धरान- बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षक तथा कर्मचारीको आन्दोलनले अस्पतालको स्वास्थ्य सेवा र शैक्षिक कार्यक्रम प्रभावित बनेपछि राजनीतिक दलले हस्तक्षेप गर्ने चेतावनी दिएका छन्।
धरानमा सक्रिय प्रमुख पाँच राजनीतिक दलले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्र प्रभावित नपार्न चेतावनी दिएका हुन्। सोमबार संयुक्त रुपमा वक्तव्य जारी गरेर नेपाली काँग्रेस धरान नगर सभापति श्याम पोख्रेल, नेकपा एमाले नगर अध्यक्ष हर्कजङ एभेङ, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष मनोज भट्टराई, जनता समाजवादी पार्टीका नगर अध्यक्ष ताजुब लिम्बू र एकीकृत समाजवादी पार्टीका नगर अध्यक्ष रेवती रमण राईले स्वास्थ्य र शिक्षा प्रभावित भए प्रतिष्ठान प्रशासनमा हस्तक्षेप गर्न बाध्य हुने चेतावनी दिएका छन्।
बढुवा प्रक्रिया अघि बढाउन माग गर्दै भएको आन्दोलनका कारण आइतबार देखि प्रतिष्ठानको आकस्मिक कक्ष, डायलाइसिस सेवा बाहेकका ओपीडि तथा बिल काउन्टर बन्द छन्। आइतबारबाटै आन्दोलनकारीहरु प्रतिष्ठानका कायमकुमायम उपकुलपति प्रा.डा.प्रल्हाद कार्कीको कार्यकक्ष अगाडि धर्नामा बसेका छन्। आन्दोलनका कारण बिरामीहरु मारमा परेका छन्।
प्रतिष्ठानका कर्मचारीले यसअघि पनि गत असोज र कार्तिकमा आन्दोलन गरेका थिए। करिब एक महिनाको आन्दोलन पछि गत कार्तिक २० गते भएको वार्तामा प्रतिष्ठान प्रशासन र आन्दोलनरत पक्षबीच विधि प्रक्रिया पुरा गरेर पुस २ देखि १५ गतेसम्म बढुवाका लागि अन्तरवार्ता अघि बढाइने सहमति भएको थियो।
सहमती अनुसार अन्तरवार्ता प्रक्रिया सुरु नभएपछि उनीहरु पुस २४ बाट पुनः आन्दोलनमा उत्रिएका हुन्। प्रतिष्ठान स्थित शिक्षक कल्याण समाज र कर्मचारी कल्याण समाजले पुस २६ गते विज्ञप्ती जारी गरेर पुस २८ सम्म प्रक्रिया अघि नबढाएर पुस २९ बाट प्रतिष्ठानका सेवा ठप्प पार्ने चेतावनी दिएका थिए।
पुस २५ गते प्रतिष्ठानका कार्यकारी समिति (कास)को बैठक बोलाइएपनि कामु उपकुलपति प्रा.डा.कार्की अनुपस्थित भएपछि बैठक बस्न सकेन। त्यसपछि आन्दोलनरत कर्मचारी कल्याण समाज र शिक्षक कल्याण समाजले कामु उपकुलपति प्रा.डा.कार्कीलाई प्रतिष्ठानमा प्रवेश गर्न नदिने भन्दै आन्दोलन चर्काएका छन्।
रजिष्ट्रारको अख्तियारी फिर्ता
प्रतिष्ठानका कामु उपकुलपति प्राडा प्रल्हाद कार्कीले प्रतिष्ठानका रजिष्ट्रार प्रा.डा.सुर्यप्रसाद संग्रौलाको अख्तियारी फिर्ता गरेका छन्।
आइतबार रजिष्ट्रार संग्रौलालाई पत्र पठाउँदै कामु उपकुलपति कार्कीले गत असार १७ गते आफू कामु उपकुलपति नियुक्ति भएपछि दिइएको सम्पूर्ण आर्थिक एवं प्रशासनिक क्रियाकलाप र मुद्धा मामिला सम्बन्धी कार्यहरु समेतको अख्तियारी फिर्ता लिइएको उल्लेख गरेका छन्। कामु उपकुलपति र रजिष्ट्रारको व्यक्तिगत इगोका कारण पनि प्रतिष्ठानको समस्या झन चर्किरहेको अस्पतालका कर्मचारी बताउँछन्।