अछाम- १४ वर्षको हुँदा बुवाले अर्को विवाह गरे। घरमा आमा हुँदाहुँदै बुवाले दुईवटा बिहे किन गरे उनले ठम्याउन सकेनन्। घरको कुरा थाहा नपाए पनि ९ कक्षा पढ्ने बेला नै उनको मनमा हुटहुटी थियो कि आफू एमबीबीएस पढ्ने। उनी जति जति परिपक्क हुँदै गए घरको अवस्था र आफ्नो जिम्मेवारीका बारेमा पनि कर्तव्यबोध हुँदै गए।
उनको बाल्यकालको पढाइ नै एक ठाउँमा भएन। उनको परिवार नै द्धन्द्ध पिडित हुँदा कहिले अछाम, कहिले कैलाली त कहिले बाँके पनि भयो। जब उनले एसएलसी परीक्षामा पास भए तब एमबीबीएस पढ्नका लागि घरमा बुवालाई आग्रह गरे, तर उनका बुवाले ठाडो जवाफ दिए, 'हाम्रो आर्थिक श्रोतले पढ्न सकिन्न।’ त्यसदिन उनको मन खिन्न भयो।
अछामको चौरपाटी गाउँपालिका वडा नं. ५ पायल घर भएका भवेन्द्र बोहराले हरेस नखाइ एचए पढ्ने अठोट लिए। उनी भन्छन्- 'सिएमए र एचए पढेमा छोटो समयमै पढाइ सकेर डाक्टर नै नभएपनि स्वास्थ्य क्षेत्रमा काम गर्न सकिन्छ भन्ने कुरा थाहा पाएर यो क्षेत्र रोजें।'
अझ त्यसमा पनि सिएमए भन्दा राम्रो एचए हुने थाहा पाएपछि उने कैलालीको भागेश्वर एकेडेमी फर हेल्थ साइन्समा प्रवेश परीक्षा दिएर पास भए। हेल्थ असिष्टेण्ट (एचए) कोर्ष पुरा गर्न भवेन्द्रलाई थुप्रै चुनौतीसँग पौंठेजोरी खेल्नु पर्यो। उनले घरबाट पहिलो वर्षको शुल्क पाउन मात्रै पनि थुप्रै चुनौतीको सामना गर्नुपर्यो। त्यसपछिका दिनहरुमा उनलाई आफ्नो पढाइको खर्च जुटाउन धौधौ भयो। बुवाले अर्को विवाह गरेपछि सौतेनी आमाका कारण उनलाई घरबाट कलेजको शुल्क पाउन सकेनन्।
घरबाट कलेजको शुल्क नपाएपछि उनले आफ्नो पढाइ सँगसँगै कहिले होटल त कहिले अन्य ठाँउमा काम गर्न थाले। होटलमा काम गरेको पैसाबाट उनले आफ्नो पढाइको खर्च जुटाएर जेनतेन एचए कोर्ष पुरा गरे। पढाइको कोर्ष पुरा गरेपनि भवेन्द्रले कलेजमा ६ महिनाको शुल्क तिर्न बाँकी थियो भने उनको एचएको सर्टिफिकेट समेत हात परेको थिएन्। पढाइसकेपछि उनले ६ महिना स्वास्थ्य संस्थामा काम गरे। त्यसबाट भएको कमाइले उनले कलेजको शुल्क तिरेर सर्टिफिकेट प्राप्त गरे।
त्यसपछि उनलाई काउिन्सलमा दर्ता हुने बाटो खुल्यो। काउन्सिलमा दर्ता भइसकेपछि उनी जागिरका लागि जहाँ जहाँ विज्ञापन भए त्यहीँ आवेदन दिन थाले। सुरुका ११ महिना उनले वाक नेपालमा काम गरे। वल्र्ड भिजनको सहकार्यमा वाक नेपालले एचआइभी एड्स तथा यौन रोगका क्षेत्रमा काम गर्थ्यो। भवेन्द्रले पनि गाँउ गाँउमा गएर शिविर गर्ने रोगी पत्ता लगाएर उपचारको लागि अस्पताल पठाउने काम गरे।
वाक नेपालमा काम गर्ने बेलादेखि नै उनलाई बयालपाटा अस्पतालमा काम गर्ने ठुलो रहर जाग्यो। निःशुल्क रुपमा दुर्गम क्षेत्रका जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा दिइरहेको अस्पतालमा काम गर्नुपर्छ भन्ने अठोटका साथ उनले बयालपाटा अस्पतालमा आवेदन दिए र १८ फेब्रुअरी सन् २०१५ मा छनोट भए। उनी अहिले बयालपाटा अस्पतालमा सिनियर हेल्थ असिष्टेण्टको रुपमा कार्यरत छन्।
आमाको सम्झनामा रक्तदान
भवेन्द्र बोहरा अछाममा सबैभन्दा बढी रक्तदान गर्ने व्यक्तिभित्र समेत पर्दछन्। उनले हालसम्म ५७ पटक रक्तदान गरिसकेका छन्। रक्तदान गरेर कसैको जीवन जोगाउन पाउँदा उनलाई आफ्नी आमाको याद आउँछ। म जब रक्तदान गर्छु मेरी आमालाई याद गर्छु, उनी सम्झन्छन् गर्भवती भएकी माइली (सौतेनी) आमाको शरीरमा २ प्वाइन्ट मात्र रगत हुँदा रगत अभावमा अकालमै ज्यान गुमाउनु परेको थियो। रगत नपाएर अकालमै कसैले पनि ज्यान गुमाउनु नपरोस भन्ने चाहान्छन् उनी।
'आफूले रगत दिएको कोही बिरामी पनि निको हुँदा आफूलाई खुसी मिल्छ' उनी भन्छन्, '६०-७० वर्षको बृद्धबृद्धालाई रगत दिँदा उपचार भएर निको भएर घर फर्केपछि उहाँको छोराछोरी खुसी भएर भेट्न आउँदा गर्व महसुस हुन्छ।'
सुत्केरी अवस्थामा समेत रगत नपाएर छटपटाएर मृत्यु शय्यामा रहेका महिलालाई समेत आफले रगत दिएर ज्यान जोगाएको उनि सम्झन्छन्।
७ वर्ष मनोसामाजिक परार्मकर्ता
हेल्थ असिष्टेण्ट (एचए) मा छनोट भएपछि सुरुको २ वर्ष भवेन्द्रले बयालपाटा अस्पतालको ओपिडी, आकस्मिक कक्ष, अप्रेसन कक्षमा काम गरे। बिचमा अस्पतालले मानसिक स्वास्थ्यमा समेत काम गर्ने भनेर ६ महिनाको मनोसामाजिक परार्मशसम्बन्धी तालिम आएपछि उनले सो तालिममा आफू जान इच्छुक रहेको बताएपछि अस्पताल प्रशासनले उनलाई तालिमको लागि चितवन पठायो। तालिमपश्चात उनले ७ वर्ष अस्पतालको मानसिक स्वास्थ्य सेवा विभागमा काम गरे।
मानसिक समस्या भएरका बिरामीलाई काउन्सिलिङ गरेर उपचार दिन पाउँदा र निको भएर घर फर्किँदा भवेन्द्रको मनमा खुसी मिल्छ। उनी सुम्झन्छन् उमेरले १८ वर्षका व्यक्ति होस् नै नहुने अवस्थामा डोरीले बाधेर बयालपाटा अस्पताल पुर्याइएको थियो, डिप्रेसन र उत्त्तेजित हुने उदासिनताको अर्को रुपका बिरामीलाई १ वर्षको अवधिसम्म भवेन्द्रले आफ्नो निगरानीमा उपचार गरे। पछि उनी निको भएर नेपाल आर्मीमा छनोट हुन समेत सफल भएको भवेन्द्र सुनाउँछन्। नेपाल आर्मी भएर भेट्दा आफूलाई गर्व महसुस भएको उनी बताउछन्। ८ वर्षको अवधिमा आफूले थुप्रै बिरामीलाई सेवा दिएको उनी सुनाउँछन्। अस्पतालबाट कोही बिरामी रिफर हुँदा होस् आकस्मिक अवस्थामा अन्य क्षेत्रमा स्वास्थ्य सेवा दिनु पर्दा समेत भवेन्द्र दुख नमानी बिरामीसँगै अस्पतालसम्म पुग्छन्।