श्रीमान् स्वास्थ्यमन्त्रीज्यू,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय रामशाहपथ, काठमाडौं।
महोदय,
विषयः ध्यानाकर्षण सम्बन्धमा ।
प्रस्तुत विषयमा म निवेदक दिपेश आचार्य (क.सं.नं २३२९४२) ले मिति २०८०/०३/०९ गते स्वास्थ्य सेवा विभागमा बीपीएच अध्ययन गर्न बेतलबी अध्ययन बिदाको लागि कार्यालयको सिफारिस पत्र साथै आवश्यक सम्पूर्ण कागजातसहित निवेदन दर्ता गरेको थिएँ। स्वास्थ्य सेवा विभागबाट प्राप्त जानकारी अनुसार म लगायत ५ जना स्वास्थ्यकर्मीको टिप्पणी सहितको फायल २०८०/०४/१० गते स्वास्थ्य मन्त्रालय पठाइएकोमा हालसम्म मेरो बेतलबी अध्ययन बिदा स्वीकृत वा अस्वीकृत भए/नभएको कुनै पनि पत्र प्राप्त नभएको र बारम्बार ताकेता गर्दा फायल दराजबाट झिक्ने. टेबलमा राख्ने र एक हप्तापछि आउनुस काम भइहाल्छ भन्ने गरिएको छ। फेरि एक हप्तापछि पुनः जाँदा सोही प्रकृया दोहोऱ्याउने गतिविधिले म आजित भएर खुल्ला निवेदन लेख्न बाध्य भएको छु।
कार्यालयबाट समेत बिदा स्वीकृत/ अस्वीकृत भएको जानकारी उपलब्ध गराइदिन स्वास्थ्य सेवा विभाग र स्वास्थ्य मन्त्रालयमा पत्रचार गर्दा समेत सोको लिखित जवाफ आएको छैन।
माननीय मन्त्रीज्यू, काठमाडौं मेरो लागि पानी-पधेरो हैन र बारम्बार आउन-जान खर्च पनि छैन। नीति, नियम र कानुनमा भएको प्रावधान अनुसारका प्रकृया मैले पूरा गरेकै छु। एक वर्ष हुन लाग्दा पनि नियमानुसार मैले पाउने अध्ययन बिदा स्वीकृत हुन के कति कारणले रोकिएको हो? यसको समेत छानबिन गरी नियमानुसार पत्र उपलब्ध गराइदिन विनम्र अनुरोध छ।
निवेदक दिपेश आचार्य
हेल्थ असिष्टेन्ट
०००
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र त्यस अन्तर्गतको संयन्त्रले आफैं मातहतको कर्मचारीलाई दिनुपर्ने नियमानुसारको सुविधा र सूचना समेतमा अवरोध सिर्जना गरेर दिने पीडाको यो एउटा उदाहरण हो। सम्बन्धितको ध्यानाकर्षण गराउन प्राप्त निवेदनको नमुना दुरुस्तै प्रकाशित गरिएको छ । - सम्पादक