डा हरिष जोशी चाबहिलस्थित ओम अस्पतालको मेडिकल डाइरेक्टर हुन्। वरिष्ठ दन्तरोग विशेषज्ञ डा जोशीसँग अस्पतालमा मेडिकल डाइरेक्टरको जिम्मेवारी सम्हालेपछि भएका काम, नयाँ योजना, अस्पतालका सेवा सुविधा लगायतका विषयमा स्वास्थ्यखबरले कुराकानी गरेको छ। प्रस्तुत छ उनीसँगको कुराकानी:
ओम अस्पतालको मेडिकल निर्देशकको जिम्मेवारी सम्हालेसँगै यहाँले गर्न खोजेका कामहरु के –के थिए, के –के काम भएका छन्?
ओम अस्पताल ३ दशकभन्दा लामो इतिहास बोकेको अस्पताल हो। यहाँ केही नयाँ काम थालनी गर्नुपर्ने छ, भने केही पुरानै कामलाई विस्तार गर्नुपर्ने अवस्था छ। पुरानो काम अन्तर्गत अस्पतालप्रति रहेको बिरामीको विश्वासलाई कायम राख्नु हो। नयाँ प्रविधि तथा सुविधा, उपचार विधिहरु, नभएको विधामा चिकित्सक आउने तथा भएका सेवा सुविधालाई अझै विस्तार गर्ने कार्य गर्नु पनि अत्यावश्यक छ। स्वास्थ्य सेवालाई अझै गुणस्तरीय रुपमा विस्तार गर्ने मुख्य लक्ष्यका साथ हामी काम गरिरहेका छौं। त्यही अनुसार योजना बनाएर नै हामी अगाडि बढीरहेका छौं। पुराना राम्रा कामलाई थप विस्तार गर्दै नयाँ नयाँ विधा र प्रविधिहरु ल्याउँदै काम गरिरहेका छौं।
नयाँ कामको थालनीसँगै के–कस्ता चुनौतीको सामना गर्नुपर्यो?
कोरोना महामारीसँगै ओम अस्पतालले मात्रै नभई हरेक अस्पतालहरुले चुनौतीको सामना गर्नु परिरहेको छ। महामारीसँगै नयाँ सोच, खोजको आवश्यकता देखिनुका साथै व्यवस्थापनसँगै स्वास्थ्य क्षेत्रमा केही फाइदा तर धेरै हानीसमेत पुगेको अवस्था छ। कोरोना महामारीसँग लड्नका लागि अस्पतालहरुलाई ठूलै आर्थिक भार परेको थियो। कोरोना महामारीको अन्त्यसँगै ओम मात्र नभई नेपालकै सम्पूर्ण अस्पतालहरु सामान्यतर्फ उन्मुख भइरहेको अवस्था छ। त्यही अनुसार चुनौतीलाई चिर्दै हामी अगाडि बढीरहेका छौं।
कोरोना महामारीपछि नेपालको स्वास्थ्य क्षेत्रले पाएको शिक्षा के हो?
कोरोना महामारी पश्चात् अस्पतालहरुको निर्माण विकेन्द्रीकरणको अवधारण अनुसार हुनुपर्छ भन्ने मुख्य शिक्षा दिएको छ। कोरोना महामारीको समयमा स्थानीय स्तरमा सञ्चालित विभिन्न स्वास्थ्य संस्थाहरुले समेत मानिसको मन जित्न सफल भए। काठमाडौंमा केन्द्रित विशेषज्ञ चिकित्सकहरुको स्वास्थ्य सेवा प्रदेश तथा स्थानीय तहमा पनि पाउन थालियो। कोरोना महामारीले सरकारी स्वास्थ्यसंस्थाहरुको स्वास्थ्य सेवा प्रदान गर्ने क्षमतालाई बढाएको छ। संमग्रमा भन्नुपर्दा कोरोना महामारी पश्चात् स्वास्थ्य सेवा सरकारको प्राथमिकता परेको भान भएको छ।
कोरोना महामारी पश्चात् ओम अस्पतालले पनि जनशक्ति तथा प्रविधिलाई बढाएर स्वास्थ्य सेवालाई थप गुणस्तरीय बनाएको छ। गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा सेवाग्राहीमा रहेको भरोसालाई जोगाउँदै अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवालाई हामीले थप गुणस्तरीय बनाउँदै लगिरहेका छौं।
प्रदेश तथा स्थानीय तहमा सरकारी स्वास्थ्य सेवा विस्तार हुँदा निजी अस्पतालहरुमा बिरामीको चाप घटेको भन्ने विषय आइरहेको छ। ओममा पनि बिरामीको चाप घटेको हो?
नेपालमा संघीयता लागु हुनुको मुख्य लक्ष्य भनेकै राजधानीमा केन्द्रिकृत अवस्थामा रहेको स्वास्थ्य सेवालाई प्रदेश तथा स्थानीय तहमा समेत विस्तार गर्नु नै हो। यस्तो अवस्थामा संघका अस्पतालहरुले नयाँ प्रविधिको प्रयोग तथा आधुनिक चिकित्सा सेवालाई बढावा दिनु अत्यावश्यक नै देखिएको छ। केन्द्रमा रहेका अस्पतालहरुले विशिष्टकृत सेवा थप्दै अगाडि बढ्ने हो। त्यसकारण स्थानीय स्तरमा सहज रुपमा हुने सेवाका लागि सहरका ठूला अस्पतालमा आउनु भन्दै गाउँठाउँमै सेवा पाउनु राम्रो हो। हाम्रो जोड भनेको सुपरस्पेसियालिटी सेवा हो। अहिले मानिसहरु स्वदेशमा पाइने स्वास्थ्य सेवालाई विदेशसँग तुलना गरिरहेका हुन्छन्। विदेशमा उपलब्ध सेवालाई कुनै पनि नागरिकले स्वदेशमा नै खोजिरहेका हुन्छन्। त्यसैले निजी अस्पतालहरुले आफूलाई त्यसैअनुसार विकास गर्न सकेको अवस्थामा उपचारका लागि विदेश जाने प्रवृतिलाई कम गर्न सकिन्छ। विदेशमा हुने उपचार सरहको स्वास्थ्य सेवा यहीँबाट प्रदान गर्ने तरिकाले ओम अस्पतालले काम गरिरहेको छ। त्यसका लागि निकट भविष्यमा नै ओम अस्पतालले लगानीको क्षेत्र बढाउँदै धेरै प्रकारका स्वास्थ्य सेवाहरु एउटै छानामुनि उपलब्ध गराउने छ।
अस्पतालमा बिरामीको चाप कस्तो छ?
कोरोना महामारीपछि पनि अस्पतालमा बिरामीको चाप घटेको छैन। दैनिक ५०० भन्दा बढी बिरामीहरुले अस्पतालबाट ओपिडी सेवा लिइरहेको अवस्था छ। साताको पहिलो तथा अन्तिम दिन ओपिडीमा आउने बिरामी संख्या अझै बढी हुन्छ।
ओम अस्पतालले आफूलाई नयाँ ढंगले चिनाउने खालको केही विशेष प्रकारको सेवाको थालनी गर्दैछ?
पछिल्लो ३ वर्ष अस्पतालले कोरोना महामारी तथा यसका कारण सिर्जित समस्याहरुसँग जुध्दैमा बितायौं। त्यो भन्दा अगाडिका केही वर्ष भएका सेवाहरुको निरन्तरतामा नै समय सकियो। केही नयाँ प्रकारले सेवा प्रवाह गर्ने सोचाई गरेकै अवस्थामा कोरोना महामारी आउँदा नयाँ प्रकारको सेवा प्रदान गर्ने विषयमा हामीले सोच्न पनि सकेनौं। कोरोना महामारीका समयमा यस अस्पतालले प्रदान गरेको गुणस्तरीय स्वास्थ्य सेवाले बिरामीहरुको अस्पतालप्रतिको विश्वास जित्न हामी सफल भयौं। कोरोना महामारीको अन्त्य भइसकेको वर्तमान अवस्थामा हाम्रो ध्यान नयाँ सेवा प्रवाह गर्नेतर्फ केन्द्रित भएको छ। ओम अस्पतालसँग जनशक्ति पनि भएको हुनाले रोबोटिक सर्जरी तथा कार्डियोलोजी सेवालाई प्राथमिकताका साथ अगाडि बढाउने सोचाइका साथ काम गरिरहेका छौं। रेडियोलोजी, बी ग्रेड प्याथोलोजी ल्याब, इमिनोलोजी, इन्डोक्राइनोलोजी लगायतका सेवालाई अस्पतालले विस्तार गरिसकेको अवस्था छ। त्यस्तै आइभिएफ, गाइनो जस्ता भइरहेका सेवालाई थप प्रभावकारी बनाइएको छ।
पछिल्लो समय विदेशिने डाक्टरहरुको संख्या उल्लेखनीय छ, यसलाई रोक्न नेपाल सरकारले के गर्न जरुरी छ?
पछिल्लो समय युवापुस्ताका डाक्टरहरु विदेशिने क्रम बढेको हो। विदेशमा पढाइ तथा सेवा सुविधा दुवै राम्रो हुने भएकोले पनि युवा डाक्टरहरु विदेशिने क्रम बढेको हो। नेपालमा भन्दा विदेशमा राम्रो जीवनस्तर तथा पेशागत सुरक्षाका कारण वर्षेनी हजारौंको संख्यामा डाक्टरहरु विदेशिने गरेका हुन्।नेपालमा पेशागत सुरक्षाको अभाव तथा नयाँ सम्भावनाहरु नहुँदा युवा जनशक्तिहरु विदेशिने गरेका छन्। पछिल्लो समय जसरी नर्सिङ जनशक्ति विदेश पलायन भइरहेको डाक्टरहरु पनि पलायन हुने भय सिर्जना भएको छ।