देशलाई औषधि क्षेत्रमा आत्मनिर्भर बनाउने दीर्घकालीन सोचमा अग्रसर भई एनपीएल अगाडि बढिरहेको छ
स्वदेशी औषधि उत्पादनमा महत्वपूर्ण हिस्सा ओगटेको उद्योगमध्ये पर्छ, नेपाल फर्मास्युटिकल्स ल्याबोरेटोरी (एनपीएल) प्रालि। वीरगञ्जको जितपुरस्थित यो उद्योग २०४२ सालमा स्थापना भएको हो। ‘क्वालिटी इन दि सर्भिस अफ मिलियन्स’ भन्ने नारालाई एनपीएलले आत्मसात गरेको छ। गुणस्तरीय औषधि उत्पादन नै आफूहरुको पहिलो प्राथमिकतामा रहेको एनपीएलकी मार्केटिङ प्लानिङ प्रमुख निश्मा ब्रजाचार्य बताउँछिन्। बज्राचार्यसँग पछिल्लो समय नेपालमा देखिएको आर्थिक मन्दी र यसले औषधि बजारमा पारेको प्रभाव, एनपीएलका उत्पादन तथा योजनाका विषयमा स्वास्थ्य खबरपत्रिकाका लागि लक्ष्मी चौलागाईंले गरेको कुराकानी:
कोभिड महामारीसँगै पछिल्लो समय देखिएको आर्थिक मन्दीले औषधिको क्षेत्रमा कस्तो प्रभाव पारेको छ?
औाषधिको क्षेत्रमा उपलब्ध भएको तथ्यांक अनुसार अन्य क्षेत्रको तुलनामा भन्दा समग्र रुपमा अलि कम परेको देखिन्छ। सामान्य रोग भन्दा दिर्घकालिन औषधिका क्षेत्रमा मन्दीको असर कम हुनु यसको प्रमुख कारण हो। यद्यपि मानिसहरुको लगानी घर जग्गा तथा अन्य अनुत्पादक क्षेत्रमा भएको र ती क्षेत्रमा आर्थिक मन्दीको असर बढी मात्रामा देखिएकोले पनि आम मानिसहरुको क्रय शक्ति घटेको हो भन्ने मेरो बुझाई छ।
रकम सञ्चयको हिसाबले भन्ने हो भने बजारमा जुन किसिमबाट पैसा आउनुपर्ने हो, त्यो भने नआएकै अवस्था हो। औषधि वितरकहरुका अनुसार खुद्रा विक्रेताबाट नै पैसा नआएको अवस्था छ। तर औषधि कारोबार भने उपभोक्ताले उधारोमा गर्दैनन् भन्ने मेरो बुझाइ छ। उपभोक्ताबाट पैसा लिएर वितरकहरुले अन्य अनुत्पादक क्षेत्रमा लगानी गरेको हुनसक्ने आंकलन मेरो रहेको छ।
पछिल्लो समय सहकारी संस्थाहरु डुबेका कारण धेरै औषधि क्षेत्रका थोक तथा खुद्रा वितरकहरु समेत लागनी त्यसमा फसेको अवस्था छ। साथै नेपाल सरकारको बीमा प्रणालिबाट हुने व्यापारमा पनि समयमा भुक्तानी नहुँदा यस्ता यावत् कारणहरु आर्थिक मन्दीको असर औषधि क्षेत्रमा पक्कै पनि परेको छ। सञ्चयमा समस्या आएको पक्कै हो, तर उपभोगमा नै ठूलो समस्या देखिएको भने होइन।
नेपाल औषधि उत्पादक संघले केही समय अगाडि मात्रै निकालेको तथ्यांकमा अघिल्लो वर्षको तुलनामा ४ अर्ब कम व्यापार देखिएको छ, यसमा कतिको सत्यता छ?
मेरो विचारमा यस प्रक्रियाको बारेमा विस्तृत जानकारी नभएका कारण यसको जवाफ दिन म उपयुक्त व्यक्ति नहोला। कतिपय औषधि कम्पनीहरुले आफू अनूकुलको तथ्यांक दिएको हुनसक्ने मेरो अनुमान हो। तथ्यांक संकलनका क्रममा सही तथ्यांक किन दिने भन्ने मनसायका साथ पनि काम भएको हुनसक्छ। त्यसैले त्यसरी प्राप्त भएको तथ्यांकलाई कसरी विश्वसनीय मान्ने भन्नेमा मेरो प्रश्न रहन्छ। तथ्यांक अनुसार नेपाली औषधि क्षेत्रको बिक्रीको पाटोलाई हेर्ने हो त्यति ठूलो असर परेको छैन, भन्ने मलाई लाग्छ।
भनेपछि अहिलेको अवस्थामा एनपीएलले मन्दीको असर व्यहोर्नु परेको छैन? यसको पछाडिको कारण के होला?
मन्दीको असर एनपीएलको दीर्घकालीन रोगको औषधि बजारीकरणको क्षेत्रमा भन्दा सामान्य रोगमा बढी देखिन्छ। तर विद्यमान अवस्थालाई बुझेर उत्पादन विविधिकरण गरि अगाडि बढ्न सकेका कारण आर्थिक मन्दीका बाबजुद पनि धेरै ठूलो समस्या नदेखिएतापनि औषधिको व्यापारमा अनुकुल अवस्था भने छैन।
समय अनुसार औषधि उत्पादन तथा बजारीरकण गर्न सकेका कारण नै हामी हाम्रो कम्पनीलाई दिगोपना प्रदान गर्न सफल भएका हौं। त्यस्तै कुनै पनि कम्पनीमा विद्यमान नीति नियम तथा मानव संसाधनको अवस्थामा त्यस कम्पनीको सफलता निर्भर रहने गर्छ। अझै कुनै पनि कम्पनीको सफलतामा त्यहाँ कार्यरत जनशक्तिको मुख्य भूमिका रहने गर्छ। त्यसैले एनपीएलको सफलताको मुख्य कारक नै यहाँका जनशक्तिको सामूहिक प्रयास र व्यवस्थापकहरुले प्रदान गरेको अनुकुल वातावरण हो।
एनपीएलले चुनौतीका बाबजुद आफूलाई फरक पहिचानका रुपमा कसरी स्थापित गर्न सकेको छ?
यो एनपीएलको विभिन्न विभागको सामूहिक प्रयास हो। कुनै पनि उत्पादन बजारमा ल्याउनका लागि हामीले त्यस अगाडि व्यापक अध्ययन गर्छौं। बजार मागलाई बुझेर अगाडि बढेको अवस्थामा कुनै पनि कम्पनीका उत्पादनलाई दिगो बनाउन सकिन्छ। उदाहरणका लागि विश्वमा एकदमै माग भइरहेको कुनै मोलीक्युल नेपालका ल्याउँदा नेपालको बजारको अवस्था, त्यस मोलेक्युलको वास्तविक आवश्यकता बारेमा अध्ययन हुनु एकदमै आवश्यक हुन्छ। त्यसमा बिरामीको आर्थिक अवस्था समेत महत्वपूर्ण रहन्छ। पछिल्लो समय नेपालमा नयाँ नयाँ प्रकारका मोलीक्युल ल्याउने होडबाजी चलिरहेको छ। त्यसले कम्पनीसहित औषधि बजारमा नै असर गर्न सक्छ। एनपीएल यसमा सचेत छ। हामी बजारको अध्ययन गरेर माग र आवश्यकता पहिचान गरेर उत्पादन गर्छौं।
औषधि उद्योगका गुणस्तरीयताका बारेमा बेला बेलामा प्रश्न समेत उठिरहेको अवस्था छ, यसबारे तपाईंको धारणा के छ?
कुनै पनि औषधि कम्पनीका लागि अत्यावश्यक कुरा नै गुणस्तरीयता हो। औषधि कुनै विलासी वस्तु होइन, गुणस्तरीयता कायम गर्न नसकेको अवस्थामा त्यसलाई औषधि नै मान्न सकिदैंन। औषधि अत्यावश्यक वस्तु भएकोले त्यसमा छनौटको विकल्प रहँदैन। यदि औषधिमा गुणस्तरीयता कायम भएको छैन वा त्यसले बिरामीको स्वास्थ्यलाई चाहिएको जति सकारात्मक असर गरिरहेको छैन भने त्यो औषधि नै होइन। त्यसैले औषधि गुणस्तरीयतामा सम्झौता गर्न सकिँदैन। उपभोक्ताले समेत गुणस्तरीयतालाई विशेष ध्यान राखेर औषधि सेवन गर्ने गरेको पाइन्छ। नेपालका कतिपय चिकित्सक तथा शिक्षित वर्गका उपभोक्ताहरुले गुणस्तरीयताका कारण कयौं पटक बहुराष्ट्रिय कम्पनीको औषधि महँगो भएपनि प्रयोग गर्ने गरेको पाइन्छ। हुन त नेपाली कम्पनीहरुले अहिले विभिन्न अन्तराष्ट्रिय मापदण्ड अपनाएर आफ्नो औषधिको गुणस्तरीयता प्रमाणित गरेको छ तथापि चिकित्सक वर्ग एवं उपभोक्त वर्गको विश्वास जित्न अहिले पनि धेरै चुनौती छन्।
एनपीएललाई बजारमा सफल बनाउने क्रममा के कस्ता चुनौतीको सामना गर्नुपरेको छ?
चार दशकको समय पुरा गर्दासम्म एन.पी.एल.ले कैयौं चुनौतीहरुको सामना गर्नुपरेको छ। बजारीकरणमा आउने विभिन्न समस्यादेखि लिएर जनशक्ति व्यवथापनमा आउने अनेकन समस्या तथा औषधि व्यवस्था विभागका परिर्वतनशिल नितिनियमलाई समेत सहज रुपमा सुल्झाएर एनपीएल अगाडि बढिरहेको छ। औषधि क्षेत्रमा प्रदान गरेको गुणस्तरीयता कारण नै एनपीएल स्थायित्व प्राप्त गर्न सफल भएको हो।हामीले प्रदान गरेको गुणस्तरीयता कारण हाम्रो नयाँ उत्पादनलाई समेत चिकित्सकहरुले स्वीकार्ने गरेका छन्। कम्पनीले प्राप्त गरेको मुख्य सफलताको कारण नै यसले प्रदान गरेको गुणस्तरीय औषधि नै हो। औषधिको गुणस्तरीयता र यसको मुल्यका बारे भन्नुपर्दा बिरामीले एकदमै सस्तो औषधि भन्दा पनि गुणस्तरीय औषधि खोज्छन् भन्ने मलाई लाग्छ। त्यसैले हाम्रो पहिलो प्राथमिकता भनेको उत्पादनमा गुणस्तरीयता र उपभोक्तालाई त्यो गुणस्तरीय औषधि सुपथ मूल्यमा दिनु नै हो। विभिन्न चुनौतीका वावजुत पनि देशलाई औषधि क्षेत्रमा आत्मनिर्भर बनाउने दीर्घकालीन सोचमा सदैव अग्रसर भई एनपीएल अगाडि बढि रहेको छ।
आगामी दिनमा एनपीएलका के कस्ता योजनाहरु रहेका छन्?
हाल हाम्रो कम्पनीले ८ विभिन्न डिभिजिनहरु मार्फत बजारीकरण गर्दै आइरहेको छ। एनपीएल डिभिजनहरुले एक्युड मेडिसिनका औषधि बजारीकरण गरिरहेको छ। जसमा छाला, नाक, कान, घाँटी, आँखा, दाँत, इन्जेक्टेबल, बालरोग सम्बन्धी, युरोलोजी, ग्याष्ट्रोलोजी लगायतका औषधि छन्। त्यस्तै हाम्रो क्रोनिक केयर— लापेन अन्र्तगत दिर्घकालिन रोगहरु जस्तैः डायबिटिज, कार्डियाक, न्युरो तथा न्युरोसाइक्याटिकका औषधिहरु रहेका छन्। यसअन्तर्गत हामी विस्तारै हेपाटो र नेफ्रोमा समेत गइसकेको अवस्था छ। भविष्यमा अत्यावश्यक गुणस्तरीय औषधिहरु देशमा नै पूर्ण रुपले उत्पादन गर्ने हिसाबले हामिले जीवन बचाउने अन्तिम उपायका इन्जेक्टेबल साथै नयाँ परियोजना अन्र्तगत अन्तर्राष्ट्रिय मापदण्ड पालना गरि विभिन्न रोगका औषधिहरुमा आफ्नो बजार विस्तार गर्दै लाने योजना छ।
नेपाल सरकारले कस्तो सहयोग गरेको अवस्थामा नेपाल औषधिको उत्पादनमा आत्मनिर्भर बन्न सक्छ?
सरकारले चाहेको अवस्थामा धेरै गर्न सक्छ भन्ने मलाई लाग्छ। सरकारले स्वदेशी औषधि उद्योगलाई सहयोग गर्ने स्पष्ट नीति ल्याएमा नेपालका औषधि उत्पादन कम्पनीहरुलाई ठूलो राहत मिल्ने थियो। नेपालमा दक्ष जनशक्तिको लागत ठूला अन्तर्राष्ट्रिय बजार भन्दा कम हुने भएकोले कन्ट्राक्ट म्यानुफ्याक्चरीङ्ग तर्फ पनि सोच्न सकिन्छ। सरकारले चाहेको खण्डमा विभिन्न नन् ट्राफिक बेरियर लगाई नेपाली उद्योगको उत्पादन नै पर्याप्त भएका औषधिहरुमा आयातामा रोक लगाउन सकिन्छ। तर अहिले पनि नेपाल पारासिटामोलको मुल्य निर्धारण प्रक्रियामा नै अड्किएर बसेको छ। विं सं २०६४ सालमा निर्धारण भएको मुल्यमा नै हालसम्म नेपालमा पारासिटामोल बिक्री हुने गरेको छ। त्यसैले आगामी नोभेम्बर २०२६ मा नेपाल अल्प बिकसित मुलुकबाट विकासोन्मुख राष्ट्रमा स्तरोन्नती हुने अवस्थालाई केन्द्रित भई समयानुकुल नीति निर्माण गर्न आवश्यक छ।