काठमाडौं- मुख स्वास्थ्य समग्र स्वास्थ्य प्रणाली लागि नै महत्वपूर्ण मानिन्छ। तर, मुख तथा दाँत सम्बन्धी रोग लाग्न नदिन आवश्यक नीति निर्माण नभएको र भएका नीतिको प्रभावकारी कार्यान्वयन नभएको सरोकारवालाहरुले बताएका छन्।
सरकारले मुख स्वास्थ्यलाई प्राथमिकतामा राख्दै सन् २००४ मा यससम्बन्धी नीति ल्याएको थियो। सन् २०१४ मा संशोधन गरेको हो। यद्यपि कार्यान्वयन पक्ष फितलो हुँदा दन्त स्वास्थ्य सरकारको प्राथमिकता नपरेको भान भइरहेको कान्तिपुर डेन्टल कलेज एन्ड शिक्षण अस्पताल अध्यक्ष डा बुद्विमान श्रेष्ठ बताउँछन्।
'लामो समयदेखि मुख स्वास्थ्यको क्षेत्रमा कार्यरत हुँदा पहिलेको तुलनामा यसबारे केही सचेतना भने बढेको देखिन्छ, तरपनि नेपालीहरुले मुख तथा दन्त स्वास्थ्यको स्याहारमा बेवास्ता गरेकै पाइन्छ,' उनले भने।
सरकारलाई बनाइएको नीतिमा कार्यान्वयनको पक्षमा ध्यान दिनका लागि उनको सुझाव छ। दन्त स्वास्थ्य सम्बन्धि सचेतनामा पछिल्लो समय निजी तथा सरकारी स्तरबाट केही प्रयासहरु भए नीति कार्यान्वयन फित्तलो हुँदा ती प्रयास छायामा परेका छन्।
विश्व स्वास्थ्य संगठनका अनुसार मुख तथा दन्त उपचार सबैभन्दा महँगो उपचार मध्येको चौथो नम्बरमा पर्छ। यद्यपि विश्वको आधा भन्दा बढी जनसंख्यामा कुनै न कुनै प्रकारको दाँत तथा मुख स्वास्थ्य सम्बन्धी समस्या हुने गरेको तथ्यांक छ।
दन्त उपचारमा प्रयोगमा हुने स्वास्थ्य सामग्री विदेशबाट आयात गर्नुपर्दा नेपालमा पनि अन्य उपचारका तुलनामा दन्त उपचार महँगोे पर्ने गर्छ।
यसकारण महँगो छ दन्त उपचार
प्रत्येक ६/६ महिनामा मुख तथा दन्त उपचार गराउने परिपाटीको विकास गर्न सकेमा महँगोमा दन्त उपचार गर्नुपर्ने बाध्यता हटाउन सकिने उनले बताएका छन्। रोग जटिल अवस्थामा पुगेपछि मात्रै उपचारमा आउनुे हुनाले उपचार महंगो भएको डा श्रेष्ठको भनाई छ।
जटिल अवस्थामा उपचारमा आइपुग्दा दन्त उपचार महँगो हुनुका कारण स्वास्थ्य बिमाले दिने सेवा अन्तर्गत यसलाई समेटन नसकिएको उनी बताउँछन्। नेपालमा मात्रै नभई विश्वमा नै दन्त उपचारलाई कस्मेटिक क्याटागोरीमा राखिएको उनले बताए। प्रविधि र उपकरणलगायत सवै आयात गर्नुपर्ने भएकाले आमजनलाई महंगो महशुस भइरहेको उनले बताए।
'व्यक्ति आफैं पनि मुख तथा दन्त स्वास्थ्यमा सचेत हुनुपर्छ,' उनले भने, 'दाँत तथा मुख स्वास्थ्यको स्याहारका लागि बिहान र बेलुका खानापछि फ्लोराइडयुक्त मन्जनले दाँत ब्रस गर्न हामीले भनिरहेका हुन्छौं।'
प्रत्येक ६/६ महिनामा मुख तथा दन्त स्वास्थ्य परीक्षण गराउने तथा मुख स्वास्थ्यलाई ख्याल गर्न सकेमा मधुमेह, मुटु रोग तथा धेरै प्रकारका जटिल स्वास्थ्य समस्याहरुबाट जोगिन सकिने उनको भनाइ छ।
अधिकांश दन्त चिकित्सक सहर केन्द्रित
तथ्यांक अनुसार नेपालमा करिब ५ हजार दन्त चिकित्सकहरु तथा करिब ४ हजारको हाराहारीमा डेन्टल हाइजेनिष्टहरु रहेका छन्। त्यसमा ८० प्रतिशत शहर केन्द्रित तथा २० प्रतिशत विदेशमा रहेको अवस्था छ। यदि ८० लाई सय मान्दा समेत ८० प्रतिशत शहर केन्द्रित रहेको छन्। अधिंकाश दुरदराजका गाउँमा दन्त स्वास्थ्यको पहुँच नरहेको तथ्यांकले देखाउँछ।
राज्यले नगर तथा जिल्ला अस्पतालमा दन्त चिकित्सकको दरबन्दी खडा गरेर गाउँ गाउँमा दन्त उपचार सेवालाई विस्तार गर्नुपर्ने हुन्छ। बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज एन्ड शिक्षण अस्पतालले ६ महिनामा करिब २४ हजार १ सय ५४ जना स्कुले बिद्यार्थीहरुको दन्त परीक्षण गरेको थियो। जसमा करिब ७३ प्रतिशत बालबालिकामा दाँत किराले खाने समस्या फेला परेको थियो।
त्यस्तै अस्पतालले विभिन्न समयमा गरेको सामुदायिक स्वास्थ्य शिविरबाट करिब ४५ प्रतिशत वयस्कहरुमामा गिँजा सम्बन्धि कुनै पनि समस्या हुने गरेको फेला परेको थियो। नेपालमा बढी मात्रामा दाँत किराले खाने तथा गिजासम्बन्धी समस्या रहेको उक्त तथ्यांकले पुष्टि गर्छ। शहरी क्षेत्रमा दाँत तथा मुख स्वास्थ्य सम्बन्धि सम्पूर्ण उपचार उपलब्ध रहेको अवस्था छ।
अस्पताल आइपुग्ने अधिकांशमा दाँतमा किरा लाग्ने समस्या
दन्त चिकित्सक डा सुजिता श्रेष्ठका अनुसार अधिकांश बिरामीहरु दाँतमा किरा लाग्ने समस्याका कारण अस्पताल आइपुग्ने गर्छन्। दाँतको समस्या नशासम्म पुगेको अवस्थामा एकदमै दुख्ने कारण अधिकांश बिरामीहरु बिरामीहरु अस्पताल आइपुग्ने उनी बताउँछिन्।
मुख स्वास्थ्यका बारेमा जानकारी दिँदै कान्तिपुर डेन्टल कलेज एन्ड शिक्षण अस्पतालचिकत्सक
उपचारका लागि एक धेरै पटकसम्म फ्लोअप गर्नुपर्ने, जनचेतनाको अभाव, सरकारी अस्पतालहरुमा दन्त चिकित्सकहरुको दरबन्दी कमी, स्वास्थ्य बीमामा दन्त उपचार समावेश नहुनु जस्ता कारणले अधिकांश बिरामीहरुको पहुँचमा दाँत तथा मुख स्वास्थ्य उपचार पुग्न नसकेको डा श्रेष्ठको तर्क छ।
चिकित्सहरुका अनुसार दन्त रोग जटिल अवस्थामा पुग्दा डायबिटिज, मुटु रोग जस्ता रोगहरुको जोखिम बढ्न सक्छन्। दन्त रोगको समस्या भएकी महिला गर्भवती हुँदा छिटो तथा कम तौलको बच्चा जन्मने जोखिम हुने अनुसन्धानबाट पत्ता लागेको छ।