काठमाडौं– नेपाली औषधि उत्पादन उद्योग एशियन फर्मास्युटिकल्स प्रालिले उत्पादन गरेको औषधि र अन्तर्राष्ट्रिय औषधिको गुणस्तर बराबर भएको एक अध्ययनले देखाएको छ।
मानसिक रोगको बाइपोलार डिसअडर र छारेरोगमा प्रयोग हुने ‘भाल्प्रोट ५०० एक्सआर’ (सोडियम भल्प्रोएट र भल्प्रोइक एसिड) अन्तर्राष्ट्रिय औषधिसँग तुलना गरी अध्ययन गर्दा त्यसको गुणस्तर बराबर आएको हो।
एशियनको उत्पादन भाल्प्रोट र नेपाली बजारमा चल्दै आएको बहुराष्ट्रिय कम्पनीको अर्को एक औषधिबीच गरिएको बायोइक्युभ्यालेन्स अध्ययनमा दुबै औषधिमा समतुल्य पाइएको हो।
नेपाल स्वास्थ्य अनुसन्धान परिष्दको स्वीकृतिमा काठमाडौं विश्वविद्यालयको फार्मेसी विभागले एशियनको भाल्प्रोट र अर्को एक औषधिबीच बायोइक्युभ्यालेन्स अध्ययन गरेको थियो।
अध्ययनले एशियनको भाल्प्रोट औषधि अन्तर्राष्ट्रिय औषधि (इनोभेटर ब्रान्ड) सँग मिल्ने गुणस्तर रहेको अध्ययनमा संलग्न केयूको फार्मेसी विभागकी एसोसियट प्रोफेसर रजनी शाक्यले जानकारी दिइन्।
शाक्यका अनुसार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सन् २०२३ को जुन १६ मा अनुमति दिएपछि २०२३ जुलाई १३ बाट धुलिखेल अस्पतालमा अध्ययन गरिएको थियो। १८ देखि ६० वर्ष उमेरका १५ जना स्वस्थ व्यक्तिमा उक्त औषधिको अध्ययन गरिएको थियो।
‘अध्ययनका लागि लिइएका स्वस्थ व्यक्तिहरुलाई औषधिको अध्ययन लगायतका सबै विषयमा जानकारी गराएर छनोट गरिएको थियो,’ उनले भनिन्, ‘अध्ययनका लागि छनोट गरिएका व्यक्तिमा दुई कम्पनीको एउटै मलिक्युल प्रयोग गरिएको औषधि परीक्षण गरिएको थियो।’
अध्ययनका क्रममा १५ जनालाई दुई समूहमा विभाजन गरिएको थियो। पहिलो चरणमा एउटा समूहका व्यक्तिलाई एशियनको औषधि र अर्को समूहको व्यक्तिलाई अर्को विदेशी कम्पनीको औषधि दिइएको थियो।
औषधि दिएपछि उनीहरुको शरीरबाट औषधि खाएको आधा घण्टापछि ७२ घण्टाभित्रमा १४ पटक रगत लिएर परीक्षण गरिएको थियो। सो क्रममा अध्ययनमा सहभागी व्यक्तिलाई २४ घण्टा अस्पतालमै र ७२ घण्टा चिकित्सकको निगरानीमा राखिएको थियो।
त्यसपछिको ७ दिनपछि सोही प्रक्रियाबाट पहिला एशियन फर्मास्युटिकल्सको औषधि लिएकालाई अर्को कम्पनीको औषधि र यसअघि अर्को कम्पनीको औषधि लिएकालाई एशियन फर्मास्युटिकल्सको औषधि खुवाइएको थियो। त्यसपछि फेरी सोही ७२ घण्टासम्म रगत निकालेर केयूकै प्रयोगशालामा परीक्षण गरिएको थियो। परीक्षणका क्रममा नेपालमा प्रयोगमा रहेको अन्तर्राष्ट्रिय औषधि र एशियन फर्मास्युटिकल्सले उत्पादन गरेको औषधिमा बराबर गुणस्तर पाइएको शाक्यले जानकारी दिइन्।
शाक्यका अनुसार नेपालमा प्रयोग भएको उक्त विदेशी ब्राण्डको औषधिसँग नेपाली उत्पादकले उत्पादन गरेको औषधिको गुणस्तर बराबर भएकाले औषधि प्रयोगकर्ताले विदेशी औषधिको सट्टामा ढुक्कसँग नेपाली कम्पनीको औषधि प्रयोग गर्न सक्नेछन्। सो अध्ययन पछि चिकित्सकलाई पनि औषधि सिफारिस गर्न कन्फिडेन्ट बढ्ने शाक्यको भनाइ छ।
एशियनले उक्त औषधि २०७९ पुसदेखि उत्पादन गरेर बजारमा ल्याएको हो। उक्त औषधि गुणस्तरीय रहेको विषय पहिलै नै ल्याब परीक्षणबाट पुष्टि भइसकेको थियो। तर अर्को औषधिसँग तुलना गर्दै व्यक्तिमाथि नै क्लिनिकल अध्ययन गरिएको भने थिएन।
शाक्यका अनुसार नेपालमा औषधिहरुको यसरी बायोइक्युभ्यालेन्स परीक्षण १२ वर्षपछि भएको हो। ‘औषधिहरुको बायोइक्युभ्यालेन्स परीक्षण हुनुपर्छ,’ उनले भनिन्, ‘तर अहिले गरिएको परीक्षण पनि १२ वर्षपछि भएको हो। यस्ता खालको परीक्षणमा जोड दिन आवश्यक छ।’