२४ जेठ २०८०। जिवजिवे ग्रामीण अस्पतालमा कार्यरत म स्याप्रुवेशी, रसुवामा ३ दिने उच्च उचाइ रोग (लेक लाग्ने) व्यवस्थापन प्रशिक्षणको प्रशिक्षकको रूपमा बिहानको ७ बजे बा२ब १७९७ सरकारी मोटरसाइकलमा गन्तव्यतिर अगाडि बढेँ।
राज्यले चिकित्सकलाई धन्न २०-२५ वर्ष पुरानै भए पनि मोटरसाइकलको सुविधा दिएको रहेछ। ठाउँठाउँमा बाटो नराम्रो र पुरानो मोटरसाइकलले दु:ख होला भन्ने मनमा डर थियो। प्राय: यात्रा गर्दा साथीसँग हिँड्ने बानी भएको म आज एक्लै आफ्नै जन्मथलो रसुवाको डाँडाकाँडा, भिरपाखा, चराचुरुङ्गी, झरना, हिमाल हेर्दै अगाडि बढ्दा मन फुरुङ्ग थियो।
जिवजिवेबाट थालेको यात्राका क्रममा कालिकाघुम्ती, स्याउबारी, राम्चे हुँदै ठाडे पुग्दा ५५-६० वर्ष जतिका एक जना सडक विभागका कर्मचारी भेटेँ। मोटरसाइकल झ्याप्पै रोकेर मेमे (हजुर बुवा) हजुरलाई कार्यस्थल जान कति हिँड्नु पर्छ भनेर सोधेँ। मेमे मुस्कुराउँदै १ घन्टा लाग्छ भन्नुभयो। मैले सँगै जाउँ भनेँ। मेमेले हुन्छ जाउँ न त सर भनेर ठाडेदेखि सोलेसम्म आइयो।
मासिक १५ हजार ज्यालादारी कामले घरखर्च चलाउन गाह्रो भएको गुनासो उहाँले गर्नुभयो। मेमेलाई कार्यस्थमा छोडेर अगाडि बढेँ। धुन्चे नजिकै एकजना ७-८ वर्षकी बालिकाले हात हल्लाउँदै लैजान अनुरोध गरिन्। मोटरसाइकल रोकेर कहाँसम्म जानुहुन्छ भनेर सोधेँ। उनले धुन्चे स्कुलसम्म पुर्याइदिनुस न भनिन्।
ममी विदेशमा हुनुहुन्छ, घरमा बाबा र भाइ मात्र हुनुहुन्छ। घरको काम सकेर आउँदा ढिलो भयो तर मोटरसाइकलमा जाँदा समयमै पुगिन्छ भनेर खुशी भइन्। धुन्चेको स्वागत गेट पुगेपछि उनले रोकिदिनुस् भनिन्। मैले मोटरसाइकल रोकेर बाइबाइ गर्दै अगाडि बढेँ।
बिहानको ९ बज्नै लागिसकेको थियो। बिस्तारै धुन्चे हुँदै स्याप्रुवेशीतिर लागेँ। भारखु नपुग्दै एक जना ६०-६५ वर्षका मेमे दालमोठ चिउरा खाँदै हिँड्नु भएको देखेँ। मोटरसाइकल रोकेर मेमे हजुर कतासम्म जानुहुन्छ भनेँ। छोराको नागरिकता बनाउन आएको, कागजपत्र नमिलेकोले हिजो साँझ काम सकेर आज घर गत्लाङ जान लागेको सर भन्नुभयो। जाउँ सँगै भनेर हामी भारखुदेखि स्याप्रुवेशीसम्म आयौँ। मेमे मुस्कुराउँदै धन्यवाद भन्दै पैदल गत्लाङतिर लाग्नुभयो।
३ दिने उच्च उचाइ रोग ( लेक लाग्ने ) व्यवस्थापन प्रशिक्षण सकिएपछि जेठ २६ गते दिउँसो साढे दुईतिर कर्मथलो जिवजिवे लागेँ। स्याप्रुवेशी पुलपछि बाह्रघुम्तीमा ३०-३५ वर्षकी दिदीले छोरा काखमा लिँदै छोरी डोराउँदै हात हल्लाउँदै लैजान अनुरोध गरिन्। मोटरसाइकल रोकेर कहाँसम्म जानुहुन्छ भनेर सोध्छे, उनीले सर धुन्चे माइती जान लागेकी भनिन्। हुन्छ जाउँ भनेर हामी चार जना विस्तारै आयौँ।
बाटो लामो भएकोले मैले किन यति अबेर माइती जान लाग्नुभएको सोधे। खै किन हो आफ्नै भाइ सम्झेर बुढाले रक्सी खाएर कुट्यो, दु:ख दियो, भाग्य नै खोटो रहेछ सर, २-४ दिन माइती बस्छु होला भनिन्। म अल्मलिएँ। पिर नलिनुहोस् दिदी, ठीक हुन्छ भनेँ।
कुराकानीमै धुन्चे आइपुगियो। उहाँहरू धुन्चेमै ओर्लिनुभयो। दिदीले धन्यवाद भन्नुभयो, म अगाडि बढेँ।
साँझको ५ बज्नै लागेको थियो, धुन्चे हुँदै सोले, ठाडे, ग्राङ, राम्चे आइपुगेँ, ७०-७५ वर्षकी आमा सानो दाउराको भारी बोकेर हिँड्दै हुनुहुन्थ्यो। मैले मोटरसाइकल रोकेर कहाँसम्म जानुहुन्छ भनेर सोधेँ। उनले नेपाली कम बोल्ने भएर तामाङ भाषामा बोल्नुभयो। मलाई तामाङ भाषा अलिअलि मात्रै आउँथ्यो। नजिकै एकजना दिदीले दोभाषेको भूमिका निर्वाह गरिदिनुभयो।
आमा र म राम्चेदेखि स्याउबारीसम्म सँगै आयौँ। लगभग साँझको ६ बजे जिवजिवे आइपुगेँ। डाक्टरी पेसा भएर झनै आज उहाँहरूको यात्रा केही सहज बनाउँदा र पिर बुझ्न पाउँदा मन फुरुङ्ग थियो।
जुनताकै करले किनिएको मोटरसाइकलमा जनताकै सेवा गर्दा, जनताको ऋण अलिकति तिरेको जस्तो महसुस गरेँ। हिमाली जिल्ला रसुवामा छोटो दूरीका सवारी साधन सञ्चालन नहुँदा बिहान बेलुका यात्रा गर्न कठिनाइ छ। आवश्यकता अनुसार सवारी साधनको सुविधा नभएको ठाउँमा एकअर्कालाई सहयोग गरौँ।