काठमाडौं- बालबालिकाहरु मात्रै होइन ठुलै मान्छेले पनि कटन क्यान्डी रमाई रमाई खाएको देखिन्छ। बालबच्चामाझ बढी नै लोकप्रिय यो मिठाईमा क्यान्सर उत्पन्न गराउने केमिकल भेटिएको छ।
चीनीबाट तयार पारिने यो मिठाईमा भारतका खाद्य सुरक्षा अधिकारीहरूले जाँचको क्रममा रोडोमाइन–बी केमिकल फेला पारेका छन्। यो केमिकल खासगरी कपडा उद्योगमा प्रयोग गरिन्छ। शरीरभित्र गएपछि यो क्यान्सर उत्पन्न गर्ने कारक बन्न सक्छ।
भारतको पुडुचेरी र तमिल नाडु सरकारले यसमाथि प्रतिबन्ध लगाएको छ। प्रतिबन्धको उद्देश्य क्यान्डी बनाउने, क्रेता र उपभोगकर्ताबिच यसमा रहेको हानिकारक केमिकलबारे जागरूकता बढाउनु भएको तमिलनाडुका स्वास्थ्य मन्त्री एम सुब्रमण्यमले भने। खान मिठो लाग्ने भए पनि यो स्वास्थ्यको लागि अति नै खतरनाक भएको पनि उनले बताए। सबैतिर सतर्कता र सचेतना फैलिए पनि बिना रङ्गको कटन क्यान्डी बेचिने उनले बताए।
कटन क्यान्डी खाँदा हुन सक्ने क्षति
स्वास्थ्य अधिकारीहरूका अनुसार रोडोमाइन–बी एक प्रकारको डाई हो। यसको प्रयोग छाला चम्काउनदेखि कागज छाप्न समेत प्रयोग हुन्छ। यो स्वास्थ्यका लागि अति नै हानिकारक हुन्छ। शरीरमा गयो भने यसले पेट फुल्ने, जिउ चिलाउने, सास फेर्नमा समस्या आदि गराउँछ। लामो समयसम्म यसको सेवन गर्दा किड्नी, लिभर र आन्द्रामा जमेर किड्नी र लिभर फेल हुने र आन्द्राको क्यान्सर गराउने स्वास्थ्य अधिकारीहरू बताउँछन्।