हिमालहरूको बिच अवस्थित भूपरिवेष्ठित देश नेपाल आफ्नो मनमोहक परिदृश्य र विविध संस्कृतिका लागि परिचित छ। रहस्यमय पहाडहरू र पहाडमुनि रहेको सबैभन्दा सामान्य तर अत्यधिक उपेक्षित स्वास्थ्य समस्या: लम्बरस्पन्डाइलोसिस रहेको छ। यस सम्बन्धमा राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङका डा सन्देश लम्सालसँग लम्बरस्पन्डाइलोसिस, त्यसको गम्भीरता, उपचार, चुनौती लगायतका विषयमा गरिएको कुराकानीः
लम्बर स्पन्डाइलोसिस भनेको के हो? यसको पूर्वनिर्धारित कारकहरू के के हुन्?
लम्बर स्पन्डाइलोसिस भनेको तल्लो ढाडको इन्टर-भेर्टेब्रल डिस्कहरूमा बढ्दो उमेरसंगसँगै डिजेनेरेटिभ अथवा ओस्टियोआर्थराइटिक परिवर्तनहरूका कारणले हुने तल्लो ढाडको दुखाइ हो। यसको दुखाइ सामान्यतया बिहान तीव्र हुन्छ र बढ्दोसमय संगै कम हुन्छ। हाम्रो निष्क्रिय जीवनशैली, मेरुदण्डको स्वास्थ्यको बारेमा ज्ञान र चेतनाको कमी, लामो समयसम्म एकै ठाउॅमा बस्ने बानी, खराब आसन,कडा शारीरिक परिश्रम तथा कमजोर आर्थिक अवस्थाका कारणले यो रोगको प्रकोप बढिरहेको छ। बढ्दो उमेरसँगै, इन्टर भर्टिब्रल डिस्कहरू कडा हॅुदै जान्छन् जसले गर्दा तिनीहरूमा भॅाचिने सम्भावना बढ्दै जान्छ। यी कमजोर हड्डीहरूमा बोन स्पर्स बढ्न थाल्छन् जसले स्नायुका जराहरू वा मेरुदण्डको कर्डमा दवाव सिर्जना गर्छन्। यसको कारणले नितम्ब तथा खुट्टाहरूमा शुटिंग पेन, रेडिकुलोप्याथी, कमजोरी, सुन्नता वा झनझनाहट महसुस हुन्छ।
यो आफैमा कत्तिको गम्भीर समस्या हो? साधारणतया कति प्रतिशत मानिसहरू लम्बरस्पन्डाइलोसिसबाट पीडित छन्?
विश्वव्यापी रूपमा लगभग ६०-८५ प्रतिशत वयस्कहरू लम्बर स्पन्डाइलोसिसबाट पीडित छन्। नेपालमा तल्लो ढाड दुख्ने समस्या ५२प्रतिशत देखि ९१ प्रतिशत मानिसमा रहेको पाइएको छ। जबकि भारतमा, जनसंख्या समूह र अनुसन्धानको विषयको आधारमा, यो ६.२ प्रतिशतदेखि ९२ प्रतिशत सम्म छ। राप्ती प्रादेशिक अस्पतालको अर्थोपेडिक्स विभागमा गरिएको सर्वेक्षण अनुसार कुल बिरामीमध्ये ६० प्रतिशत देखि ७० प्रतिशत बिरामीले तल्लो ढाड दुख्ने गुनासो गरेको पाइएको छ, जसमध्ये ६५ प्रतिशत महिला र ३५ प्रतिशत पुरुष रहेका थिए। जबकि, ४५-६५ वर्ष उमेरको समूह यो अवस्थाको मुख्य लक्षित वर्ग थियो जसका मुख्य कारणहरू घरायसी कामकाज,खेतीपाती, बढ्दो उमेर, खराब आसन, भारी वजन उठाउनु पर्ने काम आदि थियो। यस सर्वेक्षणको परिणामले लम्बर स्पन्डाइलोसिसको गम्भीरता र यसले जनस्वास्थ्यमा पार्ने असरलाई उजागर गर्दछ।
लम्बरस्पन्डाइलोसिसको निदानका लागि कुनकुन विधिहरू प्रयोग गरिन्छ?ढाडको तल्लो भागको दुखाइ लम्बरस्पन्डाइलोसिसको कारणले मात्र हुन्छ वा अन्य स्वास्थ्य समस्याहरूमा पनि देखिन्छ?
यसको निदानका लागि दुखाइको विशेषताहरु तथा क्लिनिकल हिस्ट्रिको अध्ययन,विभिन्न शारीरिक परीक्षण विधिहरू र एक्स-रे, एमआरआई, माइलोग्राम, र लम्बोसेक्रल स्पाइनको सीटी स्क्यान जस्ता इमेजिङ परीक्षणहरू गर्न सकिन्छ। मिर्गौलाको पत्थरीको कारणले पनि ढाड दुख्ने समस्या हुन सक्दछ जसलाई पेटको भिडियो एक्स-रे को मदतले लम्बर स्पन्डाइलोसिसको दुखाइबाट छुट्याउन सकिन्छ। जबकि, सीरम यूरिक एसिड स्तर तथा रुमेटोइड आर्थ्राइटिस (आरए) फ्याक्टरको परीक्षणले हामीलाई स्पाइनल गाउटबाट लम्बर स्पन्डाइलोसिसको दुखाइ छुट्याउन मद्दत गर्दछ।
लम्बर स्पन्डाइलोसिसको उपचारमा के कस्ता विधिहरु अपनाइन्छ साथै यसको उपचार गर्दा कस्ता चुनौतीहरूको सामना गर्नु पर्दछ?
लम्बर स्पन्डाइलोसिसको लागि फिजिकल थेरापी, फार्माकोथेरापी, सर्जरी, आदि जस्ता उपचार विधिहरू अपनाइन्छन्। विशेष गरी नेपालको ग्रामीण क्षेत्रमा दक्ष स्वास्थ्यकर्मीको अभाव तथा न्यून आर्थिक अवस्थाका कारण त्यस्ता विशेषज्ञ स्वास्थ्य सेवाहरूमा आम जनताको पहुँच चुनौतीपूर्ण बनेको छ। लम्बर स्पन्डाइलोसिसको उपचारमा निम्न प्रविधिहरूको प्रयोग भएको पाइन्छ :
शारीरिक थेरापीः यसमा ट्रान्स इलेक्ट्रिकल नर्भ स्टिमुलेशन, लम्बर सपोर्ट र ट्र्याक्सन, स्पाइन म्यानिपुलेशन, र आइस कम्प्रेसन वा हट फोमेन्टेशनहरूको साथमा मसाज समावेश छ।
फार्माकोथेरापीः यसमा विभिन्न औषधिहरू तथा इंजेक्शन थेरापि समावेश छन् जसमा दुखाइ व्यवस्थापन गर्न मद्दत गर्ने औषधिहरू NSAIDs र Opioids, मांसपेशी आराम गर्न मद्दत गर्ने औषधिहरू, Anti-depressants, Epidural Steroid Injection, Facet Injection, Sacroiliac Joint Injection जस्ता इंजेक्शनहरू समावेश छन्।
डिस्कोजेनिक दुखाइको लागि इन्ट्राडिस्कल नन् अपरेटिभ थेरापीहरू जस्तै इन्ट्राडिस्कल इलेक्ट्रोथर्मल थेरापी, र रेडियोफ्रिक्वेन्सी पोस्टरियर एन्युलोप्लास्टी समावेश छन् जसमा इन्टरभर्टिब्रल डिस्कमा इलेक्ट्रोड राखिन्छ।
सर्जिकल इन्टरभेन्शन विधिमा स्पाइनल फ्युजन, फोरामिनोटोमी, ल्यामिनेक्टोमी, डिस्केक्टोमी, डिस्क रिप्लेसमेन्ट तथा इन्टरलामिनर इम्प्लान्टहरू समावेश छन्।
अन्तमा, तल्लो ढाड दुखाइबाट बच्न जनतालाई के सुझाव दिन चाहनुहुन्छ?
बढ्दो उमेर र समयसंगै मेरुदण्डमा आउने डिजेनेरेटिभ तथा ओस्टियोआर्थराइटिक परिवर्तनहरूलाई रोक्न खासै केही गर्न सकिदैन, तर आफ्नो शरीरको आसनको ख्याल राख्न सुझाव दिन चाहन्छु। आफ्नो पीठमा गर्हौ भारी बोक्न वा निरन्तर झुक्नु पर्ने कामहरू नगर्न अनुरोध छ। अफिसमा काम गर्दा अथवा लामो समयसम्म कम्प्युटर/टि.भीको अगाडि बस्दा लम्बर बेल्ट प्रयोगले ढाडलाई आराम प्रदान गर्दछ। रोगको उपचार गर्नुभन्दा बेलैमा रोकथाम गर्नु उचित हुन्छ। त्यसैले आफ्नो दैनिक जीवन निर्वाह गर्दा समय समयमा मेरूदण्डलाई आराम प्रदान गर्न बिर्सिनु हॅुदैन।