काठमाडौं– पशुपतिनाथ मन्दिर परिसरमा स्तनपान कक्षको स्थापना भएको छ। मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीले स्तनपान कक्षको शुभारम्भ गरेकी हुन्।
मन्दिर क्षेत्रमा हुने महिलाको समस्यालाई मध्यनजर गर्दै पशुपति क्षेत्र विकास कोषले यो व्यवस्था गरेको हो। स्तनपान कक्षको शुभारम्भ गरेपछि राज्यमन्त्री सिर्पालीले पशुपतिनाथ मन्दिर क्षेत्रमा महिलाको समस्यालाई मध्यनजर गर्दै स्तनपान कक्षको सञ्चालन गरिएको बताइन्।
उनले स्तनपान कक्षको उद्घाटन बाल अधिकारको संरक्षण पनि भएको बताइन्। यो कार्य भगवानको मन्दिरमा सामाजिक सेवाको सकारात्मक सन्देश भएको उनको भनाइ थियो।
मन्त्री सिर्पालीले आगामी दिनमा भक्तजनहरुको सेवा सुविधाका लागि थप काम गर्दै जाने प्रतिबद्धता जनाइन्। स्तनपान कक्षमा तातो र चिसो पानीको व्यवस्था गरिएको क्षेत्र विकास कोषले जनाएको छ। स्तनपान कक्षको सरसफाईका लागि कर्मचारी पनि खटाइएको बताएको छ।