काठमाडौं- प्राडा दिनेश बाँस्तोलाको पुस्तक ‘सुहागरात : पहिलो यौनदेखि बुढेसकालसम्म’ बजारमा आएको छ। विभिन्न पत्रपत्रिकामा प्रकाशन भएका सङ्कलित लेखहरूको सँगालोका रूपमा पुस्तक पाठकसामु ल्याइएको लेखक डा बाँस्तोलाले जानकारी दिए।
डा बाँस्तोलाले लेखेका लेख सङ्कलन गरी पुस्तक तयार गरिएको यस पुस्तकका प्रकाशक तथा सम्पादक उपेन्द्र खड्काले बताए। विभिन्न पत्रिकामा प्रकाशित छरिएर रहेका लेख एउटै पुस्तकमा पढ्न मिलोस् भन्ने उद्देश्यले नै लेख सङ्कलन गरी पुस्तकको रूपमा तयार गरिएको लेखकले बताएका छन्।
डा बाँस्तालाले सृष्टि चक्रका लागि होस् वा व्यक्ति शारीरिक तथा मानसिक स्वास्थ्य, सामाजिक र यौनानन्दका लागि नै किन नहोस् स्वस्थ यौन सम्बन्ध आवश्यक हुने विषय पुस्तकमा समेट्ने प्रयास गरेको बताएका छन्।
यौनको सवालमा चिकित्सकीय दृष्टिकोण तथा यथार्थ पुस्तकमार्फत प्रस्तुत छ। व्यक्तिगत, शारीरिक तथा मानसिक, पारिवारिक, सामाजिक, सांस्कारिक र आर्थिक लगायतका दृष्टिकोणमा यौन सम्बन्धी भ्रम र यथार्थलाई केलाएर पुस्तकमा समेटिएको छ।
यौनजन्य कुण्ठा तथा यौनजन्य समस्या र यौन अनुशासनहीनताका कारणले पर्ने प्रभाव लगायतका विषय पुस्तकमा छन्। डा बाँस्तोलाको यो पहिलो पुस्तक हो।