काठमाडौं- मध्यबानेश्वरस्थित भेनस अस्पतालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वीकृति नै नलिई अबैध रुपमा टेस्टट्युब बेबी सेवा अर्थात इनभिट्रो फर्टिलाइजेसन (आईभीएफ) सेवा सञ्चालन गरिरहेको तथ्य फेल परेको छ।
जनस्वास्थ्य सेवा नियमावली अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट अनिवार्य रुपमा इजाजत लिएर मात्र आईभीएफ सेवा सञ्चालन गर्न पाइन्छ। तर भेनस अस्पतालले भने मन्त्रालयबाट स्वीकृति नै नपाई धमाधम आईभीएफ सेवा भन्दै महँगो शुल्क लिइरहेको पाइएको छ।
स्वास्थ्य मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका अनुसार भेनसले जेठ ३ गतेसम्म सञ्चालन स्वीकृति पाएको छैन। जनस्वास्थ्य सेवा ऐन २०७५ र जनस्वास्थ्य सेवा नियमावली २०७७ अनुसार अनुमति नलिइ आईभीएफ सेवा सञ्चालन गर्नु गैरकानूनी मानिन्छ।
भेनस अस्पतालले आईभीएफ शुल्कमा समेत मनोमानी गरिरहेको मन्त्रालयका कर्मचारी बताउँछन्। 'एक त स्वीकृति नै लिएको छैन। त्यसमाथि पनि शुल्कमा मनपरी छ,' मन्त्रालयका एक कर्मचारीले भने, 'स्वीकृति नपाएकाले गुणस्तरमा प्रश्न त छँदै छ। त्यसमाथि पनि मनपरी शुल्क लिएर निसन्तान दम्पतिमाथि ठग्दै आइरहेको छ।'
भेनसको आईभीएफ सेवा अन्तर्गत जनशक्ति, ल्याब तथा अन्य पूर्वाधारको गुणस्तरका विषयमा समेत प्रश्न उठाउने प्रशस्त ठाउँ रहेको मन्त्रालयका कर्मचारी बताउँछन्।
ती कर्मचारीका अनुसार भेनसले आईभीएफ सेवा सञ्चालनको स्वीकृतिका लागि मन्त्रालयमा निवेदन दिए पनि अनुगमनका क्रममा आईभीएफ सेवाका लागि आवश्यक पर्ने मापदण्ड पूरा नभएपछि स्वीकृति पाएको छैन। भेनसले २०७८ साल फागुन २५ गते स्वीकृतिका लागि मन्त्रालयमा निवेदन दिएको थियो। मन्त्रालयले गरेको अनुगमनका क्रममा मापदण्ड पूरा नभएपछि स्वीकृति भने पाएको छैन।
तर भेनसले मन्त्रालयलाई समेत अटेर गर्दै आईभीएफ सेवा सञ्चालन गरिरहेको छ।
भेनसले आईभीएफ सेवाका लागि तीन लाखभन्दा बढी रकम उठाउँदै आइरहेको छ। 'विभिन्न सर्तहरु राखेर २ लाख ५० हजारमा आईभीएफ भनेर प्रचार गरेको देखिन्छ। तर विभिन्न शिर्षकहरुमा तीन लाखभन्दा बढी रकम लिने गरिन्छ,' भेनसकै एक चिकित्सकले भने।
मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा मदन उपाध्यायले कुनै पनि आईभीएफ सेन्टरले मन्त्रालयको स्वीकृति नलिई सेवा सुरु गर्न नहुने बताए। उनले त्यस्तो पाइएमा मन्त्रालयले कानुन अनुसार कारबाही गर्ने जानकारी दिए।
उनले आइभिएफ सेवा सञ्चालनका लागि ईजाजत पूर्व गुणस्तर सुनिश्चित गरेर मात्रै सञ्चालन अनुमति दिइने बताए।
यो पनि:
गैरकानुनी रुपमा शाखा विस्तार गर्दै वात्सल्य आईभीएफ, कारबाहीको तयारीमा मन्त्रालय