काठमाडौं- अर्थोपेडिक सर्जरी विधा भित्रको सब स्पेसियालिटी मध्ये जोर्नी प्रत्यारोपण सर्जनहरुको नयाँ सोसाइटी गठन भएको छ।वरिष्ठ अर्थोपेडिक तथा जोर्नी प्रत्यारोपण सर्जन डा दिर्घराज आरसीको अध्यक्षतामा 'नेपाल जोर्नी प्रत्यारोपण समाज' (नेपाल अर्थोप्लास्टी सोसाइटी) गठन भएको हो।
नयाँ सोसाइटीको औपचारिक घोषणा शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा गरिएको हो।
समाजको उपाध्यक्षमा डा विवेक वास्कोटा, महासचिवमा डा सुमनबाबु मरहट्ठा, कोषाध्यक्षमा डा ऋषि विष्ट चयन भएका छन्।
सदस्यहरुमा डा राज राणा, डा सुशिल थापा मगर, डा कपिलमणी केसी, डा रविन्द्र रेग्मी, डा सुनिल सिंह थापा, डा श्रवण कुमार थापा र डा प्रविण नेपाल चयन भएका छन्।
कार्यक्रममा वरिष्ठ अर्थोपेडक सर्जन डा अशोक बास्कोटाले नेपालमा २६ जुलाई १९९० मा पहिलोपटक जोर्नी प्रत्यारोपण गरिएको जानकारी दिएका थिए।
समाजका अध्यक्ष डा दिर्घराज आरसीले नव गठित समाजले जोर्नी प्रत्यारोपण सम्बन्धी जनचेतना फैल्याउने, राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपाम आएका नविनतम प्रविधिबारे गोष्ठी, विभिन्न फेलोसिपको अवसर सिर्जना गर्ने तथा मुलुकमा छुट्टै जोर्नी प्रत्यारोपण केन्द्र बनाउन सरकारलाई घच्घच्याउने लगायतका काम गर्ने जानकारी दिए।
काठमाडौं उपत्यकाका सरकारी तथा निजी गरी १५ ओटा तथा उपत्यका बाहिरका १० ओटा अस्पतालमा गरी करिब ५० जना डाक्टरहरुले जोर्नी प्रत्यारोपण गरिरहको बताइएको छ।