काठमाडौं- चिकित्सा शिक्षा सुधारका अभियान्ता प्राडा गोविन्द केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा सहित चार बुँदे माग राख्दै आमरण अनशन सुरु गरेका छन्। डा केसीले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै २२औं पटकको अनशन सुरु गरेको जानकारी दिएका हुन्।
डा केसीले सशस्त्र द्वन्द्वकालमा मानवताविरोधी अपराध र युद्ध अपराधमा संलग्न प्रमुख नेताको हैसियतमा प्रधानमन्त्री पदबाट प्रचण्डको राजीनामाको माग पहिलो बुँदामा राखेका छन्। उनले निष्पक्ष रुपमा र पीडितहरुले न्याय अनुभूत गर्ने गरी संक्रमणकालीद्द न्यायको प्रक्रिया टुंगोमा पुग्ने सुनिश्चित गर्न पनि माग गरेका छन्।
डा केसीले पशुपति क्षेत्रमा अनशन सुरु गरेका हुन्।
डा केसीले सबै नेपालीले गुणस्तरीय स्वास्थ्य उपचार र निशुल्क औषधि पाउनुपर्ने र आफूसँग विभिन्न समयमा सरकारले गरेका सहमति कार्यान्वयन गर्नुपर्ने मागलाई पनि प्राथमिकताका साथ उठाएका छन्।
सरकारले अन्तिम अल्टिमेटमको अवधिमा पनि मागहरू सम्बोधन नभाएको भन्दै उनले पशुपतिको मृगस्थली क्षेत्रमा २२ औँ सत्याग्रह शुरू गरेका हुन्। 'अन्तिम अल्टिमेटमको अवधिमा पनि हाम्रा मागहरू सम्बोधन नभएको हुनाले आज २०८१ बैशाख २९ गते ४ वजे देखि २२औं सत्याग्रह शुरू गर्ने घोषणा गर्दछौं,' डा केसीले भने।
हेरौं चार बुँदे माग
१. सशस्त्र द्वन्द्वकालमा मानवता विरोधी घोर अपराध र युद्ध अपराधमा संलग्न प्रमुख नेताको हैसियतका कारण प्रचण्डको प्रधानमन्त्री पदबाट तुरुन्त राजिनामा। निष्पक्ष रुपमा र पीडितहरुले न्याय अनुभूत गर्ने गरी संक्रमणकालीन न्यायको प्रक्रिया टुंगोमा पुग्ने सुनिस्चित गरियोस्।
२. सवै नेपालीलाई गुणस्तरीय साथै निशुल्क औषधि - उपचारको व्यवस्था गरियोस्।
३. जनताको नाममा हामीसँग भएका शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार र सवैको समान पहुँच सम्बन्धी - गेटामा तुरुन्त प्रतिष्ठान संचालन गर्ने, गण्डकी र मधेश प्रदेश साथै इलाम, उदयपुर र डडेल्धुरामा मेडिकल कलेज/प्रतिष्ठान तुरुन्त निर्माण गर्न, विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी नियुक्ति मापदण्ड सम्बन्धि उच्च शिक्षा ऐन र एकिकृत स्वास्थ्य शिक्षा प्रतिष्ठान सम्बन्धि ऐन तुरुन्त पारित गर्न लगायत सवै सम्झौताहरु कार्यान्वयन गर्न।
४. कार्की आयोगले दोषी ठहऱ्याएका व्यक्तिहरूलाई कारवाही गर्न माग गरिन्छ।