डा कमलप्रसाद थानी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत छन्। स्वास्थ्यखबरको टोलीले बाल रोग विशेषज्ञ डा थानीसँग प्रतिष्ठानमा उपचारका लागि आउने बालबालिकाहरुको समस्या, बालबालिकामा धेरै देखिने रोग, उपचार लगायतका विषयमा गरेको कुराकानी:
कर्णाली प्रदेशका बालबालिकामा बढी मात्रामा के–कस्ता स्वास्थ्य समस्या रहेको पाइन्छ?
कर्णाली प्रदेशका दुर्गम गाउँका बालबालिकामा कुपोषणको समस्या व्याप्त छ। यद्यपि कुपोषणका कारण अस्पताल आउँदा दैनिक काम छुट्ने तथा गुजारामा नै समस्या हुने भएकाले यहाँका अधिकांश बालबालिकाहरु कुपोषणको उपचारका अस्पतालसम्म आइपुग्ने स्थिति छैन। कुपोषण सँगै यहाँका धेरै बालबालिकाहरुमा निमोनिया, रुघाखोकी, झाडापखाला जस्ता समस्याहरु समेत बढी देखिने गरेको पाइन्छ। कतिपय क्षयरोग, विकास राम्रोसँग नहुने, सुगर, थाइरोइड तथा डाउन सिन्ड्रोमको समस्या भएका बालबालिकाहरु पनि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि आइपुग्छन्।
कुपोषणको समस्याको उपचारमा आएका बिरामीको अभिभावकलाई कसरी सम्झाउनुहुन्छ?
कुपोषणको समस्या लिएर उपचारमा आएका बालबालिकाका अभिभावकलाई हामीले खानामा पौष्टिक तत्व कसरी समावेश गर्ने भन्नेप्रारम्भिक जानकारी दिने गरेका छौं। प्रतिष्ठानमा रहेको न्युट्रिसन रिह्याबिटेसन क्लिनिकबाट उनीहरुका अभिभावकलाई हामीले परामर्श दिने पनि दिन्छौं। परामर्शपश्चात् पनि अभिभावकको व्यवहारमा परिवर्तन नआउँदा कतिपय बालबालिकाहरु कुपोषणको समस्या लिएरै बस्न बाध्य भएका छन्।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि बढी कहाँ कहाँबाट आउने गर्छन्?
यहाँ जुम्लाका अधिकांश, डोल्पाको सिमाना क्षेत्र, हुम्लाको तल्लो भेग, कालिकोट तथा बाजुराका बालबालिकाहरु उपचारका लागि आउने गर्छन्।उपचारका लागि आउने धेरै बालबालिकाहरुमा कुपोषणको समस्या पाइन्छ। त्यस्तै उपचारमा आउने धेरै बालबालिकाहरुमा मुटुको समस्या पनि देखिने गरेको छ। यहाँका गाउँमा बालबालिकाहरुमा जन्मजात रुपमा नै मुटुको समस्या देखिने तथा उपचार नै नगरी बस्ने परिपाटी रहेको पाइन्छ। हाल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको बाल रोग विभागमा हामी ३ जना कार्यरत्त रहेका छौं।
जन्मजात रुपमा मुटु रोग भएर आएका कस्ता कस्ता केसहरु रेफर गर्नुहुन्छ?
जन्मजात रुपमा मुटु रोग भएका शल्यक्रियाको आवश्यकता पर्ने बालबालिकाहरुलाई काठमाडौं रेफर गरिन्छ।
शल्यक्रियाको आवश्यकता पर्ने बालबालिकाहरुको उपचार कर्णाली प्रदेशमा सुर्खेत तथा नेपालगन्जमा पनि नहुने भएकोले काठमाडौं नै रेफर गर्नुपर्ने बाध्यता छ। जन्मजात रुपमा मुटुमा प्वाल हुने समस्या पिएसडी, जटिल प्रकारका मुटु रोग, जन्मजात रुपमा बच्चा निलो हुने समस्या लगायतको शल्यक्रियाका लागि हामीले काठमाडौं रेफर गर्ने गरेका छौं। खलंगा क्षेत्र वरिपरिबाट भने यहाँ सिजनल रोगका बिरामीहरु धेरै आउने गर्छन्। साथै मृगौलाको समस्या भएका बिरामीहरु पनि आउने गरेका छन्।
बालबालिकाको उपचारका क्रममा अभिभावहरुमा सचेतनाको स्तर कस्तो भएको पाउनुभएको छ?
पछिल्लो समय अभिभावहरुमा स्वास्थ्य चेतनाको स्तर बढेको पाइन्छ। उपचारका लागि काठमाडौं रेफर हुँदा भने उनीहरुलाई समस्या पर्ने गर्छ। सहर क्षेत्रका अभिभावकहरुलाई खासै समस्या नपरेपनि निम्न आय भएका ग्रामीण क्षेत्रका अभिभावकहरुलाई रेफरले ठूलो समस्या हुन्छ।
कर्णालीका दुर्गम ग्रामीण क्षेत्रका बालबालिकाहरुमा सरसफाईको अभावको कारण पेटसम्बन्धी समस्या आउने गरेको छ कि?
सरसफाईको अभावका कारण पेटको समस्या भएका बालबालिकाहरु भने खासै यहाँ आउने गरेका छैनन्। शहरका बालबालिकाको तुलनामा गाउँका बच्चाहरु धुलो माटोसँग बढी खेल्ने भएकोले पनि होला, उनीहरु पाचन शक्ति बलियो नै रहेको पाइन्छ। स्वास्थ्य शिविरमा जाँदा कर्णालीका धेरै बच्चाहरुमा कुपोषणको समस्या भएको पाइन्छ। प्रतिष्ठानमा बाल रोगको उपचारका लागि दैनिक ४० –५० जना बिरामी आउने गरेका छन्।
आकस्मिक उपचारका लागि भने बढी नवजात शिशुहरु आउँछन्। जसमध्ये स्वाँ–स्वाँ बढी भएका बिरामीहरु आउने गर्छन्। नेपालको अन्य प्रदेशको तुलनामा कर्णाली प्रदेशमा नवजात शिशु मृत्युदर बढी रहेको छ।