काठमाडौं- मधेश प्रदेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्षका रुपमा काम गरेका डा अंकुर भर्खरै उपकुलपतिमा नियुक्त भएका छन्। जनकपुर क्षेत्रीय अस्पतालाई प्रतिष्ठान बनाएर मधेश प्रदेश सरकार अन्तर्गत राखिएको उक्त स्वास्थ्य संस्थाले उपचार सेवाका साथै शिक्षा दिन थालेको छ।
प्रतिष्ठान बनेपछि व्यवस्थित बन्दै गएको महशुस स्थानीयले गरेका छन्। तर अपेक्षित परिवर्तन अझै हुन नसकेको डा शाह आफैं स्वीकार्छन्। आफ्नो जन्मथलो समेत रहेको जनकपुरको उक्त प्रतिष्ठानलाई आफ्नै कार्याकालमा राम्रो बनाउने लक्ष्यका साथ आफूले उक्त पदमा दाबी गरेको उनको भनाइ छ। 'जनकपुर मेरो जन्मथलो हो, यसलाई कर्म थलो बनाउँदा चुनौती छ । यो अस्पतालसँग मेरो भावानात्मक नाता छ । मेरो बुवा वर्षौं काम गर्नुभएको छ। त्यसैले यहीँ केही गरियो भने आफ्नै ठाउँ बन्छ । आफ्नै दाजुभाइको सेवा हुन्छ।'
संघीय सरकारको क्षेत्रीय अस्पतालबाट प्रदेश सरकारको प्रतिष्ठानमा रुपान्तरण प्रक्रिया जटिल भएको उनी बताउँछन्। त्यसैले आफूले मध्यमार्गी एप्रोच लिएको उनको भनाइ छ। 'अस्पतालइ शिक्षण अस्पतालमा विस्तारै रुपान्तरण गर्दै जाने हो। सरकारी अस्पतालको अस्तित्व कायम गर्दै व्यवस्थित गर्दै जाने हो।'
अहिले त्यहाँ स्नातक तहका चारवटा कार्यक्रम र पीजी तहका चारवटा कार्यक्रम सञ्चालनमा छन्। विस्तारै एमबीबीएस पनि सुरु गर्ने तयारी भएको उनले बताए। तर, संघीयता कार्यान्वयनमा रहेको अलमलको प्रभाव यो प्रतिष्ठानमा परेको छ। सरकारको नियमानुसार छात्रवृत्तिमा पढाउने गरिएको छ। संघीय अस्पतालले त्यसो गरेबापत सरकारले बजेट दिने गरेको छ। मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले सोही सरकारबाट पाउनुपर्ने हो तर त्यसो भइरहेको छैन।
डा शाह कारण केलाउँदै भन्छन्, 'हामीले संघ र प्रदेश सरकारमा कुरा राखेका छौं। प्रदेश सरकारले त्यही प्रदेशका विद्यार्थी मात्रै पढाउँदा अनुदान दिन सकिने बताइरहेको छ। युनिभर्सिटी भन्नाले युनिभर्सल कुरा हो । त्यसैले त्यसो गर्न मिल्दैन। हामीले कुरा राखेका छौं। केही समाधान निस्किएला।'