काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालगन्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति दुर्घटनामा परी १२ जनाको मृत्यु भएकोमा दु:ख प्रकट गरेका छन्।
साथै प्रचण्डले दुर्घटनामा मृत्यु हुने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन्।
उनले उद्धार र उपचारमा प्रभावकारी भूमिका निर्वाह गर्न नेपाल सरकारका सम्बन्धित निकायहरूलाई निर्देशनसमेत दिएका छन्।
दर्घटनामा १२ को मृत्यु भएको थियो। ती मध्ये ८ को सनाखत भएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाङको भालुवाङमा पुलबाट यात्रुबाहक बस राप्ती नदीमा खस्दा १२ जनाको मृत्यु भएको हो। राति १ बजेसम्मको विवरण अनुसार ५ जनाको उपचारका क्रममा मृत्यु भएको थियो भने ८ जनाको शव जेसीबीको सहायताले बसबाट बाहिर निकालिएको छ।
दुर्घटनामा मृत्यु हुनेमा मकवानपुरको हेटौंडाका ३९ वर्षीय सौरभ विष्ट, काठमाडौंको चन्द्रागिरि नगरपालिका–५ का ६५ वर्षीय ताराकान्त पाण्डे, भारत उत्तर प्रदेशका ३१ वर्षीय मुने, जुम्लाका ४० वर्षीय मुनबहादुर रावत, बाँकेका २० वर्षीय रामबहादुर हरिजन, रुकुमका २५ वर्षीय दीपक कामी, भारत विहारका ६७ वर्षीय देवेन्द्र राय तथा बाँकेको नेपालगञ्जकी ६० वर्षीया कुसुम बस्नेत रहेको प्रहरीले जनाएको छ।