कैदीबन्दीहरुको उपचारका लागि खोलिएको केन्द्रीय कारगार अस्पतालले केन्द्रीय कारागारमा रहेकाहरुलाई स्वास्थ्योपचार गर्दै आएको थियो। तर, अहिले देशभरीकै कैदीबन्दीहरुको उपचारका गरिने 'केन्द्रीय अस्पताल'का रुपमा यसको परिचय बनाउने त्यहाँ कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरु सक्रिय छन्। उक्त अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाश बुढाथोकीले त्यसको नेतृत्व गरिरहेका छन्। जसले जटिल स्वास्थ्य समस्या भएका देशका जुनसुकै कारागारका बिरामीलाई यहाँको कारागार सरुवा गरेर उपचार गर्ने तथा त्यहीँ नहुनेमा सहजीकरण गर्ने गरेको छ। उक्त अस्पतालको परिचय विस्तारमा सक्रिय डा बुढाथोकीसँग स्वास्थ्यखबरले गरेको कुराकानी:
कारागार अस्पतालका बारेमा निकै कमलाई थाहा छ। यो कुन अवधारणामा खोलिएको रहेछ, कसरी चलिरहेको छ?
सबैभन्दा पहिले १९७१ तिर कारागार स्थापना भयो। त्यतिखेर स्वास्थ्य स्वास्थ्य उपचार थिएन। २०२० आएर सदर जेलमा एउटा कोठा छुट्याएर मेडिकल अफिसर बस्ने गरी सुरु भएको रहेछ। त्यही क्रममा कैदीबन्दीको संख्या पनि बढ्दै गयो। कारागार कार्यालयको संख्या पनि बढ्दै गयो। र त्यहाँ रहेका कैदीबन्दी बिरामीको संख्या पनि बढ्दै गयो। किनभने नसर्ने रोगका बिरामी पनि सर्ने रोगका बिरामी पनि बढ्दै गएपछि एउटा छुट्टै अस्पताल हुनुपर्छ भन्ने सोचका साथ २०७५ सालमा केन्द्रीय कारागार अस्पताल बनेको हो।
त्योभन्दा पहिले कारागारभित्रै एउटा कोठा थियो। त्यहिँ सामान्य चेकजाँच हुन्थ्यो। र त्यसपछि सरकारी अस्पतालमा पठाउने गरिन्थ्यो। २०७५ सालमा यो अस्पताल बनिसकेपछि १५ सय्याबाट सुरु भयो। त्यसको २ वर्षपछि यसले अलि पुगेन त्यसपछि अहिलेसम्म लगभग ५० सय्या पुगेको छ। तर स्वीकृति ३० सय्याको छ। यसको आवश्यकता महसुस हुनको कारण जसरी समामजमा सर्ने/नसर्ने रोग बढेको छ त्यसरी नै कैदीबन्दीमा पनि बढ्यो र कैदीको संख्या पनि बढोत्तरी भएपछि उनीहरुलाई सरकारी अस्पतालमा लगेर उपचार गराउँदा ल्याउँदा सुरक्षाको जोखिम पनि बढ्यो। त्यसकारणले भित्र नै एउटा अस्पताल हुनुपर्छ जहाँ उपचार हुन सकोस् भनेर यो अस्पताल बनेको हो। अहिले पनि अस्पतालको क्षमताभन्दा बढी शय्यामा उपचार गराइरहेका छौँ। यहाँ नभएका दरबन्दीमा पनि मन्त्रालयसँग समन्वय गरेर विशेषज्ञलाई ल्याएका छौँ।
जिल्लामा भएका जेलका कैदीबन्दी ठूलो बिरामी भएपछि यहाँ सरुवा गरेर उपचार प्रक्रिया अघि बढाइने हो?
नाम चाहिँ केन्द्रीय कारागार अस्पताल भएपनि पहिले त्यस्तो रहेनछ। पहिले केन्द्रीय कारागार वा सुधार गृहमा बसेका कैदीबन्दीलाई मात्रै उपचार गराइँदो रहेछ। म आएपछि नाम केन्द्रीय भएपछि यसको सेवा सुविधा पनि केन्द्रीय नै हुनुपर्छ भनेर कारागार व्यवस्थापन विभाग गृह मन्त्रालयसँगको समन्वय गरेर देशभरिका कैदीबन्दीहरुको स्थानीय अस्पतालमा उपचार हुन सकेन अथवा विशेषज्ञको जरुरत पर्योभने कैदीलाई यहाँ सरुवा गरेर ल्याइन्छ र भर्ना गरेर उपचार गराइन्छ। यदि कुनै कारणबस यहाँपनि सम्भव भएन भने थप जटिलखालको सेवा चाहिएको छ भने हामीले २३ वटा विशिष्ट अस्पतालसँग सम्झौता गरेका छौँ। त्यो सम्झौताअनुसार यहाँबाट रिफर स्लिप बनाउँछौँ। र त्यो स्लिपसँगै बिरामी कैदीबन्दी र प्रहरी पनि सँगै जान्छन्। यसरी हामीले कैदीबन्दीलाई स्वास्थ्य उपचार दिइरहेका छौँ।
सम्झौता गर्दा पहिलो प्राथमिकता, दोस्रो प्राथमिकता र तेस्रो प्राथमिकता भनेर तय गरेका छौँ। पहिलो प्राथमिकता नजिकको र सरकारी अस्पताल नै हुन्। कुनै कारणवस ती सरकारी अस्पतालहरुमा शय्या रहेनछ भने वा सम्वन्धित विशेषज्ञ वा विशिष्टकृत सेवा रहेनछ भने दोस्रो प्राथमिकताकोमा पठाउँछौँ। जस्तो कि पहिलो प्राथमिकतामा राखिएकाले रिफर गर्यो भने दोस्रोमा जान पाइन्छ। दोस्रोमा पनि समस्या रहेछ भने ठूला अस्पताल निजी अस्पतालमा लगिन्छ। यसलाई तेस्रो प्राथमिकतामा राखेका छौँ।
अहिलेको स्थितीमा कुनैपनि कैदीबन्दीले कुनै पनि रोगको कुनैपनि समयमा शय्या नभएर वा विशेषज्ञ सेवा नपाएर उपचारबाट बञ्चित हुन परेको छैन। किनभने सम्पूर्ण कैदीबन्दी चाहे स्वदेशी होस् या विदेशी होस् त्यो नेपाल सरकारको जिम्मामा नै हो। नेपाल सरकारको जिम्मामा भएकाले उहाँहरुले जुनसुकै ठाउँबाट यहाँ आउन कारागार व्यवस्थापन समितिको सहमति लिनुपर्छ। कुनै जिल्ला सम्बन्धित कारागारबाट सहमति लिएर केन्द्रीय कारागारमा सरुवा हुन्छ र केन्द्रीय कारगारबाट हाम्रो अस्पताल ल्याइन्छ।
कैदीबन्दी कुन रोग बढी हुन्छ? कुन बढ्दो मात्रामा हुन्छ?
कैदीबन्दी हाम्रो समाजकै व्यक्तिहरु हुन्। त्यहि समाजमा बस्दा अपराध गरेर वा रिसको बेलामा केही घटना घटाएर वा परिबन्धमा परेर, निर्दोश पनि हुन सक्छन्। विविध कारणवस कारागारमा पस्नु परेको मात्रै हो। त्यहि समाजको प्रतिबिम्ब हो उहाँहरु पनि तर तुलनात्मक रुपमा बाहिर जुन नसर्ने रोगको वृद्धि भएको छ। बाहिर जे-जे रोग देख्छौँ त्यहि रोग कैदीबन्दीहरुमा पनि देखिएको हुन्छ। तथापी यहाँ हाम्रो भौतिक संरचनाभन्दा बढि कैदीबन्दीको संख्या भएको हुनाले र भित्रको नियन्त्रित जीवनशैली र खानपान भएको हुनाले केही रोगहरु अलिकति धेरै र थोरै भन्ने मात्र हुन्। जस्तै कैदीबन्दीहरुमा अलि बढी मानसिक सन्तुलनको समस्या देखिने गर्छ किनभने कैदीहरु भित्र बसिसकेपछि आफूले गरेको वा परिबन्धमा परेको कारणले गर्दा एक्लै बस्ने टोलाउन, मेरो जीन्दगी त अब सिद्धियो भन्ने किसिमको मानसिक चिन्ताले गर्दा उनीहरुको मानसिक समस्या देखिने गर्दछ। तथापी हामीसँग परामर्शदाता पनि र मानसिक रोग विशेषज्ञहरु पनि भएको हुनाले सफल रुपले उपचार भइरहेको छ।
अर्को भनेको नसर्ने रोगहरु हुन्। नसर्ने रोगहरुमा प्रायजसो खानपान जीवनशैली सागुरो घेराभित्र बस्नु पर्ने भएकाले कैदीबन्दीहरुलाई व्यायाम गर्न, जीवनशैली त्यहिअनुसार परिवर्तन गर्न गाह्रो छ। त्यसकारण नसर्ने रोगहरु जस्तै प्रेसर, सुगर, कोलेस्ट्रोल बढी हुने, किड्नीमा समस्या देखिने, ट्युमर जस्ता रोग देखिइ रहेको छ।
र अर्को तेस्रो हामीलाई कहिलेकाँही समस्यामा पारिरहेको संक्रामक सरुवा रोगहरु, किनभने प्रायजसो एउटै कोठमा वा एउटै बिल्डङमा धेरैजना बस्न पर्ने बाध्यता हुन्छ। बसोबास र खानपिन सामुहिक छ। त्यसकारणले कुनै उउटा व्यक्तिलाई सरुवा रोग लागेको छ भने एक पटक सयौँलाई त्यो रोग लाग्न सक्ने जोखिम छ। त्यहि अनुसार सम्भव भएसम्म क्वारेन्टाइन र आइसोलेसन गर्ने सिस्टम पनि गरेका छौँ। जसअनुसार कुनै व्यक्तिमा टिवि देखियो वा कसैमा कोभिड देखियो उसलाई क्वारेन्टाइन गर्ने र कुनै आइसोलोसन गरेर छुट्टै राख्ने र त्यहि अनुसार उपचार गराउने गरिन्छ। के कारणले रोग देखियो भन्ने कारण कारागार प्रशासन, प्रहरी लगायतले कारण पत्ता लगाइन्छ र कारणको निर्मुल गरेर त्यहि अनुसार रोगलाई नियन्त्रण गन्छि।
जस्तै एक महिना पहिलाको कुरा हो ट्याब्लेट खाँदा पनि कन्ट्रोल नहुने ज्वरो आएर एकसय भन्दा बढी कैदी अस्पताल भर्ना भएका थिए। उपचार गरेपछि त्यसको भोलिपल्ट नै सुरक्षा कार्यालय र म आँफै गएर डेंगु बनाउने कारण केके छन् भनेर पानी भण्डारण गरेका भाँडा सबै घोप्टाएर केमिकल हालेर ३÷४ दिनमा लामखुट्टेको नियन्त्रण गरेका थियौँ। त्यसपछि बिरामी बढेनन्। होइन भने केन्द्रीय कारागार र भद्र कारागारमा मात्रै २ हजार कैदीबन्दी छन्। एकैचोटी २ हजारलाई हाइग्रेट फिबर आएको भए यो अस्पताललाई उपचार गराउन हम्मेहम्मे पर्थ्यो। र ठूलै महामारी फैलिन सक्थ्यो त्यस्ता चिजले कहिले काँही हामीलाई ज्यादै सचेत बनाउँछ। अर्को केहि मानिसहरु समाजबाट नै अर्को कुरा बोकेर आउनु भएको हुन्छ। केहि जेनेटिक कारणले होला वा खानपान जीवनशैलीको कारणले गर्दा उहाँहरुलाई यहाँ आइसकेपछि नियमित परीक्षण तथा उपचार गरिन्छ।
कारागार अस्पतालमा हुने उपचार र पाइने औषधि मात्रै कि बाहिरका अस्पतालमा पनि कैदीबन्दीको उपचारमा लाग्ने लाखौं खर्च सरकारले बेहोर्छ?
सुन्दा अचम्म लाग्ला कैदीबन्दीको खर्च जति ठूलो रकम लागोस् त्यो सबै नेपाल सरकारले बेहोर्ने गरेको छ। ट्रमा सेन्टर वीर अस्पताल, गंगालाल जुनसुकै अस्पतालमा बुझ्नुस् उहाँहरुको भल्भको रिप्लेसमेन्ट, हिप रिप्लेसमेन्ट सबै नेपाल सरकारले गरिदिएको छ। सम्बन्धित व्यक्तिको लागि निःशुल्क छ तर नेपाल सरकारले खर्च बेहोरेको छ। पहिले-पहिले अलिकति समस्या थियो भन्ने मैले सुनेको हो अहिले कैदीबन्दीले हामीले विभिन्न अस्पतालसँग गरेको सम्झौताले कैदीबन्दीलाई अस्पताल गएर लाइन बस्न नपर्ने र निःशुल्क बनाइदिएको छ।
कैदीबन्दीहरु हाम्रो रिफर स्लिप लिएर जानुहुन्छ। त्यो स्लिप हेरेर टिकट काट्नेदेखि लिएर त्यहाँ भएका औषधि उपचार सल्यक्रिया लगायतका सुविधा क्रेडिट कार्डमा बन्छ। जति कैदीबन्दीको उपचार गर्नुभयो त्यो क्रेडिट बिल जम्मा गरेर हामीलाई पठाउनुहुन्छ। र हामीले उहाँहरुको सरकारी खातामा पैसा हालिदिन्छौँ। तथापि यो सोच्दा अलिकति गाह्रो चाँहि लाग्छ लगभग महिनाको ६०-७० लाख खर्च त्यसैमा लाग्छ। नेपाल सरकारको दायित्व भएकालो ढिलो वा छिटो नेपाल सरकारले त तिर्छ नै। तर समयमा तिर्न सकिरहेको अवस्था छैन। सरकारको दायित्व भएकाले कारागारले गृहमन्त्रालयमार्फत् माग गर्छ र गृहले अर्थ मन्त्रालयसँग माग गर्छ र यसरीनै तिरिरहेको हुन्छ।
कैदीबन्दीहरुमा स्वास्थ्य बीमा लागू गरिएको छ?
म आएपछि बीमाको लागि धेरै गृहकार्य गरेँ र धेरै काम अगाडी बढेको छ। गत सालको चैत १ गतेदेखि केन्द्रीय कारागार अस्पताल बीमाको पहिलो सम्पर्क बिन्दु भनेर सूचीकृत भइसकेको छ र कारागार व्यवस्थापन विभाग र नेपाल सरकारको नीति तथा कार्यक्रममा पनि कैदीबन्दीको स्वास्थ्य बीमा गर्ने भनेर उल्लेख गरीसकेको छ। त्यहि अनुसार १ करोड बिनियोजन भइसकेको छ। तत्काल १ करोड मात्रै भएकाले बाँके सिराहा, कास्की र काठमाडौंका डिल्लीबजार र केन्दीय कारागार र ललितपुरको नख्खु कारागारका जजसको नेपाली नागरिकता लाइसेन्स वा लालपुर्जा जे छ किनभने स्वास्थ्य बीमाले नेपाली नागरिक हुनुपर्छ भन्छ। त्यसकारण कागजात जम्मा गरेर फोटो खिच्ने अभिलेख राख्ने सबै काम टुङ्गिसकेको छ। सम्भवत १-२ दिनमै उहाँहरुको प्रीमियर स्वास्थ्य बीमा बोर्डलाई पठाउँछौँ। त्यसपछि उहाँहरु स्वास्थ्य बीमामा प्रवेश गर्नुहुन्छ।
लामो समयदेखि २ चजिमा मैले जोड दिइरहेको छु। एउटा बाहिर बस्ने मानिसहरुलाई ५ जना बराबर ३५ सय छ। तर कैदीबन्दीलाई एकजना बराबर ३५ सय छ यो त अलि न्याय भएन। त्सैले त्यो रेट अलिकति समायोजन गरिदिनुस् १ हजार वा १५ सय कति हो यसबारे प्रोसेस अगाडी बढिरहेको छ। अर्को जुन देशको जस्तो कैदीबन्दी भएपनि नेपाल सरकारको दायीत्वभित्र पर्दछ। सरकारकै नियम कानुनमा बस्ने हो। थुनुवा पुर्जीको आधारमा स्वास्थ्य बीमा गर्न पाइने भन्ने संशोधन गरिदिनुस् भनिरहेको छु।
अख्तियार,अदालत जसले भएपनि थुनुवा पुर्जी दिन्छ नि। त्यहि पुर्जीको आधारमा स्वास्थ्य बीमा गर्न पाइयो भने सबै कैदीबन्दीहरु बिमित हुने भए नि। नेपाली नागरिक मात्रै भन्दा पनि कारागारमा भएका कैदीले आफ्नो परिचय पत्र खुलाउन चाहानुहुन्न। उहाँहरुको नाम भिन्नै पेश भइरहेको छ। बसेको ठाउँको नाम भिन्नै हुन्छ र नागरिकताको नाम भिन्नै हुन्छ। त्यो कारणले समस्या पारिरहेको छ। नेपाली नागरिकता वा लाइसेन्स खोज्दा जम्मा १५ -१६ सयको मात्र जम्मा भएको छ। त्यसकारण थुनुवा पुर्जीकै आधारमा स्वास्थ्य बीमा गर्न सकिनेगरी बीमा ऐनमा मन्त्रीपरिषदबाट सम्बोधन गराउने गरी पहल भइरहेको छ। त्यसमा स्वास्थ्य मन्त्तालय गृह मन्त्रालय सबै सकारात्मक रहेका छन्। सम्भवत निकट भविष्यमा त्यो पनि होला।
कारागार अस्पताललाई देशकै रिफरल बनाउने ध्येय रहेछ, यसले मात्रै धान्छ वा यसलाई अझै विकास गर्नुपर्छ?
पहिले यस अस्पतालको लागि स्तरवृद्धि गर्ने भनेर राखेको बजेट पनि तत्कालिन सरकारले यसलाई संग्राहलय बनाउने भनेर घोषणा गरेको हुनाले टेण्डरमा गइसकेको पनि क्यान्सिल भएको थियो। तत्कालिन प्रधानमन्त्रीसँग र वर्तमान प्रधानमन्त्रीसँग भेटिसकेँ। सबैसँग भेटेर स्वास्थ्य भन्ने कुरा मिनेटको महत्व राख्छ किनभने कारागार नुवाकोटमा सारियो भने पनि विशेषज्ञ र विशिष्टकृत सेवा लिनका लागि काठमाडौं आउनै पर्छ। त्यस्तोबेला बाटोमा कैदीबन्दीमा थप जटिल पर्ने र मृत्यूवरण गर्नुपर्ने स्थिति पनि हुन्छ। त्यो कारणले सङ्ग्राहलय घोषणा गर्ने हो भने जति जरुर हो त्यतिमात्रै गर्नु र बाँकी केन्दीय कारागार अस्पताललाई स्तरवृद्धि गर्नलाइृ भवन बनाउनलाई त्यहि अनुसार ओएनएम गरेर जनशक्ति थप्न दिनुस् भनेर लबिइम गरिरहेको छु। र त्यहि अनुसार सबै सकारात्मक हुनुहुन्छ। नतिजा आउन केही समय लाग्ला जतिसुकै चाहे पनि सबै विशिष्टीकृत सेवा एउटै अस्पतालमा दिन सकिँदैन। त्यसकारणले हामीले कमसेकम २०-३० वटा कमन रोगहरु छन्, त्यसको विशेषज्ञ सेवा यहाँ दिन सक्यौँ भने थप विशिष्टिकृत सेवाका लागि मात्रै रिफर गर्नेसम्म बचाउन सक्यौँ भने पनि यो अस्पतालको ठूलो मूल्य हुन्थ्यो भन्ने सोचेका छौ। र त्यहि अनुसार गृह मन्त्रालय, स्वास्थ्य मन्त्रालय सबैसँग सहकार्य गरेर ओएनएमको ड्राफ्ट पनि बनिरहेको छ। त्यो ड्राफ्ट थोरै तलमाथी होला नभए स्वीकृत हुन्छ। त्यसअनुसार निकट भविष्यमा केन्दीय कारागार अस्पताललाई केन्दीय कारागारको अस्पताल भनेर हेर्न पाउनु हुनेछ।