काठमाडौं- ‘नेपालमा जलवायु परिवर्तन’बारे बीपी आइ फाउन्डेसन (बाल, आँखा, कान, नाक, घाँटी अस्पताल एवंम् पुनः स्थापना सेवा)ले मंगलबार अन्तर्क्रिया कार्य्रक्रम सम्पन्न गरेको छ। ‘नेपालमा जलवायु परिवर्तन : स्वास्थ्यका खतरा, आजको मात्रै सामना पर्याप्त वा भोलिको लागि न्यूनीकरण जरुरी?’ विषयमा मध्यपुर ठिमिस्थित फाउन्डेसनकै सभाहलमा अन्तर्किया कार्यक्रम गरिएको फाउन्डेनका संस्थापक डा मदन उपाध्यायले जानकारी दिए।
‘अब जलवायु परिवर्तनको हिसाबमा नेपालका सबै नागरिक यसबाट सचेत हुनुपर्छ। चेतना नभएको मान्छेमा चेतना जगाउन यस्तो किसिमको छलफल गर्नुपर्छ,’ डा उपाध्यायले भने। उनले जलवायु परिवर्तनमा स्वास्थ्य क्षेत्रको पनि योगदान भएको बताउँदै थपे, ‘जस्तो कि औषधि कम्पनीले औषधि बनाउँदा पनि प्रदुषण धेरै भएको छ। हामीले त्यो असर घटाउन पनि अब लाग्नुपर्छ। त्यसका लागि निरन्तर छलफल आवश्यक छ।’
जलवायु परिवर्तनका स्वास्थ्य तथा आर्थिक परिणामहरू, नेपालका सन्दर्भमा आवश्यक प्राविधिक अभिवृद्धि बीचका जटिल सम्बन्धको समग्र बुझाइ बढाउने विषयलाई अन्तर्क्रियामा जोड दिइएको थियो।
अन्तर्क्रियामा नीति निर्माताहरू, स्वास्थ्य सेवामा कार्यरत चिकित्सक, जलवायु परिवर्तनका अनुसन्धानकर्ताहरू, प्रविधि विज्ञहरू र सरोकारवालाहरूले जलवायु परिवर्तन लचिलोपन, न्यूनीकरण र अनुकूलनका लागि समाधान खोज्नेा विषयमा प्रशिक्षण दिएका थिए।
फाउन्डेसनबाट जारी विज्ञप्तिअनुसार नेपालमा हाल अनुमानित ८० प्रतिशत जनसंख्या वातावरणीय खतराहरूबाट जोखिममा छन्। ‘जलवायु परिवर्तनले नेपालमा उदयमान र पुनः उत्पन्न हुने रोगहरूको फैलावटलाई बढाइरहेको छ। विगतमा प्रचलित रोगहरूमा मलेरिया, लिम्फेटिक फाइलेरियासिस, लेशम्यानियासिस, डिस्न्टि, हेपाटाइटिस, श्वासप्रश्वासको संक्रमण, जन्डिस, टाइफाइडहरु तथा मुटु रोग जस्ता नसर्ने रोगहरु पनि फैलिरहेका छन्। सरकारी, गैरसरकारी र सामुदायिक तहमा केही पूर्वतयारी, न्यूनीकरण र नियन्त्रणका कार्यक्रमहरूको बावजूद, जोखिम अझै उच्च छ र यसका लागि आवश्यक एकीकृत रोग निगरानी र प्रतिक्रिया प्रणाली अझै शुरु नभइसकेको अवस्था छ,’ विज्ञप्तिमा भनिएको छ।
अन्तर्क्रियामा जलवायु परिवर्तनको स्वास्थ्य परिणाम (विशेषत: संक्रामक रोगहरू, नसर्ने रोगहरू, र न्यूरोसेन्सरी प्रणाली) तथा यसका आर्थिक प्रभावहरूलाई केलाउँदै समाधानको बाटोबारे पनि विमर्श गरिएको थियो।
जलवायु परिवर्तनको असरबारे सचेतना कार्यक्रमहरू आगामी दिनमा पनि गर्ने योजना रहेको डा उपाध्यायले बताए।