडेल्धुरामा मेडिकल कलेज/प्रतिष्ठान तुरुन्त निर्माण गर्न, विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी नियुक्ति मापदण्ड सम्बन्धि उच्च शिक्षा ऐन र एकिकृत स्वास्थ्य शिक्षा प्रतिष्ठान सम्बन्धि ऐन तुरुन्त पारित गर्नेलगायत सबै सम्झौताहरु कार्यान्वयन गर्न ।
४.कार्की आयोगले दोषी ठहऱ्याएका व्यक्तिहरूलाई कारवाही गर्न माग गरिन्छ ।