जनस्वास्थ्य सेवालाई गुणस्तरीय, सर्वसुलभ र व्यवस्थित बनाई आम जनमानसको स्वास्थ्य स्थितिलाई अधिकतम् स्वस्थ अवस्थामा पुर्याउने कार्यमा जनस्वास्थ्यकर्मी कटिबद्ध छौं। जनस्वास्थ्य पेशाकर्मीहरुको यही भावनालाई एकीकृत गर्दै पेशागत हकहितको संरक्षण र संवर्द्धन गर्ने उद्देश्यले २०४७ सालमा जन स्वास्थ्य संघ (नेपाल पब्लिक हेल्थ एशोसिएसन)को स्थापना भएको हो।
यो संगठित, स्वशासित र गैह्रराजनीतिक संस्था हो । नेपाल जनस्वास्थ्य पेशाको संरक्षण रसंवर्द्धन गर्ने, जनस्वास्थ्य व्यवसायीहरुको ज्ञानसिप र क्षमता विकास गर्ने, जनस्वास्थ्य पेशालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा मर्यादित र गतिशिल बनाउने कार्यमा लाग्ने भनिएको छ। सरकारी तथा गैहसरकारी क्षेत्रमा जनस्वास्थ्यकर्मीहरुको विज्ञताको भरपुर प्रयोगको लागि नेतृत्वदायी तथा समन्वयकारी भुमिका वहन गर्ने र जनस्वास्थ्य सेवा तथा शिक्षालाई समसामयिक बनाउने नेपाल जनस्वास्थ्य संघ (नेफा)का प्रमुख उदेश्यहरु हुन्।
जनस्वास्थ्य पेशाकर्मीहरुले आफ्नो संरक्षक संस्था मान्दै आइरहेको नेफा पछिल्लो समयमा चुनावका बेला मात्र जनस्वास्थ्यकर्मीहरु माझ पुगेको महशुस भइरहेको छ। सामाजिक सञ्जालमा पनि बढीनै प्रगतिशिल र परिवर्तनका नाराहरु आउने तर अपेक्षित र तात्विक उपलब्धि विमुख हुनाले आम जनस्वास्थ्य पेशाकर्मीहरुको बीचमा नेपाल जनस्वास्थ्यसंघ (नेफा) प्रति आकर्षण घट्दो देखिन्छ।
जनस्वास्थ्य सेवालाई व्यवस्थित र मर्यादित बनाउने सबै जनस्वास्थ्यकर्मीहरुको दायित्व हो तर यसको अगुवाई र नेतृत्वदायी भुमिका विभिन्न तहका कार्यसमितिको हुन जान्छ। तर निर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु पेशागत संस्थाहरुमा आउँदा आफ्नो व्यक्तिगत स्वार्थहरु भन्दा माथि उठ्न नसक्नु, साझा सवालहरुमा पनि कार्यसमिति भित्र नै मतभेद बढ्नु, सम्बन्धित मन्त्रालय तथा कार्यालयबाट हुने नीतिगत परिवर्तन तथा कार्यान्वयनका विषयहरुमा पनि सत्ता र प्रतिपक्षी जस्तो व्यवहार देखिनु, द्रुत पहल गर्नुपर्ने जस्ता विषयहरुमा पनि पहलकदमिको कमि हुनु, व्यवसायीक तथा पेशागत संस्थाहरुमा कायम गर्नु पर्ने स्वतन्त्रता, निष्पक्षता, तटस्थता जस्ताव्यवसायिक मूल्य मान्यताहरु प्रति खासै ध्यान नदिनु जस्ता गम्भिर विषयहरुलाई आत्मासाथ नगर्दा हाम्रो साझा अभिभावक संस्थाको यथेष्ट औचित्य र भएगरेका उपलब्धिमाथि पनि जनस्वास्थ्यकर्मीहरुले विश्वास नगरिदिने वातावरण पैदा भएको आभाष हुँदै गइरहेको छ।
उसो त नेपाल जनस्वास्थ्य संघ (नेफा)ले पेशागत हक हितको लागि काम नै नगरेको भन्ने होइन थोरै भएपनि जनस्वास्थ्य पेशाको संरक्षण तथा संवर्द्धनका लागि नेपाल जनस्वास्थ्य संघद्वारा भए गरेका तथा पहल गरेका मुख्य विषयहरुलाई यसरी नियाल्न सकिन्छ:
१. सदस्यतामा बृद्धि भएको,
२. विधान बमोजिम कार्य समिति चयन, अधिवेशन तथा साधारण सभा सम्पन्न भैरहेको.
३. जनस्वास्थ्य सम्मेलन
४. संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रदेश सरकार अन्तर्गतका मन्त्रालय र लोकसेवा आयोगहरुलाई जनस्वास्थ्यका विविध विषयहरुमा (ओएन्डएम सर्वे, दरबन्दी संरचना, स्थानीय तहमा जनस्वास्थ्य अधिकृतहरुको पद सिर्जना, जनस्वास्थ्यका रिक्त पदहरुमा लोकसेवा आयोग मार्फत पदपूर्ति) समय समयमा ध्यानाकर्षण,
५. भर्चुअल माध्यममार्फत जनस्वास्थ्यका विषयहरुको उजागर, छलफल तथा
बहस गरी सम्बन्धित निकायको ध्यानाकर्षण
६. अध्ययन अनुसन्धानको क्षेत्रमा भए-गरेका जनस्वास्थ्यका विषयवस्तुलाई जनस्वास्थ्यकर्मी माझ थप प्रकाश ।
यी र यस्ता विषयहरुमा नेपाल जनस्वास्थ्य संघले पहल नै नगरेको भन्न त मिल्दैन। तथापि देश संघीयतामा गएपश्चात् जसरी जनस्वास्थ्य क्षेत्रका नीतिगत व्यवस्थादेखि कार्यान्वयनका चरणहरुसम्म जनस्वास्थ्य विज्ञहरुको विज्ञताको प्रयोग गरी संघ, प्रदेश तथा स्थानीय तहमा भएका समग्र जनस्वास्थ्य सूचकमा सुधार हुन सक्थे, त्यसरी हुन नसकेको देखिन्छ। जनस्वास्थ्यका कार्यक्रमहरुलाई प्राथमिकतामा राखेर नीति तथा बजेट कार्यक्रम तय गरी सो बमोजिमका अपेक्षित उपलब्धीहरु हासिल गरिसक्नु पर्ने थियो। तर त्यो बाटो तय गर्न नसकेको अवस्था भने पक्कै हो। उल्लेखित विषय वस्तु हासिल गर्न हाल सम्मका कार्यसमितिको प्रमुख जिम्मेवारी निर्वाह गर्नुपर्ने थियो र आगमी निर्वाचित हुने कार्यसमितिको पनि दायित्व हुने नै छ।
अहिलेको सन्दर्भमा मिति २०८१ वैशाख ८ गते नेपाल जनस्वास्थ्य संघको नयाँ कार्यसमितिको लागि चुनाव मिति घोषणा गरिएको छ। नेतृत्व गर्न चाहानु हुने व्यक्तित्वहरु चुनावी माहोलको तयारीमा जुट्दै गरेको देखिन्छ । स्वस्थ चुनावी प्रतिष्पर्धाबाट एउटा सक्षम र जुझारू नेतृत्व चयन होस्, त्यसको लागि शुभकामना व्यक्त गर्दछु।
नेपालको जनस्वास्थ्य क्षेत्रमा गर्न सकिने र गर्नु पर्ने कामहरु अथाह छन् । राज्यको तवरबाट होस्, नागरिकको ठाउँबाट होस, संघ संगठनबाट होस् वा पेशाकर्मीहरुको ठाउँबाट, हाम्रो जस्तो विकासोन्मुख देशमा जनस्वास्थ्यको क्षेत्रमा काम गरि निरोगी नागरिकको पहिचान दिलाउन आ-आफ्नो ठाउँबाट जुट्नुपर्ने देखिन्छ। यसै सन्दर्भमा आगामी दिनहरुमा जनस्वास्थ्य क्षेत्रका पेशाकर्मीहरुले नेपाल जनस्वास्थ्य संघसँग गरेका अपेक्षा तथा प्राथमिकताका क्षेत्र यस प्रकार हुन सक्छन्:
१. संगठन स्थापना, विस्तार तथा सदस्यतामा वृद्धि
संघीयताको स्वरुप अनुरुप स्थानीय तहसम्म जनस्वास्थ्य संघको विस्तारर आजिवन सदस्यता उल्लेख्य रुपमा बढाउनु पर्ने, सदस्यतालाई व्यवस्थित गर्नतथा जनस्वास्थ्यकर्मीहरुको प्रोफाईल तयार पार्ने ।
२. जनस्वास्थ्य सम्बन्धी नीतिगत, विषयगत तथा कार्यगत सवालहरु
जनस्वास्थ्यसम्बन्धीनीतिगत, विषयगत तथा कार्यगत सवालहरुमानतिजाआउनेगरिवहसरपैरवीतथा द्रुत रेस्पोन्स हुने गरी कार्य गर्नुपर्ने (ओएन्डएम सर्वे, हरेक पालिका स्तरसम्म दरबन्दी संरचनाको सिर्जना र सो बमोजिमको माग, बेलाबखतमा भैपरि आउने पेशाकर्मीका समस्या)
३. संघको महत्व तथा अपरिहार्यता तथा जनस्वास्थ्य पेशाको विकास र विस्तार
बजारमा हरेक वर्ष नयाँ आउने जनस्वास्थ्यकर्मीहरु तथा जनस्वास्थ्यका विद्यार्थीमाझ नेपाल जनस्वास्थ्य संघको महत्व तथा अपरिहार्यताको विषयमा मसिनो गरि ज्ञान आदान-प्रदान गर्ने खासगरी इन्टर्नसीपलाई प्राथमिकताको साथ लागु गर्न पहल गर्ने, सबै विश्वविद्यालयका पाठ्यक्रममा संस्थाको विषयमा च्याप्टर, डिजिटल प्रचार प्रसार सामाग्री निर्माण र प्रयोग, पोलिसी ब्रीफका साथै समय समयमा भेला गोष्ठी, सम्मेलन, तालिम तथा सेमिनारको आयोजना गरी विचार विमर्श गर्ने ।
४. अध्ययन अनुसन्धानमा प्राथमिकता
नेपाल जनस्वास्थ्य संघले नेतृत्व लिनेगरी जनस्वास्थ्यकर्मी तथा विज्ञहरुको विज्ञता प्रयोगगरी जनस्वास्थ्यका सवालहरुमा विशेषगरी सडक सुरक्षा, अकुपेसनल सेफ्टी, जलवायु परिवर्तन, नसर्ने रोगहरु, शहरीकरण, मानसिक स्वास्थ्य, औषधिको दुरुपयोग लगायतका विषयहरुमा खोजपूर्ण अध्ययन अनुसन्धान गरी (प्रमाणका आधारमा) नीतिगत सुधारको आधार तय गर्नुपर्ने र जनस्वास्थ्य विद्याको क्षेत्र विस्तार गर्न नयाँ क्षेत्रको खोजि तथा पहिचानमा जोड दिने गर्नुपर्छ।
५. डिजिटल हेल्थको अधिकतम् प्रयोग
डिजिटल हेल्थको अधिकतम् प्रयोग गरी जनस्वास्थ्यका कार्यक्रमहरुमा सजिलो, छिटो र कम खर्चिलो स्वास्थ्य प्रणालीको स्थापनाको लागि आधार तयार पार्ने।
६. राष्ट्रिय तथा अन्तराष्ट्रिय निकायसँगको सहकार्य
जनस्वास्थ्य क्षेत्रमा कार्यरत राष्ट्रिय तथा अन्तराष्ट्रिय निकायसँगको सहकार्य कायम गरी पेशा एवं व्यवसायको हकहितको लागि उपलब्ध स्रोत साधन र अनुभवको आदान प्रदान गर्ने साथै सरकारी तथा गैहसरकारी क्षेत्रमा जनस्वास्थ्यकर्मीको उपस्थितिलाई सुनुश्चित गर्ने।
७. जनस्वास्थ्य परिषद्को स्थापना
समग्र जनस्वास्थ्य विषयको गुणस्तर कायम गर्न र बढ्दो जनस्वास्थ्य संकायको दायराला ईव्यवस्थित गर्न छुट्टै जनस्वास्थ्य परिषद्को स्थापना गर्न नतिजा आउने गरि पहल गर्नुपर्ने।
८. जनस्वास्थ्य सम्मेलन तथा जनस्वास्थ्य संघको स्थापना दिवस
जनस्वास्थ्य सम्मेलनको निरन्तरता र नेपाल जनस्वास्थ्य संघको स्थापना दिन मंसिर २३ गतेलाई 'राष्ट्रिय जनस्वास्थ्य दिवसको' रुपमा मनाउने ।
अन्त्यमा, जनस्वास्थ्य सेवालाई गुणस्तरीय रसर्वसुलभ बनाई नेपाली जनताको स्वास्थ्य स्थितिलाई अधिकतम् स्वस्थ अवस्थामा पुर्याउन र पेशागत हकहितको संरक्षण र संवर्द्धन गरी जनस्वास्थ्य पेशाकर्मीहरु रोजगारकै लागि विदेशिनु पर्ने अवस्थाको अन्त्य गरी स्वदेशमै जनस्वास्थ्यका विभिन्न निकायहरुमा सेवा गर्ने वातावरण मिलोस् र विशुद्ध जनस्वास्थ्य रिफर्म अभियानको नेतृत्व नेपाल जनस्वास्थ्य संघले लिनेछ भन्नेमा पूर्ण विश्वस्त छु।
(लेखक नेपाल जनस्वास्थ्य संघका आजिवन सदस्य हुन्।)